back
CTIZAN AD

सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान

वि.सं.२०८० माघ ९ मंगलवार

1.2K 

shares

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाबाट सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान भएको छ । चिमखोलाको मण्डली युवा क्लबले चिमखोलाबाट पात्लेखेत–जसलाङ–सिजिखोला–सिजिखर्क–थामखर्क– खोलाखर्क–सिसर्का–तल्लोमेला–उपल्लोमेला–आलेखर्क– नेपाने हँुदै सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान गरेका हुन् । क्लबका उपाध्यक्ष टीका पुनले चिमखोलाबाट समुद्री सतहबाट तीन हजार आठ सय ४० मिटर उचाइको सोवाङ धुरी पुग्ने पदमार्ग पहिचान गरिएको जानकारी दिए ।

“गोठालाहरूले लेकबेँसी गर्न प्रयोग गरेको बाटो भएर चिमखोलाबाट सोवाङ धुरी पुग्न सकिने पदमार्ग पहिचान गरेका हौँ”, उनले भने, “गोठ बस्ने चलनसँगै हराएको बाटोमा पर्यटक हिँडाएर गाउँमै रोजगारी र आयआर्जनको अवसर सिर्जना गराउन पहल थालेका छौँ ।”

चिमखोलाबाट हिँड्न सक्ने एक दिन र विस्तारै हिँडेर दुई दिनमा सोवाङ धुरीमा पुग्न सकिन्छ । अघिल्लो पुस्तासम्म चिमखोलावासी बर्खा याममा गाईभैँसी र भेडाबाख्राको गोठ लिएर सोवाङधुरी पुग्ने र हिउँदमा गाउँ नजिकैको बेँसीका फाँटमा झर्ने गर्दथे ।

नयाँ पहिचान भएको पदमार्ग र सोवाङ धुरीको प्रचार–प्रसारका लागि ‘दृश्यावलोकन केन्द्र’ स्थापना गरिएको क्लबका अध्यक्ष प्रविन बुढाले बताए । “पूर्वाधार र प्रचार–प्रसारको कमीले प्रशस्त सम्भावना भएर पनि सोवाङधुरी ओझेलमा परेको छ”, उनले भने, “पूर्वाधार निर्माणमा पहल, प्रचार–प्रसार र प्रवर्द्धनमा जुटेका छौँ ।”

उहाँका अनुसार संसारको सातौँ आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमालको फेदबाट चुचुरोसम्मको दृष्यावलोकन गर्न पाउन सोवाङ धुरीको मुख्य विशेषता हो । सूर्योदयका साथै गुर्जा, धवलागिरि, अन्नपूर्ण, निलगिरि, मानापाथी, टुकुचे, माछापुच्छ्रे र मनास्लु हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।

बागलुङ बजार, ढोरपाटन सिकार आरक्ष, पुनहिल, मोहरेडाँडा, मुल्डे, खोपारा, टोड्केका साथै म्याग्दी र पर्वत जिल्लाका ग्रामीण बस्ती, पहाडी भूगोलको मनोरम दृश्य देखिने चिमखोलाका वकिल पुनले बताए । सोवाङ धुरी जाने पदमार्गमा पर्ने जङ्गलमा घोरल, मृगलगायत जनावर र पाँचऔले, सेदक चिनीलगायत जडीबुटी अवलोकन गर्न सकिने उनले बताए । सोवाङ धुरीबाट रघुगङ्गा गाउँपालिकाको बेगखोला, अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ तातोपानी, दाना र मुस्ताङको लेते जान सकिन्छ ।

व्यवस्थित पदमार्ग, आश्रयस्थल नभएकाले वन्दोबस्तीका सामानसहित जानुपर्छ । सोवाङ धुरी जाने पर्यटक नजिकैको ओढारमा बास बस्ने गरेका छन् । आश्रयस्थल निर्माण, खानेपानीको व्यवस्थापन र पदमार्गमा सङ्केत चिह्नहरू बनाउनुपर्ने सोवाङ धुरी पुगेर आएका पोखराका पर्यटन व्यवसायी तारा गर्बुजाले बताए ।

म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्नेगरी पहिचान भएको धजलागिरि आइसफल पदमार्गअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ गायत्री मन्दिरबाट सुरु भएर भगवती–रुइसे–भेडीओढार–मुटुकाटे–पजत्राधुरी हुँदै सोवाङधुरी जोड्ने मुख्य पदमार्ग रहेको छ । मुख्य पदमार्ग र चिमखोला हुँदै सोवाङ धुरी पुगेपछि पर्यटक नेपाने–लोसधाप–लाटीबराह–कालीबराह ताल हुँदै धवलागिरि हिमालको आधार शिविर पुग्न सक्छन् ।

आधार शिविरबाट बाँझोबुकी–कुइनेमङ्गलेमा अवस्थित प्रसिद्ध धार्मिकस्थल रिखार हुँदै र रघुगङ्गा नदीको किनार नै किनार हुँदै सङ्गुरथला भएर कुइनेमङ्गलको घ्यासीखर्क–चिमखोला हुँदै फर्कन मिल्नेगरी दुईवटा पदमार्ग सञ्चालनमा रहेको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकप्रसाद पाइजा (रिम)ले बताए ।

“हरेक वर्ष पदमार्ग निर्माणको काम भइरहेको छ, अहिले पनि पर्यटन बोर्डबाट आएको बजेटबाट पदमार्ग स्तरोन्नतिको काम जारी छ”, उनले भने, “अक्करे पहाड र भिरमा अझै पनि पदमार्गलाई सुधार गर्न सकिएको छैन । थप बजेटको आवश्यकता छ ।”

टुरिजम एजेन्सिज अफ पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर (टान), तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा २०६८ सालमा म्याग्दीको गलेश्वर–राखुभगवती हुँदै धललागिरि आइसफल पदमार्गको अध्ययन गरिएको थियो । यस पदमार्गले म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुइनेमङ्गले, अन्नपूर्ण गाउँपालिकाको दोबा, भुरुङ तातोपानी, दानालगायतका ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ ।

 

वि.सं.२०८० माघ ९ मंगलवार १०:०० मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...