back
CTIZAN AD

ढुङ्गामा कला भर्दै गोविन्द बोटे, एउटा सालिक बनाएको रु ४५ हजार लिन्छन्

वि.सं.२०८० माघ १५ सोमवार

1.1K 

shares

मध्यविन्दु (नवलपरासी) । इँटाको सानो तीन कोठे घर । घर वरिपरि ढङ्गाको चाङ । खस्रा ढुङ्गालाई कुँदेर आकृति बनाउने काम चुनौतीपूर्ण छ । तर नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–१३ का गोविन्द बोटे ढुङ्गामा आफ्नो कला भर्न लागि परेका छन् । सानै उमेरदेखि चित्रकला र हस्तकलामा होमिनुभएका बोटे विगत १६ वर्षदेखि व्यावसायिक रूपमा मूर्ति बनाउन थालेका हुन् ।

बोटे टोलमा बस्दै आएका उनी पछिल्लो समय विभिन्न आकृतिका ढुङ्गाका मूर्ति बनाउन व्यस्त छन् । त्रिचालीस वर्षीय गोविन्दले विभिन्न देवीदेवताका मूर्ति बनाउने गरेका छन् । खोलाका ढुङ्गा ल्याएर आकर्षक मूर्ति कुद्नु उनको दैनिकी बनेको छ ।

“तीन दिनमा एउटा मूर्ति तयार पार्छु, आफ्नै हातले ढुङ्गालाई सुन्दर आकृति बनाउँदा निकै खुसी लाग्छ”, बोटेले भने, “यो कलाले आफू मरेर गए पनि युगैँयुगसम्म जीवन्त रहने हुँदा आफूले गरेको पेसाप्रति सन्तुष्ट छु ।”

बोटेलाई परिवारको पनि उत्तिकै साथ सहयोग रहेको छ । बोटे समुदायका उनलाई बुबाले खोलामा माछा मारेर जीविकोपार्जन गर्दै हुर्काएको अझै याद छ । बुबाले खोलामा गएर माछा मार्ने काम गोविन्दलाई कति पनि मन परेको थिएन । सानैदेखि चित्र कोर्न मन पराउने उनी ढुङ्गाको मूर्ति बनाउन थालेपछि यो नै अहिले व्यावसायिक पेसा बनेको छ ।

“अहिलेसम्म पाँच सयभन्दा बढी देवीदेवताको मूर्ति बनाइसकेको छु”, बोटेले भने, “१५ वटाभन्दा धेरै सालिक बनाएर बिक्री गरिसकेको छु ।” ढुङ्गामा आकृति कुद्ने काम चुनौतीपूर्ण रहेको गोविन्दको भनाइ छ । एकाग्र भएर छिनो र ढुङ्गासँग खोल्नुपर्ने हुँदा कहिलेकाहीँ आँखा र टाउको दुखे पनि यही काममा आनन्द मिलेको उनले बताए ।

“सालिक बनाउन २० दिनसम्म लाग्छ, एउटा सालिक बनाएको रु ४५ हजारसम्म लिने गरेको छु”, उनले भने ।

हिजोआज गोविन्दलाई ढुङ्गा कुद्न २१ वर्षीय छोरा कमलले पनि साथ दिन थालेका छन् । उमेरले भर्खर युवावस्थामा लागेका कमलको सोख पनि बुबाको जस्तै मूर्तिकार बन्ने छ । कक्षा १० सम्म पढेका कमल केही समय भारत गएर काम पनि गरिसकेका छन् । त्यहाँको रहनसहन नमिलेपछि उनी पुनः घर फर्किए । अहिले बुबासँगै उनी पनि मूर्ति बनाउन सिकिरहेका छन् । पछिल्लो समय लोपोन्मुख हुँदै गएको ढुङ्गाको मूर्तिलाई संरक्षण गर्न पनि आफूले बुबासँग मूर्ति बनाउन सिकिरहेको कमल बताउँछन् ।

“सुरुमा योभन्दा अरुनै केही रोजगारी गरौँ भन्ने थियो तर अन्तभन्दा यही मूर्ति बनाउनु नै ठीक लागेर बुबासँग काम गरिरहेको छु”, उनले भने, “ढुङ्गामा मूर्ति कुद्ने काम लोप भइसकेको छ यसको संरक्षण गर्नका लागि पनि मेहनत गरेको हुँ ।” बाबु छोरा गोविन्द र कमलले मूर्ति बनाउने पेसालाई थप व्यवस्थित बनाउन चाहेका छन् । यतिका वर्षबाट ढुङ्गाको मूर्ति बनाउने पेसामा आबद्ध रहेका बोटे परिवारलाई आजसम्म कुनै निकायको सहयोग नगरेको गुनासो गरेका छन् ।

“स्थानीय सरकारले ढुङ्गा कुँद्न आवश्यक पर्ने औजार सहयोग गरे राहत मिल्ने थियो”, गोविन्दले भने, “यो सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न पनि कुनै निकायले पहल गरे हुने हो ।” सबैले यो मेहनत र पेसालाई बुझिदिए यो कला बचाउन सकिने उनकोे विश्वास छ । अहिलेका युवा यो ढुङ्गाको काम गर्ने इच्छा नदेखाउँदा यो पेसा नै मर्ने हो कि भन्ने चिन्ता गोविन्दमा देखिन्छ ।

“यसमा मेहनत र लगनशीलता चाहिन्छ, यो सिकाएरभन्दा पनि आफ्नै मनदेखि आउनुपर्छ”, उनले भने, “ढुङ्गाको मूर्ति बनाउने कलालाई अहिलेका युवालाई पुस्तान्तरण गरी संरक्षण गर्नुपर्ने आवश्यकता छ ।”

 

वि.सं.२०८० माघ १५ सोमवार ११:३३ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...