लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत भ्रमणका क्रममा बेलायती सांसद जेरेमी कोर्बिनसँग बेलायतको संसद भवनमा भेटवार्ता गर्नुभएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीको पहलमा आयोजित उक्त भेटमा नेपाल र बेलायतमा रहेका नेपाली समुदाय तथा वाम आन्दोलनसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको थियो।
भेटका क्रममा सांसद जेरेमी कोर्बिनले बेलायतमा बसोबास गर्ने नेपाली समुदाय, विशेषगरी ब्रिगेड अफ गोर्खासँग सम्बन्धित नेपालीहरू, श्रमिक वर्ग तथा निम्न आय भएका समुदायले भोगिरहेका समस्याबारे चासो व्यक्त गरे उनले नेपाली समुदायका मुद्दाहरूलाई नजिकबाट बुझेर समाधानका लागि सहकार्य आवश्यक रहेको धारणा राखे ।
छलफलका क्रममा कोर्बिनले नेपालको वाम आन्दोलन, त्यसको वर्तमान अवस्था तथा विभिन्न कम्युनिस्ट शक्तिहरूबीच एकताको सम्भावनाबारे पनि जिज्ञासा राखेका थिए । उनले श्रमिक वर्ग, निम्न आय भएका समुदाय तथा उत्पीडित जनसमुदायको हकहितका लागि वाम आन्दोलनले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याए ।।
सांसद कोर्बिनले नेपालको वाम आन्दोलनलाई एकीकृत र सशक्त बनाउन आवश्यक संवाद र सहकार्यमा निरन्तर रहिरहने प्रतिबद्धता व्यक्त गर्दै भविष्यमा नेपाल भ्रमण गरी सहजीकरणकारी भूमिका निर्वाह गर्न सकिने संकेत समेत दिएको बताइएको छ। साथै, आगामी दिनमा ह्यारो क्षेत्रमा विस्तृत छलफल आयोजना गर्ने प्रस्ताव पनि उनले राखेका थिए ।
भूतपूर्व विद्यार्थी नेता, बेलायतस्थित वामपन्थी अभियन्ता तथा जडीबुटी अनुसन्धानकर्ता प्रकाश शर्माले आफ्नो लामो समयदेखिको पहल र एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीको समन्वयमा मोहन विक्रम सिंह र जेरेमी कोर्बिनबीचको भेट सम्भव भएको जानकारी दिए । उनका अनुसार उक्त भेटको उद्देश्य नेपाल र बेलायतमा रहेका वामपन्थी शक्तिहरूबीच संवाद, सहकार्य र एकताको सम्भावनालाई अगाडि बढाउनु थियो।
संसद भवनको भेटपछि मोहन विक्रम सिंहसहितको टोलीले लन्डनस्थित नेपाली दूतावासको भ्रमण गरेको थियो। त्यसपछि गोल्डेन सिप रेस्टुरेन्टमा आयोजित ‘मिट एन्ड ग्रिट’ कार्यक्रममा सहभागीहरूबीच नेपालको वाम आन्दोलन, राजनीतिक भविष्य तथा राष्ट्रिय चुनौतीबारे खुला छलफल भएको थियो।
कार्यक्रममा सहभागीहरूले नेपाली कम्युनिस्ट शक्तिहरूबीच एकताको सम्भावनाबारे व्यापक बहस गरेका थिए। “यदि नेपालमै एकता कठिन भइरहेको छ भने, किन न बेलायतबाटै सबै कम्युनिस्ट शक्तिलाई एकताको सन्देश दिने पहल सुरु गर्नेरु” भन्ने प्रश्नलाई केन्द्रमा राखेर छलफल भएको थियो। सहभागीहरूले बेलायतबाट कम्युनिस्ट एकताको अभियान प्रारम्भ गर्न सकिने सम्भावनाप्रति सकारात्मक धारणा व्यक्त गरेका थिए।
प्रवासी मञ्च यूकेका अध्यक्ष पशुपति पोखरेलले नेपालमा वामपन्थी दलहरूको पछिल्लो चुनावी पराजयको कारण नेतृत्व हस्तान्तरणको अभाव, गुटबन्दी, पार्टी रूपान्तरणमा कमजोरी तथा भ्रष्टाचारप्रति जनताको बढ्दो असन्तुष्टि रहेको बताए ।
एनआरएनए इङ्ग्ल्याण्ड राज्य परिषद्का निवर्तमान अध्यक्ष शम्भु प्रसाद अर्यालले वामपन्थी शक्तिहरूबीच एकता कायम हुन नसके नेपाली कम्युनिस्ट आन्दोलनको भविष्य थप चुनौतीपूर्ण बन्न सक्ने वताए ।
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय महाधिवेशन आयोजक समितिका केन्द्रीय सदस्य तथा पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेशका सह–संयोजक रण खाति क्षेत्रीले विगतका जनआन्दोलन, जनयुद्ध र विभिन्न राजनीतिक आन्दोलनहरूले व्यवस्था परिवर्तनमा महत्वपूर्ण योगदान पुर्याए पनि जनताको जीवनस्तरमा अपेक्षित सुधार आउन नसकेको टिप्पणी गरे । उनले वाम आन्दोलनलाई पुनः सशक्त बनाउन विभाजित शक्तिहरूबीच एकता अपरिहार्य रहेको बताए। यदि देशलाई समाजवादी अर्थव्यवस्था देशको समृद्धिको बाटोमा लैजाने हो भने विदेशमा रहेका नेपाली ख़ासगरि वेलायत युरोप अमेरिका, क्यानाडा, ऑस्ट्रेलियामा रहेका नेपालीको नागरिकताको ईस्युलाई समाधान खोज्नुपर्ने कुरा उठाउँदै नेपालका बामपन्थि पार्टीलाई समर्थन गर्ने वेलायतमा कृयासिल भातृसंगठन विचमा एकताको प्रक्रिय शुरू गर्न समेत अपील गरे ।
प्रवासी एकता मञ्चका खड्ग सुब्बालगायत वक्ताहरूले तत्काल पार्टीगत एकता सम्भव नभए पनि विभिन्न मोर्चा तथा संगठनहरूबीच सहकार्य र एकता कायम गर्न सकिने धारणा राखे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रवासी एकता मञ्च यूकेकी संयोजक बिमला लिम्बूले नेपालको वर्तमान राजनीतिक अवस्था र राष्ट्रिय चुनौतीलाई दृष्टिगत गर्दा राजनीतिक शक्तिहरूबीच सहकार्य र एकता अझ आवश्यक भएको बताइन्। उनले बेलायतको व्यस्त जीवनशैली तथा समय अभावका कारण सबै इच्छुक व्यक्तिलाई कार्यक्रममा सहभागी गराउन कठिन भएको भए पनि व्यापक सहभागिताका लागि प्रयास गरिएको जानकारी दिइन् ।
कार्यक्रममा उपस्थित सहभागीहरूले मोहन विक्रम सिंहसँग प्रत्यक्ष संवाद गर्दै नेपालको राजनीतिक अवस्था, वाम आन्दोलनको दिशा तथा राष्ट्रिय मुद्दाहरूमा आफ्ना धारणा र जिज्ञासा राखेका थिए।
तस्विर : शम्भूप्रसाद अर्याल
वि.सं.२०८३ असार १२ शुक्रवार ०८:४८ मा प्रकाशित






























