काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले चार्टर्ड एकाउण्टेन्स(सीए)ले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्ने हो भने सुशासन सुनिश्चित रहेको बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थाको २७औँ वार्षिकोत्सव एवं छैटौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अर्थमन्त्री डा महतले भने, “चार्टर्ड एकाउण्टेन्सले पेसागत कर्तव्यपालना गर्ने सिलसिलामा आउने लोभ, लालसा अथवा डर, धम्कीबाट नहिच्किचाइ आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्ने हो भने सुशासन सुनिश्चित छ ।” उनले आफ्नो प्रतिज्ञा सम्झिएपछि धेरै कुरा समाधान हुने पनि बताए । उनले भने, “लेखा र चार्टर्ड ठीक हुनेबित्तिकै धेरै कुरा ठीक ठाउँमा आउँछन । बेरुजुको वर्गीकरण गरेर कुन गम्भीर खालको हो, कुन प्राविधिक समस्याका कारण हो भन्ने आधारमा प्राथमिकता दिनुपर्ने आवश्यकता छ । हाम्रो कर प्रशासनमा चार्टर्ड एकाउण्टेनलाई प्रवेश गराउनुपर्छ ।”
अर्थमन्त्री डा महतले कर प्रशासनमा चार्टर्ड एकाउण्टेन्स (सीए)लाई प्रवेश गराउन सकारात्मक रहेको बताए । उनले सार्वजनिकदेखि निजी क्षेत्रमा समेत सुशासन सुनिश्चित हुने बताउँदै बेरुजुको वर्गीकरण गरेर गम्भीर प्रकृतिका समस्यालाई प्राथमिकताका आधारमा समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।
वि.सं.२०८० माघ १८ बिहीवार १३:५९ मा प्रकाशित






























