काठमाडौं । सरकारले पूर्वाञ्चल विश्वविद्यालयका लागि उपकुलपतिको आवेदन माग गरेको छ ।
आगामी फागुन १८ गते रिक्त हुन लागेको उक्त पदका लागि सरकारले सूचना जारी गर्दै दरखास्त दिन आव्हान गरेको हो । उक्त सूचनामा स्नाकोत्तर पास गरेकाहरुले पनि आवेदन दिन सक्ने बताइएको छ ।
उपकुलपति छनोट तथा सिफारिस समितिले ‘पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिस सम्बन्धी कार्यविधि २०८० कार्यविधि’ सार्वजनिक गर्दै आवेदन माग गरेको हो ।
उक्त कार्यविधिमा रहेको मापदण्ड अनुसार उम्मेदवारको न्यूनतम योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नाकोत्तर उपाधि प्राप्त गरेको तथा प्रचलित कानुन बमोजिम स्थापित विश्वविद्यालयको प्राध्यापक पदमा नियुक्त भइ वा सो पदको अनुभव हासिल गरेको लगायत रहेका छन् ।
उपकुलपतिको नियुक्तिका लागि इच्छुक योग्य व्यक्तिले दरखास्त दिन पाउने गरी गोरखापत्र, राष्ट्रिय दैनिक पत्रिका र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेवसाइटमा १५ दिनको म्याद राखी सूचना सार्वजनिक गरिने जनाइएको छ ।
योग्यता पुगेका उम्मेदवारले पेश गर्नुपर्ने कागजात
सूचना अनुसार योग्यता पुगेका तथा सो सरहको अनुभव संगालेका इच्छुक नागरिकले स्नातक वा सो भन्दा माथिल्लो तहको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, प्राद्यापक पदमा नियुक्त भएको नियुक्ति पत्रको प्रतिलिपी, प्रचलित कानुन बमोजिम स्थापित विश्व विद्यालय वा प्रतिष्ठानको पदाधिकारी वा कुनै स्वदेशी वा विदेशी विद्यालय वा सो सरहका उच्च शैक्षिक संस्था वा निकायको प्रशासनिक वा व्यवस्थापकीय पदमा अनुभव हासिल गरेको वा सो खुलेको विवरण तथा प्रमाणको प्रतिलिपी लगायतका कागजात पेश गर्नुपर्नेछ ।
यस्तो छ मापदण्ड
वि.सं.२०८० माघ २३ मंगलवार १५:३६ मा प्रकाशित





























