काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगै आजबाट २० जना सांसदको कार्यकाल सकिँदैछ । आज रातिदेखि ६ वर्षे कार्यकाल निर्धारण भएका २० जना सांंसदहरुको कार्यकाल सकिन लागेको हो ।
नेकपा एमालेबाट ९, नेपाली कांग्रेसबाट ४, माओवादी केन्द्रबाट ३, एकीकृत समाजवादीबाट २, जसपाबाट १ र एक जना स्वतन्त्र सांसदको आज पदावधि सकिँदै छ । आज पदावधि सकिने सांसदहरुमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरव सुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार र रामचन्द्र राई र विमला राई पौड्याल रहेकी छन् ।
त्यसैगरी, रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देव, विना पोखरेल, महेशकुमार महरा, हरिराम चौधरी, नन्दा चपाईं, सिंगबहादुर विश्वकर्मा, प्रमिलाकुमारी यादव तथा स्वतन्त्र सांसद खिमलाल देवकोटा रहेका छन् ।
यसअघि माघ ११ गते नै आजबाट रिक्त हुने २० मध्ये १९ पदमा निर्वाचन भइसकेको छ ।
फाइल फाेटाे
वि.सं.२०८० फागुन २० आइतवार १०:५८ मा प्रकाशित






























