काठमाडौं । आज महाशिवरात्रि पर्व देशभरका शिवालयहरुमा भगवान् शिवको विधिपूर्वक पूजा,आराधना एवं दर्शन गरी मनाइँदै छ ।
वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा-आराधना गर्दछन् । आज बिहानैदेखि शिवको पूजा गर्नेहरुको काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका मन्दिरहरुमा दर्शनार्थीहरुको घुइँचो छ ।
आज भक्तजनहरु व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्छन् । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि छ ।
वि.सं.२०८० फागुन २५ शुक्रवार ०८:०३ मा प्रकाशित






























