काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा सांसद तोषिमा कार्कीले संसदमा बोल्न नपाएको गुनासो गरेकी छन् ।
नियमावली अनुसार संसदमा ढ्याप–ढ्याप गरेर तथा भेटेरै दुवै प्रक्रियाबाट आकस्मिक समय माग गरेपनि समय नदिएको गुनासो गर्दै भनेकी छन् ‘संसदमा बोल्नुपर्ने कुरा के हो ? सहकारी र सुनमात्र हो ? एकअर्कामाथि छेडखानी मात्र ?’
सांसद तोषिमाले काठमाडौंमा नै बीर, पाटन, कान्ति, टिचिङ लगायत अस्पतालमा आइसियु पाइएन भन्दै आम नागरीकहरुको रोदन रहेको, बिरामीहरूले ज्यान गुमाउनु परेको तथा परिवारमा पर्ने दुःख भनिनसक्नु रहेको तर केहि अस्पतालका आईसीयु खाली बसेको अवस्था रहेको भन्दै यसबारेमा संसदमा बोल्न समय माग्दा नपाएको गुनासो उनले गरेकी हुन् ।
‘आईसीयु नपाएका बिरामीहरुको बिजोग छ । स्थिती दिनानुदिन गम्भिर हुँदै गएको छ । समाधान गर्न गार्हो विषय पनि होईन । समाधान छ । त्यसबारेमा संसदले निर्देशन दिन आवश्यक छ । यो लापरवाही आमनागरिकले पनि थाहा पाउन आवश्यक छ । यो विषयको अर्जेन्सीको कारण केहि दिन अघि र आज पनि निरन्तर आकष्मिक समय माग गरिरहँदा पनि समय पाईन,’ उनले सामाजिक संजालमार्फत् गुनासो गरेकी छन्, ‘दिनदिनै डरलाग्दो भइरहेको यो स्थितीको गाम्भिर्यता र आकष्मिकताको मनन नभएकोमा दुख लाग्यो ।’
उनले समाधान नगरे समस्या झन् विकराल हुनसक्ने बताउँदै भोलिबाट आइपियु सम्मेलनका कारण १० दिन संसद नचल्ने भएको भन्दै उक्त विषयमा सभामुखको ध्यानाकर्षण समेत गराइन् ।
वि.सं.२०८० चैत ७ बुधवार १४:३७ मा प्रकाशित






























