अमेरिकाको फ्लोरिडा इन्टरनेशनल युनिभर्सिटीबाट रियल इस्टेटमा स्नातकोत्तर पूरा गरेर केहि महिना अगाडि नेपाल फर्केका यादव भटराईले नेपालमा रियल इस्टेट प्राधिकरणको आवश्यकता रहेको बताएका छन् । लामो समय विश्वब्यापी नेपाली विद्यार्थी संगठन WNSO को विभिन्न जिम्मेवारीमा रहेर काम गरेका अभियन्ता भटटराई उक्त बिषयमा स्नातकोत्तर गर्ने सम्भवत पहिलो नेपाली हुन् ।
नेपालमा घरजग्गा कारोबार निकै सुस्ताएको बेला अमेरीकाबाट फर्केर नेपालमा यसको संस्थागत विकासको अध्ययन गरेका भटट्राईले संसारन्यूजसँग भने, ‘देश फर्कने मेरो निर्णय हाम्रो राष्ट्रको विकास र विकासमा योगदान गर्ने गहिरो इच्छाबाट प्रेरित थियो । सिभिल इन्जिनियरिङमा स्नातक र अन्तर्राष्ट्रिय रियल इस्टेटमा स्नातकोत्तर गरेपछि नेपालको इन्जिनियरिङ, निर्माण र घरजग्गा क्षेत्रमा सार्थक योगदान पु¥याउन सक्छु भन्ने विश्वाससहित आफ्नो ज्ञान र सीपहरू हाम्रो देशको हितमा प्रयोग गर्न आएको हुँ ।’
अन्तर्राष्ट्रिय रियल इस्टेटमा रहेको उनको फोकस रियल इस्टेट व्यवसायको व्यवस्थापन, नियमन र मर्मत सम्भारमा विश्वव्यापी मापदण्डहरूको विस्तृत बुझाइमा केन्द्रीत रहेको छ । प्राविधिक ज्ञान र नीतिस्तरको विशेषज्ञताले नेपालको रियल इस्टेट परिदृश्यमा प्रभावकारी रूपमा योगदान पु¥याउन सक्ने देखिन्छ । नेपालमा घरजग्गा क्षेत्रको लागि नियामक निकाय नभएको कारण सो स्थापना गर्नु आवश्यक छ । यस्तो संस्थाले घरजग्गा व्यवसायलाई व्यवस्थित र नियमन गर्न, विश्वव्यापी मापदण्डहरूको पालना सुनिश्चित गर्न, लेनदेनमा पारदर्शिता र जवाफदेहिता कायम गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । त्यस्तो नियामक संस्थाले घर जग्गा क्षेत्रको विश्वसनीयता बढाउने मात्र नभई विदेशी लगानीलाई पनि आकर्षित गर्ने र आर्थिक वृद्धिलाई उत्प्रेरित गर्नेछ ।
भटराईका अनुसार मापदण्ड, नियमहरू र नैतिक अभ्यासहरूको परिपालन सुनिश्चित गर्दै घर जग्गा क्षेत्रको निरीक्षण गर्न, सेवाग्राहीलाई धोखाधडीबाट जोगाउन, निष्पक्ष र पारदर्शी लेनदेनको प्रबद्र्धन गर्न, व्यवसायिकता र नैतिकताको स्कूलींग गर्न, रियल इस्टेट इन्भेष्टमेन्टमा लगानी आकर्षित गर्न, घरजग्गा बजारलाई विविधीकरण गर्न, वातावरणीय प्रभावलाई न्यूनीकरण गर्न, किफायती आवास प्रबद्र्धन गर्न, पारदर्शिता र जवाफदेहिता अभिवृद्धि तथा वैदेशिक लगानीलाई प्रोत्साहन गर्न, लगानी र स्वामित्वका लागि सुव्यवस्थित तथा सरल सहज प्रक्रिया बनाउन, स्मार्ट शहरहरू विकास गर्ने काममा योगदान दिन, सम्पत्ति मुल्याङ्कन प्रणालीमा सुधार गर्न, रियल इस्टेट शिक्षा र प्रशिक्षणमा ध्यान दिई सीप र ज्ञान बढाउन नियामक निकायको खाँचो परेको हो । यसबाहेक यसक्षेत्रको नगद प्रवाह, तरलता र समग्रताको अध्ययनसहित असन्तुलनमा पुग्न नदिन नियामक निकायले सहजीकरण गर्ने विश्वास भटट्राईको छ । नेपाल जग्गा आवास तथा बिकास महासंघका संयोजक ओमराज भण्डारी लगायतले सरकार र नीजि क्षेत्रका बिच राम्रो समन्वय हुन नसकेको बताईरहँदा रियल ईसटेटविज्ञ यादव भटराईले प्राधिकरण गठन हुनुपर्ने कुरालाई बहशका रुपमा अघि बढाएका छन् ।
वि.सं.२०८१ वैशाख २६ बुधवार १३:३८ मा प्रकाशित


























