काठामाडाैं । कर्णाली प्रदेशलाई सरकारले हेपेको प्रतिनिधि सभाका संसद् ज्ञानबहादुर साहीले आरोप लगाएका छन् । उनले मङ्गलवार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै बजेट विनियोजनका क्रममा सराकारले कर्णालीमाथि विभेद गरेको आरोप लगाए ।
उनले २० जना सांसद रहेको कर्णालीमा १२ जना सत्तापक्षका सांसद हुँदा पनि चित्तबुझ्दो बजेट विनियोजन गर्न नसकेको बताएका हुन् ।
‘बाउ बाजेको पैतृक सम्पत्ति बेचेर घरमा राखेर खल्तीबाट झिकेर ल्याएको बजेट जस्तो जस्तो लाग्छु ।’ उनले भने, ‘यो देशका जनताले रगत र पसिना तिरेर करबाट आर्जित पैसाको बजेट हो । सबैलाई समानताको आधारमा बजेट बाँडफाँड गरिनुपर्छ ।’
‘कर्णालीलाई सधैँ पछाडि पार्दा देशबाट अलग हुन्छु भनेर प्रस्ताव राख्यो भने के हुन्छ ?’ यसरी धोका दिन र हेप्न पाइन्छ ? कर्णालीमा बजेट जाँदा प्रतिपक्षका प्रतिनिधिको मात्र विकास हुने हो ?’, उनले प्रश्न गरेका छन् ।
साहीले कर्णालीलाई अरू सरह बजेट माग्नु भीक माग्नु नभएको बताए । ‘कर्णालीलाई समान ढङ्गबाट बजेट माग्नु हाम्रो अधिकार हो ।’, उनले भने, ‘नदिए खोसेर लिन्छौ । सडक र संसद्मा आन्दोलन गरेर लिन्छौँ । यो विषयलाई अगाडि बढाऔँ । म एक्लै भए पनि खडा हुन्छु ।’
सांसद साहीले भौतिक पूर्वाधार मन्त्री र उनको श्रीमतीको निर्वाचन क्षेत्र धनुषामा मात्रै आठ अर्ब ७७ करोड चार लाख बजेट विनियोजन हुँदा १० जिल्ला रहेको कर्णालीलाई सात अर्ब ३६ करोड १४ लाख बजेट छुट्टाउनु अत्यन्त अन्यायपूर्ण भएको बताए । उनले बजेट विनियोजनमा पुनर्विचार नगरिए विभेदकारी सरकारलाई कर्णालीको आँसुले पोल्ने दाबी गरे ।
वि.सं.२०८१ असार ४ मंगलवार १४:३१ मा प्रकाशित






























