काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० निकट राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनकी अध्यक्ष अन्जना शाह रावलले पार्टीबाट राजीनामा दिएकी छन् ।
उनी गत वैशाख २५ गते काठमाडौँमा भएको महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकी थिइन् । जिल्ला अधिवेशनहरू र केन्द्रीय अधिवेशन गरी उनी अध्यक्षमा निर्वाचित भएकी थिइन् । त्यसअघि राप्रपाले उनलाई राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनको तदर्थ समिति अध्यक्षमा २०७९ असार २ गते मनोनीत गरेको थियो ।
उनले पार्टीका महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङसमक्ष पदबाट राजीनामा दिएको उल्लेख गर्दै सामाजिक सञ्जाल फेसबुकमा राजीनामा पत्र नै सार्वजनिक गरेकी छन् ।
राजीनामा पत्रमा बोधार्थ अध्यक्ष राजेन्द्र लिङ्देन र संयोजित सङ्गठन समन्वय विभागका प्रमुख गोपाल दाहाललाई दिइएको छ । आफ्ना सहकर्मीलाई आफ्ना कारणले कामकाजमा अप्ठेरो परेको भन्दै उनले बुधवार राजीनामा दिएकी हुन् । उनले राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनको अध्यक्ष, राप्रपाको साधारण सदस्यबाटै आफूले राजीनामा दिएको उल्लेख गरेकी छन्।
वि.सं.२०८१ असार ६ बिहीवार १०:५७ मा प्रकाशित





























