काठमाडौँ । नेकपा एकीकृत समाजवादीको अध्यक्ष पदमा घनश्याम भुसाललाई सघाउने सम्मानित नेता झलनाथ खनाले निर्णय गरेका छन् । उनले अध्यक्षको दाबीबाट झलनाथ पछि हट्दै भुसाललाई समर्थन गरेका हुन् ।
यसअघि जसको विचार उसैको नेतृत्व भन्दै आएका खनाल महाधिवेशनको सम्मुखमा आएर अध्यक्षको दाबीबाट पछि हटेका हुन् । यसअघि अध्यक्षमा माधवकुमार नेपालसहित झलनाथ खनाल र घनश्याम भुसालले अध्यक्षमा दाबी गर्दै आएका थिए । खनालपछि हटेसँगै उनको साथ भुसाललाई हुने भएको छ ।
‘दुई नेताका बिचमा सहमतिबाटै अघि बढौँ भन्ने कुराकानी भयो । त्यसक्रममा खनालले भुसाललाई र भुसालले खनाललाई सहयोग गर्न आग्रह गर्नुभयो’, खनाल निवास स्रोतले भन्यो, ‘अन्तिममा खनालले तपाईँलाई अध्यक्षमा मेरो साथ रहन्छ भन्नुभयो र त्यसपछि दुवैजना हात मिलाएर छुट्नुभयो ।’
बुधबार बिहान सम्मानित नेता खनालको निवासमा खनाल र भुसालबिच भएको छलफलमा खनालले भुसाललाई साथ दिने सहमति भएको हो ।
खनाल निवासमा भएको छलफलमा खनाल, भुसाल र युवा संघका पूर्वअध्यक्ष नरेशकुमार शाही सहभागी थिए ।
माधव नेपाल अध्यक्षमा दोहोरिने चाहाना राखिरहेका बेला नेपालपछि नहटे वा सहमति नजुटे अव नेपाल र भुसालबिच अध्यक्षमा प्रतिस्पर्धा हुने लगभग निश्चित छ ।
उक्त छलफलको तस्बिर सार्वजनिक भएको छ । जसमा खनाल र भुसालबिच हात मिलाएको देखिन्छ । भुसाल हाल एकीकृत समाजवादीको महासचिव छन् ।
वि.सं.२०८१ असार १२ बुधवार १७:०७ मा प्रकाशित






























