काठमाडौँ । नेपालमा ३० अर्ब रुपैयाँभन्दा बढीको अवैध सुन चोरी पैठारी भएको तथ्य सार्वजनिक भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल विद्युतीय प्राविधिक समाज र त्रिभुवन विश्वविद्यालय, भौतिक शास्त्र केन्द्रीय विभाग, कीर्तिपुर, काठमाडौँ समेतका प्रतिनिधि रहेको विज्ञ टोलीले सुन तस्करी सम्बन्धी प्रतिवेदनबाट यो तथ्य खुलेको हो ।
प्रतिवेदन अनुसार विभिन्न इलेकट्रोनिक माल वस्तु तथा ब्रेक सुमा गरी कुल ३ हजार १९४.६६८ के.जी अवैध सुन चोरी पैठारी गरेको देखिएको छ । यसको मूल्य करिब ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रुपैयाँ हुने ब्युरोको भनाई छ । ब्युरोले सोमबार अवैध सुन भन्सार चोरी पैठारीका बारेमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा २०८० साउन २ गते अवैध सुन ६० किलो ७१६ ग्राम बरामद भएपश्चात् राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरको प्रतिवेदन जाहेरीले वादी नेपाल सरकार प्रतिवादी हर्कराज राई समेत अवैध सुन भन्सार चोरी पैठारी तथा सङ्गठित अपराधतर्फ अनुसन्धान सुरु भएको ब्युरोले बतायो ।
अनुसन्धानको क्रममा ब्रेक सुमा लुकाई छिपाई ल्याएको अवैध सुनको परिमाण ३६२ किलो ७७८ ग्राम रहेको देखिएकोले सोही अनुसार ३ अर्ब ५० करोड ०२ लाख १६ हजार ५५२ रुपैयाँ माग दाबी गरी सङ्गठित अपराध निवारण ऐन, २०७० को दफा २२ एवम् मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ बमोजिम थप अनुसन्धान गर्ने गरी मिति २०८०।०५।३१ गते अभियोग पत्र दायर भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
वि.सं.२०८१ असार १७ सोमवार १३:२२ मा प्रकाशित


























