काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमतिको सरकार बनाउने सहमति भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार राति दुबै पार्टी मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको बताइएको छ ।
उक्त समझदारी अनुसार एमालेका अध्यक्ष ओली पहिलो चरणमा दुईवर्ष प्रधानमन्त्री बन्ने र बाँकी अवधिमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने सहमति भएको छ ।
सोमबार साँझ ललितपुरमा एमालेका महासचिव शंकर पोखरेल र नेपाली कांग्रेसका सचेतक रमेश लेखकलगायतका नेताहरु सहभागी रहेको छलफलमा उक्त समझदारीको खाका तयार भएको बताइएको छ ।
उक्त खाका तयार भएपछि नेताहरु अध्यक्ष ओली र सभापति देउवासमक्ष छलफल गरेका थिए । उक्त समझदारी अनुसार दुवै दलले प्रदेश सरकारकाहरुमा पनि तीन -तीन प्रदेश बाँडेको बताइएको छ । बाँकी एक प्रदेश मधेशमा, मधेश केन्द्रीत दलकै नेतृत्व हुन सक्ने समझदारी भएको समेत बताइएको छ ।
छलफलमा सहभागी एक नेताका अनुसार दुवै दलले पार्टीभित्र छलफल गरेर मंगलबार सहमति पत्र सार्वजनिक गर्ने र आवस्यक कार्यान्वयनमा लैजाने छन् । दुवै दलबीच संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्ने सहमति भएको बताइएको छ ।
वि.सं.२०८१ असार १८ मंगलवार ०७:४९ मा प्रकाशित






























