काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झाले इन्कारी बयान दिएका छन् । उनले पोलिग्राफ जाँच गर्न समेत नमानेको खुल्न आएको छ ।
झाविरुद्ध जिल्ला अदालत, काठमाडौँमा दायर मुद्दासँगै उनले पोलिग्राफ परीक्षण गर्न नमानेको ब्यहोराको प्रतिवेदन समावेश गरिएको छ । पोलिग्राफ बयानबारे सत्यता परीक्षण गर्न जाँच गराउन विधि हो ।
सरकारी वकिलको रोहबरमा प्रहरीसँग उनले इन्कारी बयान दिएका थिए । उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई केही थाहा नभएको बताएका थिए ।
अनुसन्धानका क्रममा प्रहरी अर्का आरोपी रामशरण केसीले झाको नाममा काटिदिएको दुई करोड रुपैयाँको चेक पनि बरामद गरेको थियो । त्यसबारे पनि आफूलाई थाहा नभएको उनले बताएका थिए ।
अनुसन्धान अधिकृतहरूले झा र केसीबिच भएको संवादको एउटा अडियो पनि उनलाई सुनाएका थिए । त्यो पनि आफ्नो आवाज नभएको उनले जिकिर गरेका छन् ।
केसीले बयान दिएअनुसार, मन्त्रिपरिषद्मार्फत केही निर्णय गराउनलाई केसीले त्यो रकम मागेका थिए । चेक दिन जाँदा गरेको कुराकानीको अडियो उनले प्रहरीलाई उपलब्ध गराएका थिए ।
अधिकृतहरूका अनुसार, अडियोमा केसीले मन्त्रिपरिषद्बाट निर्णयहरू भए/नभएकोबारे सोधेका छन् । त्यस क्रममा केसीलाई आश्वस्त पार्न समेत खोजिएको छ । तर, झाले भने त्यो अडियो पनि आफ्नो नभएको भन्दै परीक्षण गर्न तयार भएको भनेका छन् । उनी विरुद्ध ठगी र सङ्गठित अपराधको कसुरमा जिल्ला अदालत, काठमाडौँमा मुद्दा दर्ता भएको छ ।
वि.सं.२०८१ साउन ३० बुधवार १३:०४ मा प्रकाशित






























