शेयर बजार लगानीकर्ताहरूले सार्वजनिक रूपमा कारोबार भएका कम्पनीहरूको शेयर खरिद बिक्री गर्न सक्ने थलो हो । त्यस्तो शेयर बजारलाई आज संसारभर नै अर्थतन्त्रको ऐनाको रूपमा हेरिन्छ । कुनै देशको शेयर बजार परिसूचक उच्च छ । कारोबार उच्च छ । शेयर बजारले लगानीकर्ताहरूको मनोबल बढाइरहेको छ भने त्यस देशको अर्थतन्त्र पनि सबल, गतिशील एवं तथ्याङ्कीय हिसाबले पनि सही ठाउँमा छ भनेर हेरिन्छ । यदि शेयर बजारको नुर गिरेको छ, कारोबार उत्साहप्रद छैन । इन्डेक्सहरू घटिरहेका छन् भने त्यस देशको अर्थतन्त्र पनि ओरालो लागेको, मन्दीले घेरेको बुझाउँछ । त्यस कारण शेयर बजार र अर्थतन्त्रको सम्बन्ध अधिक छ । अझ शेयर बढ्छ कि बढ्दैन, शेयर बजारको विद्यमान उत्साह कायम रहन्छ कि रहँदैन ? भनेर आम जिज्ञासा हुन्छ । त्यसको उत्तर सरकारको हातमा छ । अर्थतन्त्रको विद्यमान अवस्था र भविष्यको पूर्वाभासमा भर पर्छ ।
कुनै सरकारले विकास निर्माणलाई तेजस्वी बनाउन सक्छ भन्ने आम पब्लिकमा आशा भयो भनेपनि शेयर बजारमा उत्साह देखिन्छ । तर सरकारप्रति, उसका नीति प्रति र प्राथमिकता प्रति जनतालाई अथवा लगानीकर्तालाई भरोसा भएन भनेपनि शेयर बजार नकारात्मक दिशा समात्छ ।
अर्थतन्त्र र शेयर बजार
शेयर बजार अर्थतन्त्रको मुख्य पिल्लर भएकैले पनि यसले व्यवसायको समन्नुनती, औद्योगिक विकास मात्र होइन पुरै अर्थतन्त्रको स्वास्थ्यमा महत्त्वपूर्ण प्रभाव पार्दछ । संसारभरकै अर्थतन्त्रमा शेयर बजारले पार्ने प्रभाव करिब उस्तै र उही हो । त्यस कारण शेयर बजारको बारेमा नेताहरूले, त्यसमा पनि जनतामा प्रभाव रहेका नेताहरूले (वर्गीय समाजमा सबै नेताहरूको आफ्ना-आफ्ना प्रभाव हुन्छन् नै ) वेला कुबेला शेयर बजार प्रति नकारात्मक धारणा राख्नु सर्वदा गलत हो । त्यस कारण पनि जनताको अथाह लगानी रहेको शेयर बजार प्रति बोल्दा कुनैपनि देशका गभर्नर, सरकारका आर्थिक सल्लाकार, बजारसँग सम्बन्धित संस्थाका अधिकारीहरूले संवेदनशीलता माथि आघात पुराउँदैनन् ।
फेरी शेयर बजार यस्तो प्लेटफर्म हो, जहाँ कम्पनीहरूले पुँजी उठाउँछन् र लगानीकर्ताहरूले आफ्नो सम्पत्ति बढाउँछन् । यी दुवै गतिविधिले शेयर बजारलाई पनि र समग्र अर्थतन्त्रलाई पनि सहयोग पुग्दछ । पछिल्लो समय त धेरैजसो ठुला व्यावसायिक संघ सङ्गठन, उत्पादनमुक कम्पनीहरू समेत नेपाल स्टक एक्सचेन्ज – नेप्से) मा क्रमशः सूचीकृत हुन थालेपछि शेयर बजारमा हुने व्यापारले आम पब्लिकलाई प्रत्यक्ष वा अप्रत्यक्ष असर गर्न थालेको छ । हरेक उत्पादन, रोजगारी र हामीले बनाउने योजनाहरूमा पनि त्यसले असर गर्दछ । त्यस कारण शेयर बजार र अर्थतन्त्र एक अर्कामा अन्योन्याश्रित छन् । दुबैलाई अलग्गै राखेर हेर्न नसकिने अवस्था छ । त्यस कारण शासकहरूले शेयर बजारलाई ‘इगनोर’ गरेर अगाडी बढ्न सक्दैनन् ।
त्यस कारण पनि शेयर बजारको ट्रेन्ड बुझन समग्र अर्थतन्त्रको हालत केलाउन जरुरी छ । बाठा र व्यावसायिक लगानीकर्ताहरूले शेयर बजार मूल्यहरू र प्रक्षेपण बुझन आर्थिक डाटाहरू स्क्यान गर्छन् । तर हामीकहाँ शेयर बजारको विश्लेषण केही प्राविधिक शब्दावलीहरू रचेर, कम्पनीहरूका आंशिक नाफा घाटा केलाएर, गोयबल्स हल्लाहरू चलाएर, लगानीकर्ताहरूलाई अलमल्याएर गरिन्छ । तर, कुरा यत्ति हो कि, शेयर बजारको दिगो बढोत्तरीको लागि सरकारले ल्याउने केही आशाप्रद नीतिले मात्र होइन अर्थतन्त्र नै सबल र निरन्तर अगाडी बढेको हुनुपर्छ । त्यसले मात्र शेयर बजारको उत्साह कायम गराइ राख्नेछ । अन्यथा त्यो दिगो हुन सक्दैन । जसरी शेयर बजारमा लगानी गर्नेहरूले देशको आर्थिक अवस्थाको मुल्याकन गर्छन् त्यसरी नै देशको अर्थव्यवस्थाको प्रक्षेपण गर्न शेयर बजार सुचकांकहरुको ट्र्याक राख्ने गरिन्छ ।
यद्यपी शेयर बजारमा विभिन्न अरू कारकतत्वहरुको प्रभाव रहन्छ । जसले राष्ट्रको अर्थतन्त्रमा प्रत्यक्ष रूपमा असर गर्दैन । उदाहरणका लागि प्राकृतिक प्रकोप, ब्याजदर देखि करको दरसम्म सबै कुराले शेयरको मूल्यमा असर गर्छ । तर अर्थतन्त्रमा त्यसको तात्त्विक असर भने हुँदैन । अर्को शेयर खरिद वा लाभासंमा प्रत्यक्ष प्रभाव पार्ने कानुनमा कुनै परिवर्तन भएमा त्यसले प्रत्यक्ष रूपमा शेयरको मूल्यमा असर गर्छ । खास गरी शेयर बजारले कुनैपनि घटना वा परिवर्तनमा तीव्र प्रतिक्रिया दिन्छ । तर कुल ग्राहस्थ उत्पादनमा भने त्यस्ता परिवर्तनले असर गर्दैन ।
यसरी समग्रमा अर्थतन्त्र र सेयर बजार एक अर्कामा मिलाएर चल्छन् । तर सधै भने होइन । सेयर बजार र आर्थिक कार्यसम्पादन सधैँ मिल्दैन । अर्थात् बलियो सेयर बजारको प्रदर्शनले सधैँ बढ्दो अर्थतन्त्रलाई पनि इगित गर्दैन । तर धेरैजसो अवस्थामा देशको आर्थिक सुदृढीकरण र गतिशीलताले शेयर बजारलाई साथ दिन्छ ।
नेपालमा सेयर बजार
नेपालमा केही बर्सयता आर्थिक क्षेत्रमा आएको शिथिलता, बढ्दो बेरोजगारी, युवा पलायन, उपभोक्ता मागमा आएको कमी लगायत अरू विभिन्न कारणले शेयर बजार निरन्तर गिरेको हो । कोभिड १९ र रुस युक्रेन युद्धको नकारात्मक प्रभाव नेपाली अर्थतन्त्रमा पनि परेको हो । तर पछिल्लो एक बर्सयता नेपालको अर्थतन्त्रको बाह्य परिसूचक निरन्तर सुधारिएको देखिन्छ । रेमिटेन्स गत आर्थिक वर्षमा १४ प्रतिशतले बढेर १४ खर्ब पार गरेको अवस्था छ । विदेशी विनिमय सञ्चिति २० खर्ब अर्थात् १३ महिनाको आयात धान्न पुग्ने राष्ट्र बैकको भनाइ छ ।
आयात र निर्यात दुवै घटेपनि शोधानान्तर घाटाको अवस्था सुधारिएर नाफामा पुगेको छ । बैङ्कहरूमा न्यून तरलताको अवस्था सुधारिएर पर्याप्त तरलताको अवस्था छ । मुद्रास्फीति सन्तुलित हुँदै गएको छ । र, केपी ओली नेतृत्वको नयाँ सरकार आएपछि शेयर बजारले पनि लय समात्न थालेको देखिन्छ । अर्थात् अब चाहिँ केही हुन्छ भन्ने जस्तो लगानीकर्ताको मनोबल बढ्न थालेको छ । शेयर बजारमा सूचीकृत कम्पनीहरूको अघिल्लो आर्थिक वर्ष भन्दा गत वर्षको वित्तीय विवरणहरू निकै सुधारिएर आएको अवस्था छ । यत्ति हो, नयाँ सरकारले पुँजीगत खर्च बढाउनु पर्ने, राजस्व आय बढाउनु पर्ने, आर्थिक गतिशीलतालाई बढाउनु पर्ने आवश्यकता देखिन्छ । त्यसको लागि सरकारकै स्वायत्त निकाय राष्ट्र बैङ्कले आर्थिक गतिविधि बढाउन खुकुलो गरी मौद्रिक नीति ल्याइसकेको छ ।
जसले घरजग्गा तथा अन्य साना तथा मझौला उद्यम व्यवसायका लागि भूमिका खेल्ने आशा गर्न सकिन्छ । फल स्वरुप अर्थतन्त्रमा सुधार आउनेछन् । जसको सकारात्मक प्रभाव शेयर बजारमा पर्नेछ । यसरी शेयर बजार र समग्र देशको अर्थतन्त्रबिच गहिरो एवं अन्योन्याश्रित सम्बन्ध छ । फल स्वरुप अर्थतन्त्र उकालो लाग्दा वा लाग्ने अवस्था सिर्जना हुदा निश्चित रूपमा शेयर बजार बढ्छ । आरालो लाग्ने अवस्था देखिए शेयर बजार घट्छ । (गौतम आर्थिक लेखक तथा विश्लेषक हुन्)
वि.सं.२०८१ भदौ १० सोमवार १४:०६ मा प्रकाशित