back
CTIZAN AD

केराखेती गर्ने किसानलाई दीपावली पर्व आम्दानीको अवसर

वि.सं.२०८१ कात्तिक ६ मंगलवार

807 

shares

महोत्तरी । दीपावली पर्व केराखेतीका किसानलाई अतिरिक्त आम्दानीको अवसर बन्दै आएको छ । दीपावली र छठका लागि केही दिन पहिलेदेखि नै केराका घरीको बिक्री सघन बन्नसँगै केराका थामकै पनि राम्रो मूल्य पाउने भएपछि मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रका किसानका लागि यो अतिरिक्त आम्दानीको अवसर बन्ने गरेको हो । खासमा दीपावली पर्वमा लक्ष्मीपूजनमा केराका थामको स्वागतद्वार बनाइने यहाँकोे परम्पराले यस बेलालाई किसानले केराको गोडमेलको अवसर बनाउने गरेका छन् ।

“छिप्पिएका केराका घरी यसबेला राम्रो मूल्यमा एक साता पहिलेदेखि नै कुराकानी पक्का हुन्छ, यसैबेला सानाठूला सबैजसो व्यापारीले केराका थामको स्वागतद्वार बनाउने चलनले हामी झ्याङमा धेरै बढेका कोथा यसैबेला छ्यास्ने गर्छौँ”, बर्दिबास–९ पशुपतिनगरका किसान भोला महतो भन्छन्, “दीपावलीको अवसर गोडमेलमा उखेलेर फाल्नुपर्ने कोथाबाट पनि नगद पाइन्छ ।”

केरा गोडमेलसँगै निकै झ्याङ्गिएका कोथा पहिले नै निकाल्ने बेला भए पनि किसान यसका लागि दीपावलीको मुख पर्खने गर्छन् । “भन्नुस् न, अरुबेला यी कोथाको के काम ! यतिखेर त घरघरै कोथा खोज्न व्यापारी घरघरै आउँछन्, त्यसैले हामी केराको गोडमेललाई दीपावली पर्खने गर्छौैँ” भोलाकै छिमेकका अर्का किसान रामविनोद महतो भन्छन्, “यसबेलाको गोडमेलले श्रमिकलाई दिइने ज्याला र थपमा आफ्नो पर्व खर्चमा पनि कोथा बिक्रीले सघाउँछ ।”

स्वागतद्वार बनाउन नयाँ कोथा (केराका थाम) प्रयोग गरिने परम्पराले दीपावलीको एक साता पहिलेदेखि नै किसानका खेतबारीका कोथाको बिक्री हुने पक्का हुने गरेको छ । “मेरो बारीका ५० जोर कोथाको त पेश्की नै पाइसकेको छु”, भङ्गाहा–४ रामनगरका युवा किसान ३० वर्षीय रामईश्वर ठाकुर भन्छन्, “थाम बिक्रीले गोडमेलमा जनको बनी (श्रमिकको मजदुरी, ज्याला) मात्र नभई आफ्नै अन्य खर्चको जोहो पनि हुन्छ ।” त्यसैले आफुहरु केरा गोडमेललाई दीपावलीको बेला पर्खने गरेका ठाकुर बताउँछन् । अन्यबेला गोड्दा उखेलेर फाल्नुपर्ने कोथाबाट यसबेला आम्दानी हुने भएपछि पर्वका बेला कामको धपेडी बढे पनि आफुहरूले यस कामलाई दीपावली पर्खनुपरेको किसान बताउँछन् ।

वर्षभरिमा एउटा केराका झ्याङमा पाँच÷सातवटासम्म फाल्नुपर्ने कोथा निस्कने किसानको भनाइ छ । केराको एक÷एक झ्याङमा हुर्केका (ठूला) तीनवटा बोटमात्र राखिनुपर्ने हुँदा यसभन्दा बढीका कोथा उखेलेर फाल्नुपर्ने हुन्छ । दीपावलीमा त्यही फालिने कोथा बिक्री हुने भएपछि यो आफुहरूको खेती खर्चमा सहयोगी बन्ने किसान बताउँछन् ।

“अरुबेला केरा गोडमेल गरिँदा छ्यासिने (उखालिने) कोथा मलको भकारोसम्म पुर्याउन लाग्ने श्रम बराबरको पारिश्रमिक दिनुपर्ने हुन्छ”, भङ्गाहा–६ हतिसर्वाको मदनपट्टिका किसान जयराम यादव भन्छन्, “दीपावलीमा भने कोथा किन्न आउने आफैँले पनि उखेलेर लाने गर्छन्, यसले मजदुरलाई दिनुपर्ने रकमसहित कोथा बेचेर प्राप्त हुने रकम अतिरिक्त आम्दानी हुने गरेको छ ।” त्यसैले केरा गोडमेल र बढी निस्केका कोथा उखेल्न दीपावली पर्खने गरिएको किसानको भनाइ छ । पछिल्ला तीन वर्षयता बर्सेनि थाम (कोथा) बाट रु ३० हजारसम्म आम्दानी हुने गरेको यादवले बताए। यादवको १५ कठ्ठाजतिमा केराखेती छ ।

दीपावली आउन एकसाता बाँकी छँदै सुुरु भएको थामको बिक्री लक्ष्मीपूजाको दिन बिहानसम्म चल्ने गरेको छ । अहिले मूल्य बोलकवोल गरिएका थामभने लक्ष्मीपूजाको एक दिनअघि उखेलेर ग्राहकले लाने किसान बताउँछन् । धेरै गाँजिएपछि बोट छ्यास्नैपर्ने ठाउँमा तिहार पर्खेर बसेका किसानले अन्यबेला फाल्नुपर्ने थामबाटै अहिले आम्दानी भएपछि दीपावली पर्व आफुहरूका लागि पर्खने अवसर बनेको किसानको भनाइ छ ।

दीपावलीभरिमा जिल्लामा रु २० लाख हाराहारीको थामको बिक्री कारोबार हुने गरेको जिल्लाका उद्योग वाणिज्य सङ्घहरूको अड्कल छ । खासमा थाम जलेश्वर, गौशाला, मटिहानी, मनरा, रामगोपालपुर, सीतापुर र लोहारपट्टीसहितका बजारमा बढी प्रयोग हुने गरेको महोत्तरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र चौधरी बताउँछन् ।

मिथिला क्षेत्रमा दीपावली र छठपर्वका अवसरमा स्वागतद्वार बनाउन प्रयोग गरिने थाम शुभफलदायी मानिन्छ । केराका थामको स्वागतद्वारबाट लक्ष्मी गृहप्रवेश गर्ने विश्वासले यसको महत्व बढेको मिथिला संस्कृतिका जानकार बताउँछन् । वैदिककालदेखिकै यो परम्परा मिथिला लोकसंस्कृतिको हिस्सा नै बनेको जलेश्वर–५ पतैलीका ध्रुव रायले बताए । रासस/फाइल फोटो

 

वि.सं.२०८१ कात्तिक ६ मंगलवार १०:५२ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...