back
CTIZAN AD

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

वि.सं.२०८३ भदौ १७ बुधवार

15 

shares

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको छ । संस्थापन पक्षले महाधिवेशन प्रक्रिया अघि बढाइरहेका बेला पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा रहेको ‘१५औँ केन्द्रीय महाधिवेशन तयारी समिति’ले पनि आगामी मंसिरमा महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव गरेको छ।

बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको ‘१५औँ केन्द्रीय महाधिवेशन तयारी समिति’ को दोस्रो बैठकले वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्मको प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको हो।

प्रस्तावअनुसार केन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने उल्लेख छ। त्यसअघि वडा अधिवेशन असोज १५, पालिका अधिवेशन असोज २०, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन असोज २३, जिल्ला अधिवेशन कात्तिक १५ र प्रदेश अधिवेशन मंसिर ४ गते गर्ने प्रस्ताव गरिएको छ।

यस्तो छ प्रस्तावित कार्यतालिका
वडा अधिवेशन — असोज १५ गते
पालिका अधिवेशन — असोज २० गते
प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन — असोज २३ गते
जिल्ला अधिवेशन — कात्तिक १५ गते
प्रदेश अधिवेशन — मंसिर ४ गते
केन्द्रीय महाधिवेशन — मंसिर २१, २२ र २३ गते

तयारी समितिले भदौ १८ गतेभित्र केन्द्रीय निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन तथा व्यवस्थापन समिति, विधान संशोधन समिति र अनुशासन समितिसहित चारवटा समिति गठन गरिसक्नुपर्ने प्रस्ताव गरेको छ।

यस्तै, महिला संघ, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल दलित संघ र आदिवासी जनजाति महासंघलगायत भ्रातृ संस्थामा तदर्थ समिति गठन गर्ने तथा ७७ वटै जिल्लामा जिल्ला अधिवेशन तयारीका लागि केन्द्रीय प्रतिनिधि तोक्ने प्रस्ताव गरिएको छ।

केन्द्रीय प्रतिनिधिले भदौ २० गतेभित्र सम्बन्धित जिल्लामा पुगिसक्नुपर्ने र भदौ २५ गतेभित्र जिल्ला अधिवेशन तयारी समिति गठन गरिसक्नुपर्ने कार्यतालिका प्रस्ताव गरिएको छ। त्यसैगरी संघीय तथा प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन तयारी समिति भदौ २८ गतेभित्र र पालिका तथा वडा अधिवेशन तयारी समिति असोज ३ गतेभित्र गठन गर्ने उल्लेख छ।

समूहले १४औँ महाधिवेशनमा सहभागी सबै क्रियाशील सदस्यलाई आगामी अधिवेशनमा सहभागी हुन दिने प्रस्ताव गरेको छ। १४औँ महाधिवेशनमै १५औँ महाधिवेशनमा सहभागी हुने निर्णय गरेका सदस्य तथा २०८२ पुस १० गतेभित्र नवीकरण गरेका क्रियाशील सदस्यलाई पनि अधिवेशनमा सहभागी गराउने प्रस्ताव गरिएको छ।

नयाँ क्रियाशील सदस्यता असोज ९ गतेभित्र टुंगो लगाउने र सदस्यतासम्बन्धी विवाद आएमा सदस्य छानबिन तथा व्यवस्थापन समितिको निर्णय अन्तिम हुने प्रस्तावमा उल्लेख छ।

महाधिवेशन सम्पन्न गर्न केन्द्रीय निर्वाचन समितिले सातै प्रदेश, ७७ जिल्ला तथा जिल्ला हुँदै प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका र वडा तहमा निर्वाचन तथा मतदान अधिकृत पठाउने प्रस्ताव गरिएको छ।

यसैगरी आगामी प्रदेश तथा स्थानीय तहका निर्वाचनलाई लक्षित गर्दै सम्बन्धित तहका समितिले इच्छुक उम्मेदवारको नामावली संकलन तथा उपयुक्त उम्मेदवार छनोटको प्रक्रिया प्रारम्भ गर्ने प्रस्ताव पनि बैठकमा अघि सारिएको छ।

रसुवा बाढीप्रति दुःख व्यक्त

बैठकले रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।

बाढीबाट प्रभावितको खोज तथा उद्धार, राहत, सुरक्षित आवास र उचित क्षतिपूर्तिसहित पुनःस्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै राजनीतिक दल, भ्रातृ तथा शुभेच्छुक संस्था, निजी क्षेत्र, उद्योगी–व्यवसायी, वित्तीय संस्था, मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि अपिल गर्ने निर्णयसमेत बैठकले गरेको छ।

बैठकले ११३औँ बीपी जयन्ती, समसामयिक विषय तथा विविध विषयमा समेत छलफल गरेको जनाइएको छ।

यससँगै कांग्रेसभित्र १५औँ महाधिवेशनको मिति र प्रक्रियालाई लिएर दुवै समूह आ–आफ्नै तयारीमा अघि बढेको देखिएको छ। संस्थापन इतर समूहले मंसिरमै महाधिवेशन गर्ने गरी विस्तृत कार्यतालिका अघि सारेपछि पार्टीभित्रको महाधिवेशनसम्बन्धी विवाद थप पेचिलो बन्ने संकेत देखिएको छ।

वि.सं.२०८३ भदौ १७ बुधवार १५:४९ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले  आर्थिक...