Logo
३ माघ २०७८, सोमबार
     Mon Jan 17 2022
E-paper
  English Edition
   Unicode
Logo

टेक बहादुरले जस्तै पैञ्युखोले जनतालाई पेन्सन बुझेर औषधि बाड्ने कोही छ ?



uday-gautamटेक बहादुर आले दाईसँग अब भेट हुँदैन भन्दा यो कुरा पत्याउन मलाई तिनकैं गा¥हो भएको छ । हुन त मलाई हाम्रा बाले धर्ति छाडेको बेला यस्तै भएको थियो । यसपटक गाउँ जाँदा न त बाको तेजिलो अनुहार देख्न पाइयो न त आले सरको सिनित्त परेको मुखाकृतिको झल्को नै मेट्न पाइयो । झण्डै आधा घण्टा आले सरको घरको आँगनको डिलमा बसेर यता उता चारैतिर नजर डुलाए । सबैतिर उजाड देखियो । रुखभरी भएका हरिया पातहरु समेत आले सरको अभावमा सुकेर रुख नै उजाड भएको जस्तो लाग्यो ।

जहिले पनि साँझ घर पुगेपछि भोलिपल्ट बिहाँनै सात नबज्दै आले सरको घरमा पुग्थे म । कुनैबेला अलि ढिला सम्म सुत्यो भने बाले ‘ए माइला आज टेक बहादुर काँहा जान्नस् कि क्या हो ?’ भनेर सोध्नु हुन्थ्यो । तर, यसपटक भने एक्लै जाने हिम्मत आएन । भाइ निलकण्ठलाई जाम न हिँड, भनेर सँगै लिएर गए । घरमा काकी हुनुहुन्थ्यो । एकछिन कुराकानी भयो । दुवैले दुःख सुखका कुरा गर्यो । त्यत्ति नै बेला एक लोर्के ठिटो झोला भिरेर स्कुल ड्रेसमा आयो । मैले सोँधे ‘यो को हो काकी ?’ काकीले ‘रमेशको छोरा हो नाति’ भन्नु भयो । ‘ नमस्ते’ भनेर उँ आफ्नो काममा लाग्यो ।

लन्डनको बकिंङघक प्यालेस हुँदै सेन्ट पौल क्याथेड्रलसम्म छुट्टीको बेलामा लाहुरे श्रीमानको हात समाउँदै मस्कदै साँझ पर्दा बेलायती सरकारले उपलब्ध गराएको सरकारी क्वाटरमा फर्किदा कार्कीको अनुहारमा फुल्ने गुलाफ यति बेला ओइलाइ सकेको थियो । मैले त काकीको अनुहार सिधा नरजले हेर्न पनि सकिन । खल्तीबाट मोबाइल झिकेर ‘काकी यता फर्किनुस’् त भनेर फोटो भने खिच्न भ्याए ।
मैले चिनेको टेक बहादुर आले, मेरो अत्यन्तै प्यारो गुरु जस्ले छड्के अक्षर साह्रै राम्रा लेख्नु हुन्थ्यो । म कक्षा ५ मा पढ्थे होला सायद ! एकदिन स्कुलमा प्रार्थनाको लाइनमा तिलक सरले २ जना लाहुरे लिएर आउनु भयो । समय–समयको कुरा हो, त्यतिबेला हाम्रो गाउँमा लाहुँरेको साह्रै इज्जत सम्मान हुन्थ्यो । अझ मलायको लाहुरे भनेपछि त कुरै अर्र्कै हुन्थ्यो । बुढापाकाहरु कति कमाए होला, कति पैसा ल्याए होला, भाग्यकै कुरा त हो ’ अब फलाामको भाग्य चम्कियो भनेर गफ गर्थे । हामीहरु भने बक्सिङ कत्तिको खेल्न सक्छ होला अथवा सेउरात्रिको बजारमा ठेलो फालेर कस्ले जित्छ होला ? अनि यो पटकको दशैंमा हटियाको राँगो कति पटकमा मार हानेर ढाल्छन होला ? भनेर मच्ची मच्ची गफ गरिन्थ्यो । तिलक सरले स्कुलको लाइनमा लिएर आएका यी दुई लाहुरे भने अरुको भन्दा कुरा अलि भिन्नै रहेछ । प्रार्थनाको लाइनमा खासखुस चल्यो ।

‘उहाँहरु अब स्कुलमा शिक्षक हुन आउनु भएको हो ।’ ठेगाना सहित तिलक सरले भन्नु भयो । टेक बहादुर आले र गुप्त बहादुर आले । अनि उहाँहरुको पनि आ–आफ्नो परिचय दिनु भयो । नयाँ शिक्षक स्कुलमा आउँदा अब यिनले कत्तिको छडी हान्छन होला भन्ने कौतुहलता बढ्थ्यो । त्यसमाथि लाहुरे त झोकी र बलिया हुन्छन्, भन्ने आत्मसत्य जस्तै थियो । भिम सरकै घर नजिकका मान्छे भएकोले अब यिनले पनि गोद्छन भन्ने मनमा लागेको थियो । अझ त्यसमाथि लाहुरे शिक्षक भएकोले छडिले हान्दा पनि बढी दुख्छ होला भनेर मन चसक्क हुन्थ्यो । जतिबेला पनिसँगै हिड्ने बस्ने सहपाठी नेत्र आलेले हाम्रंो दाइ हो भनेपछि मन अलि ढुक्क भएको थिए । पछि कुरा बुझ्दै जाँदा मलायका लाहुरे टेक बहादुरले स्वास्थ्य शिक्षा पढाउने रहेछन् ।

दोश्रो दिन पनि उहाँहरु कक्षामा आउनु भयो । मलाई यो कुरा झलझली आउँछ । शुरुमा उहाँले हात कसरी सफासँग धुने जस्ता स्वास्थ्य शिक्षाका आधारभुत कुराहरु बडो सरल ढंगले बताउनु भयो । सुरुमा त मलाई के लाग्यो भने यस्तो कुरा लाहुरेले कसरी जानेको होला ? पहिलो दिन ब्लाक बोर्डमा चकले लेख्दा टेक बहादुर सरकार अक्षर हेर्न वल्लो पल्लो कोठाका विद्यार्थीहरु पनि आएका थिए । हुन त तिलक सर, भिम सरका अक्षर पनि निकै राम्रा थिए । तर, टेक सरकार लामा लामा ताँती मिलेका छड्के अक्षरले सबैलाई मोहित बनाउथ्यो । मैले त्यस्तै अक्षर लेख्ने प्रयास धेरै गरे तर सकिन । बेलायतको सडकमा कसैले चुरोटको ठुटो पनि फाल्दैन । अनि चकलेटको खोल पनि गोराहरुले सडकमा फाल्दैनन् । तोकेको ठाउँमा मात्र फोहोर फाल्नुपर्छ । बीचबाटोमै फोहोर फाल्ने ठाउँ फेला नपरे खल्तीमै राखेर लैजान्छन् । बिहानै बिहानै पानीले बाटो पखाल्छन भन्दा हामीलाई अचम्म लाग्थ्यो । यस्तो सुन्दा विस्वास लाग्थेन । जीवनमा पहिलोपटक टेक बहादुर आले सरको मुखबाट सुनेको हो । जुन कुरा हामीलाई एकादेशको कथाजस्तो लाग्थ्यो । हामी भने त्यतिबेला ग्रैह्राको सानो कुवाबाट अन्जुलीले उठाएर धमिलो पानी सुरुप्प पारिन्थ्यो, गाई गोरुले अनि हामीले पालैपालो पिउथ्यौं त्यो धमिलो पानी ।

यस्तै यस्तै कुराहरु अरुले धेरै सुनाइ राखेपनि हुन्थ्यो जस्तो लाग्थ्यो । बेला–बेला कक्षामा उहाँले यस्ता कुरा सुनाइरहनुहुन्थ्यो । एकपटकको कुरा हो । कक्षा ६ मा पछाडि बस्ने एकजना कसैले नाकबाट सिगान निकालेर हातमा खेलाएको देख्नु भएछ । उसले निगालाको सिप्कनो दह्रोसँग खायो । सायद उसले त्यस्तो काम त्यसपछि कहिल्यै गरेन । केही दिन पछि उहाँले नाक कोट्याउने, सिन्कोले कान कोट्याउने, नङले दात कोट्याउने गर्दा रोग कसरी सर्छ, अनि त्यस्तो गर्दा अरुले के सोच्छन भन्ने कुराको लामो फेहरिस्त चित्रै बनाएर सुनाउनुहुन्थ्यो ।

पश्चिमा संस्कृति र चाल चलनको बारेमा आफैँले भोगेर विद्यालयमा हामीलाई शिक्षा दिने र कितावमा लेखिएका कुराहारु आफूले व्यवहारमा लागु गर्ने टेक बहादुर सर, पैंयु खोलाको एक सरल इमान्दार र कर्तव्यनिष्ठ खम्बा हुनुहुन्थ्यो । हाम्रो समाजको एउटा अचम्मको चलन कस्तो छ भन,े जिवित छंदा जति सुकै राम्रो काम गरेपनि उँछितो काढ्ने र मरेपछि देवत्वकरण गर्ने । थोरै बोल्यो भने ठालु पल्टियो र अलि बोल्यो भने बढी जान्ने भयो भन्ने । कुनै पनि व्यक्तिलाई जीवित छदैं उसले गरेको कामको मूल्यांकन गरेर उ जिविति छदैं सम्मान गर्न सके कति राम्रो हुनेथियो ।

पातलो जीउ, सधै सफा सुग्घर रहनु पर्ने, कपडामा आइरन लगाएर धार पार्नुपर्ने एउटा हसमुख समाजसेवी हुनुहुन्थ्यो उहाँ । अलि पछि थाहा भयो उहाँ त डाक्टर पो हैछ । डाक्टरी पढेर एम बिबिएस नगरे पनि उहाँ स्वास्थ्य क्षेत्रमा अब्बल हुनुहुन्थ्यो भन्दा फरक पर्दैन । जब उहाँले मर्दी खोलामा क्लिनिक राखेर बिरामीको हेरचाह गर्न सुरु गर्नुभयो । अनि माहोल नै अर्कै भयो । टाढा टाढा बाट पनि बिरामीहरु आउन थाले । मध्यरातमा धरमपानी, बानिडाँडा, भुर्तेलथोक, धरादी, करादी, धाउँदा कहिलेकाँही त उहाँ स्कुल आउँदा अति थकित देखिनुहुन्थ्यो । बिहान सबेरै नउठ्ने उहाँको बानि थियो । हरेक दिन नुहाउनु पर्ने, चियाको पारखी, साह्रै मिलाएर कपडा लगाउनु पर्ने उहाँको बानी अलि विशेष प्रकारको थियो । ‘ओछ्यानमै चिया चाहिन्छ माइला बाबु उहाँलाई’ एकदिन बिहानै के कामले हो बा’ले टेक बहादुरलाई भेटेर आइज भनेपछि म उहाँको घर गएको थिए । उहाँको घर जाँदा काकीले भनेको सम्झन्छु, उठेर जिउको सरसफाइ पछि फेरि चिया पिएर बल्ल मर्दी खोला झर्ने । त्यतिबेला सम्म क्लिनिकमा बिरामीको भिड जम्मा भइसकेको हुन्थ्यो । नजिकैको पसलबाट चिया मगाएर उयहाँ बिरामी जाँच्न सुरु गर्नुहुन्थ्यो । ‘औषधि किन्ने पैसा छैन हजुर’ भनेर कतिपटक बिरामीले भन्दा उहाँले पछि पछि दिदैँ गर्नु भनेर औषधि दिएर पठाउनु हुन्थ्यो । पछि पछि भनेको पैसा दिनु पर्दैन, भन्ने अर्थ लाग्थ्यो उहाँको आसय । गाउँको क्लिनीक उधारो औषधि बाड्ने अनि बेला बेला पोखरा गएर पेन्सन थाप्ने र औषधि किनेर ल्याउथे । जाँदा जाँदा पनि सकेसम्म आफन्तकोमा नबस्ने अरुलाई दुःख नदिने बरु होटलमै पैसा तिरेर बस्ने उहाँको बानी थियो ।

क्लिनिकमा धेरै समय दिनुपर्ने भएकोले होला सायद उहाँले पछि स्कुलको शिक्षण पेशा छाड्नु भयो । मेरो सम्पर्क उहाँसग तीन चरणमा भयो । पहिले उहाँले पढाउनु भयो । त्यसैले टेक सर भन्न थालियो । शुरु शुरुमा नजिक जान पनि निकै डर लाग्थ्यो । जानै प¥यो भने पनि सर्तक भएर, सर्टको टाक मिलाएर, हातको पोजिशन मिलाएर जाने गरिन्थ्यो । कही कोट्याउने, कन्याउने गरियो भने फेला परिन्थ्यो । दोश्रो चरणमा राजनीति तथा सामाजिक सम्बन्ध रह्यो । हटियाको स्कुल सकेर कक्षा ८ पढ्न त्रिवेणी लागेपछि उहाँसँग राजनीतिक छलफल बढि हुनथाल्यो । २०३६ सालको राष्ट्रव्यापी विद्यार्थी आन्दोलनले बोकेखोलाको निर्मल जनसेवा माविको वातावरण राजनीतिमय भयो । मेजर भिम बहादुर राना स्कुलको संचालक समितिको अध्यक्ष हुनुहुन्थ्यो । हामी स्कुलमा स्वतन्त्र विद्यार्थी युनियन खोल्यौं । केहि दिन समेत पढाइ ठप्प भयो । माहोल निकै टवकरावपूर्ण भयो । यसको कथा अलि लामो छ, यहाँ सबै व्याख्या गर्न सान्दर्भिक पनि छैन । मात्र कुरा के भने म आन्दोलनको नेतृत्व पंक्तिमा भएकोले मेजर बा ले सम्बन्धले आफन्त भएकोले टेक बहादुर आलेसँग कुरा गर्नु भएको होला ।

त्रिबेणीको स्कुलको आन्दोलन र स्व.वि.यु खारेज गर्ने सम्बन्धमा धारणा बुझ्न, कुरा गर्न उहाँले ‘घरमा आउ’ भनेर बोलाउनु भयो । किन मलाई यसपटक यो विषयमा कुरा गर्न उहाँको घरमा जान मन लागेन । कुरा एक कान दुई कान अनि मैदान हुँदै बोके खोलाको स्कुलसम्म पुग्यो भने साथीहरुले ‘गद्दार’ अनि ‘धोकेबाज’ भन्न बेर लाउँदैनथे । १–२ महिनामै स्कुलको मात्र हैन, मुलुककै कायापलट गरिन्छ भन्ने लाग्थ्यो त्यतिबेला । हजुरको घरमा त हुँदैन भन्यो भने फेरि घरमा बा को खप्की खानुपर्ने । एक्लै कुरा गर्न जानु भन्दा कुनै साथीलाई लिएर जाँदा उपर्युक्त हुने लागेकोले बालकृष्ण न्यौपानेलाई भनेर उनीमार्फत पुलामुनिको भट्टीमा बेलुकी पख भेट्ने सल्लाह भयो । ठ्याक्कै मिति सम्झना भएन साल भने २०३६ हो ।

पर्वत जिल्लाको पंचायतको उपसभापति काशिनाथ न्यौपाने त्यतिबेला हुवासमा मात्र हैन सिंगो भेकमा चर्चाको शिखरमा हुनुहुन्थ्यो । बालकृष्ण न्यौपाने उहाँको छोरा अर्थात निर्दलीय पंचायतका घोर विरोधि, मेरा एक असल मित्र । स्कुलको आन्दोलन बालकृष्णको बुबालाई पनि ठूलो टाउको दुखाइको विषय भएको थियो । जिल्लाबाट सीडिओले हैरान पाथ्र्यो रे । साह्रै भएर होला एकपटक त बालकृष्णलाई घरै जान गाह्रो भएको कुरा गर्नु भएको थियो । उहाँको मन राख्न पनि कुरा गरियो । आलेसर सँग कुरा मिल्ने अवस्था थिएन, मिलेन । तै पनि उहँले चित्त दुखाउनु भएन । करिब डेढ घण्टाको बसाइमा ५ कप चिया पिउनु भयो उहाँले । साह्रै भएर ओला मन बहादुर पुलामी बा ले छैटौ चिया कपको मागलाई घुमाउरो पाराले दूध छैन भनेर टार्दिनु भयो । हाम्रो कुराले कुनै सकारात्मक मोड लिने सम्भावना थिएन र लिएन पनि । ‘जनैले खानि राजाले हार्छ, हजुर किन ढिपी गर्नुहुन्छ ?’ बालकृष्णले जंगिएर बोलि हाले । बालकृष्णको ‘जनैले खानी भन्ने’ कसम सुनेपछि उहाँले पनि ‘ सुर्यचन्द्र आकाशमा छउन्जेल राजतन्त्र फाल्छु भनेर कोशिष नगर्नु’ विस्तारै अर्को दनक दिनु भयो । एकछिन मौनता छायो । राजा विरेन्द्रले निर्दलिय पंचायती व्यवस्था वा बहुदलिय शासन व्यवस्था भनेर रोज्नेमा जनमत संग्रहको चुनाव गराउने घोषणा भर्खर गरेका थिए ।

मेजर बा, बालकृष्णका बा, आले सर लगायत धेरैलाई निर्दल बिरोधी गतिबिधि बढेकोमा ठूलो टाउको दुखाइको विषय थियो । युवाप्रति आले सर धेरै सकारात्मक हुनुहुन्थ्यो । हाम्रो कुरा नमिले पनि फेरि फेरि भेटौं ह,ै भन्नु भयो उहाँले, त्यो दिन बिदा भइयो । अलि पर पुगेर फेरि बोलाउनु भयो । ‘जिल्ला वारेन्ट काट्न सक्छ मैले अलि अलि सुनेको छु, सर्तक रहनु ।’ राजतन्त्रात्मक देश बेलायतबाट प्रशिक्षित भएर होला सायद टेक बहादुर सरले त्यतिबेला निर्दलीय पंचायती व्यवस्थाको पक्षमा र खासमा अझै भन्नुपर्दा राजतन्त्रप्रति उहाँमा ठूलो सम्मान थियो । बेलायती जनताले एकपटक फालिसकेको राजतन्त्रलाई किन फेरि ससम्मान स्थापित गराए भनेर उहाँ राम्रै व्याख्या गर्नुहुन्थ्यो । बेलायती फौजको सिपाही भएर पनि राजनीतिक चेत उहाँमा राम्रो थियो । जो कोहीमा त्यतिबेला त्यस्तो राजनीतिक ज्ञान हुँदैनथ्यो । हाम्रो बिचमा राजनीतिक समझदारी हुन नसकेकोमा उहाँ गम्भीर हुनुहुन्थ्यो ।

२०३६ सालको विद्यार्थी आन्दोलनको राँको देशैभरी फैलियो । सीडिओ कार्यालयले म लगायत केही साथीहरुलाई वारेन्टको म्याद गुजार्ने निधो गरियो । जाने कुरा पनि भएन । एकजना हवल्दारको कमाण्डमा ५ जना पुलिस दिनभरी स्कुलमा र अर्थुन बजारमा मार्च पास गरिरहन्थे । दिनेशलाई पक्रेछ । कुश्मा लैजाने भनेर खोर पोरखा पु¥याएको रहेछ, ‘पिसाबले च्याप्यो’ भनेर अलिकति कान्लामा झरेको पुलिसको आँखा छलेर भागेछ । जहाज चलाउने पाइलट बनाउँछु भनेको ८ कक्षामा पढ्दै गर्दा राजनीति गरेर पक्राउ पुर्जी पायो भनेर घरमा बाले भन्न थाल्नु भयो । आन्दोलनको ताप, नशामा भिजिसकेको थियो । बहुदललाई जिताउन कम्मर कसेर लागियो ।

एकदिनको कुरा हो, खोरपोखरामा आमसभा सकेर मर्दीखोला आइपुग्दा रातको झण्डै १० बजेको थियो । अन्नमस्टी अँध्यारो थियो । घर जान केही उज्यालो पाइन्छ की भनेर पुलामी बाजेको घरमा पसेको टेक बहादुर, प्रेम बहादुर धन बहादुर बाजे लगायतको समुह त्यहि रहेछ । अरु सायद रक्सि पिउँदै थिए, टेक बहादुर चिया सुर्काउँदै थिए । अव परेन पासो ! बेकारमा यता पसिएछ भन्ने लाग्यो ।’ ‘तिमीलाई काशिनाथले भेट्न खोज्नु भाछ, भोलि बेलुकातिर ४ बजेतिर चिसोपानीमा आउनु’ भन्नु भयो । ठूला मान्छेले बोलाएको कुरा कसरी नाइनास्ती गर्नु । भोलीपल्ट भोर्लेमा कार्यक्रम थियो । एकपटक बालकृष्णसँग पनि सल्लाह गर्छु, भोली अलि फुर्सद छैन । बासँग होस्राङदी तिर ‘जाप पुक’ लाउन सँगै जान पर्छ रे ’ कुरो बनाइयो । ‘ल ठिकै छ २–३ दिन भित्र जसरी पनि भेट्नु है’ भन्नु भयो । ‘सरक्क घर जाउँ बाहुन अनेक लंठामा नलाउ’ भनेर प्रेम –कान्छा) बाजेले भन्नु भयो । पुलामी बाजेसँग लाइट मागेर घर लाँगे ।

त्यसको ३–४ दिनपछि काशिनाथले बालाई जसरी पनि छोरालाई भेट्न पठाइदे भनेर खबर पठाउनु भएछ । खोलाको जिउँदो मान्छे हो । लबस्तरो छैन एकपटक भेट्न जा भनेर बाले कडा आदेश गर्नुभयो । ए राम ! अब फेला परियो भन्ने लाग्यो । विद्यार्थीको हुलको विचमा भए त मज्जाले थर्काइन्थ्यो । एक्लै काशिनाथसँग कहिल्यै कुरा गरेको थिएन । एकपटक बालकृष्ण सँग गएर उनको घरमा भात खाएको थिए । त्यतिबेला उनी घरमा थिएनन् । पुलामीको चिया पसलमा भेट्ने रे, भनेपछि के के होला भनेर मनमा अनेक तर्कना खेल्यो । जे त पर्ला साथीका बाउ त हुन भनेर जाने सोँचे । लामा काला जुँगा, अग्लो शरीर सेतो पाइण्ट धर्के सर्ट लगायतका उच्च व्यक्तित्वका धनी काशिनाथलाई भेट्ने वित्तकै ‘वुवा नमस्कार’ भने र उनले ‘बाबु यता आउ त’ भनेर चिया पसलेको पछाडि लगे । ‘ हेर, म टेक बहादुर, दानकाजी, नेकर्गा मन बहादुर ( अरु को को हुन मैले नाम बिर्से ) लगायत यो भेकका सबै मिल्ने हो भने निर्दलले जित्छ । तिमी भविष्यको नेता हौ, बाहिर पढ्ने व्यवस्था मिलाउनु पर्यो भने पनि म छदैछु चिन्ता नगर्नु । एकपटक वालिङ हुँदै खसेउली, नारनघाट अनि पोखरासम्म घुमेर आउ । निला झण्डा र पहेला झण्डा कुन धेरै छन गन्नु । फर्केर आउँदा निला झण्डा धेरै देखेउ भने म पनि तिमीसँगै बहुदलको प्रचरा गर्छु । बाटा खर्चको व्यवस्था हाललाई १० जति जिल्लातिर मिलाइदिउँला । १ जना साथी चाहिन्छ सँगै जाने । म टेक बहादुरसँग कुरा गर्छु उनलाई धेरै बाहिरी कुरा थाहा छ । अरु बाँकी कुरा उनीसँग म भोली कुश्मा गएर गर्छु ।’ यति कुरा गरेर उहाँ हिडी हाल्नु भो । मैले आफ्नो कुरा राख्नै पाइन । त्यतिबेला ठूला मान्छेहरु आफू भन्दा सानाको कुरा सुन्दैनथे र महत्व पनि दिदैनथे । तुलनात्मक रुपमा अन्य ठूला बडाहरु भन्दा काशिनाथमा अलि पृथक गुण थियो । अनि तल्लो जातको भनिनेहरुलाई खेलाडी र विद्यार्थीहरुलाई अलि बढी माया गर्ने र गपगाफ पनि गर्थे । विरेन्द्र च्यालेन्ज शिल्ड प्रतियोगितामा हाइजम्पतर्फ जिल्लामा म दोश्रो बन्दा उनले मलाई कुश्माको बडाचौरमा बोकेर २ फन्को लगाएका त्यो घटना कहिल्यै विर्सन्न ।

भोलिपल्ट टेक बहादुर भेट हुनु भयो । मैले काशिनाथ वुवाले भनेका कुराहरुको बेलिविस्तार लगाए । उहाँले यस कुरालाई खासै महत्व दिनु भएन । तर कुरा भने रमाइलो मानेर सुन्नु भयो । यो कुरा पछि त्यत्तिकै सेलायो । राजाको हातमा सबैचीज भएकोले बहुदलको भविष्य छैन । अब निर्दलले जितेपछि क्षेत्र बहादुर मन्त्री बन्ने र गाउँको विकासमा योजनाहरु ल्याउन सकिने आदि इत्याहि कुराहरु भए । बरु तिमिले चाहेमा इच्छा गुरुङसँग भेट गराइदिन्छु समेत भन्नु भयो । (स्मरण रहोस ः त्यतिबेला राष्ट्रवादी विद्यार्थीको मण्डलको दबदवा थियो र त्यसको पर्वतको अध्यक्ष ईच्छा गुरुङ थिए)

यो भयो २०३६ को कुरा । जनमत संग्रहको परिणाम राजको इच्छा अनुसार भयो । जो हुने वाला नै थियो । हामीलाई लाग्यो निर्दलमा त्यस्तो समर्पण भएको मान्छे अब टेक बहादुर सरलाई अलि अलि अवसर मिल्छ होला । त्यस्तो कहाँ हुनु ? उहाँको दैनिकीमा कुनै वदलाव आएन, न त उहाँ कुनै नेताको पछि नै लागेर कुश्मातिरै अल्झनु भयो । बिरामी जाँच्ने, बिहानदेखि बेलुकासम्म चिया पिउने सकेसम्म अरुलाई पनि चिया खुवाउने र पैसा आफैले तिर्ने । पेन्सन बुझ्न पोखरा जाने । औषधि किनेर ल्याउने तर १ किलो पनि आफूले नबोक्ने । भोलिपल्ट औषधि ल्याउन मान्छे खोजेर वालिङ पठाउने । त्यसविचमा उहाँको बुवाको पनि मृत्यु भयो । छोराहरु रमेश र गिरी सानै थिए । घरमा हल गोरु, भैसी र बाख्राहरु थिए । मंसिर लाग्थ्यो, असार लाग्थ्यो । खै उहाँलाई कहिल्यै लागेन । किसान परिवार १ डोको घाँस काटेको, खेत खन जोत गरेको, रुख चढेको घाँस झारेको हामीले देखिएन । अन्जुलाई विहे गरेर दिएपछि त झन काकी एक्लै हुनु भयो । आखिर स्वभाव र बानीको कुरा पनि हो । ‘ सरलाई काम लगाउनुस काकी’ एकपटक मैले भनेको थिए । तर, कार्कीले उहाँले कहिल्यै नगरेको बताउनु भएको थियो । उहाँलाई भेट्न जानुप¥यो भने मर्दीखोलाका २–४ वटा चिया पसल चहार्ने । एउटा न एउटामा उहाँ फेला पर्नुहुन्थ्यो । सुरु सुरुमा क्लिनिक संचालन गर्ने तरिका पनि उतै बेलायती शैलीमा जस्तै टाइममा खोल्ने र टाइममा बन्द गर्ने अनि बिरामी पनि त्यसरी नै जाँच्ने सोच्नुभाथ्यो होला । तर, गाउँको कुरै भिन्दै । खाँदा खाँदै पनि कोही आयो भने दौडी हाल्नु पर्ने । आफूलाई अभ्यस्त पार्न पनि मेहनत गर्नुपर्ने भयो उहाँले ।

२०३६ साल देखि २०४६ सम्म मर्दी खोलामा कति पानी बग्यो होला ? त्यसको कुनै लेखा–जोखा कसैले राख्ने कुरा भएन । तर, मुलुकको राजनीतिमा देखिएको मात्रात्मक रुपान्तरणको हिसाब किताब भने उहाँले राख्नु भएको थियो ।

२०४५ सालसम्म झण्डै दिनहुँजसो उहाँसँग मेरो भेट हुन्थ्यो । जब म स्नातक अध्ययनका लागि काठमाडों हिंडे । अनि भेट स्वभाविकै रुपमा पातलियो । राजतन्त्रको पक्षपाती भएपनि निर्दलले जितेपछि २०६८ सालदेखि उहाँमा राजतन्त्र, निर्दलप्रतिको मोह टुटिसकेको थियो । तर, ति सबै कुराहरु अव्यक्त थिए । मैले त्यसको छनक पाइसकेको थिएँ । उहाँले म सँग धेरै कुराहरु सेयर गर्नुहुन्थ्यो । भन्नुहुन्थ्यो, ‘तिमी मेरो विद्यार्थी भएपनि राजनीतिको गुरु जस्तै हौं ।’ उहाँले त्यसो भन्दा कता कता अप्ठ्यारो लाग्थ्यो मलाई । किनकी आफूलाई पढाएको गुरुसँग हात सम्म मिलाउनु पनि हामीलाई ढुंगा चपाउनु सरह थियो ।

२०५० सालतिर होला सायद, भिमसरले म सँग हात मिलाउनु भयो, हटियाको स्कुलमा । मलाई दिन भरिनै भारी भइरह्यो । मैले असहज मान्दा मान्दै पनि २०४६ सालपछि टेक सरले हात अगाडि बढाउन थाल्नु भयो ।

२०४६ सालमा राष्ट्रव्यापी रुपमा जनआन्दोलन भयो । म काठमांडु जानुभन्दा पहिला देखिनै मैले उहाँ सँग नेकपा (मसाल) को राजनीतिक लाइनबारे धेरैपटक छलफल र बहस गरेको थिए । कहिले एक्ला एक्लै र कहिले अन्य साथीहरुसँग । राम प्रसाद काफ्ले, लmक्ष्मणपुरी, हिमालपुरी, टकलाल भिमलाल न्यौपाने, चण्डी भुर्तेल, खेम भुर्तेल, खगेन्द्र भुर्तेल, बालकृष्ण थापा, जीवन सेन, कृष्ण श्रेष्ठ लगायतका साथीहरुसँग भेट भइरहन्थ्यो । मर्दी खोलामा झरेपछि चिसापानी जाने की अर्थुन जाने भन्ने कुरा हुन्थ्यो । फर्किदा राति हुन्छ भन्ने कुरा बिहाँन घरबाट हिड्दा नै थाहा पाउने अनि टर्च लाइट लिएरै झर्ने बिहाँन । उज्यालो बेलामा त उहाँ घरमा कहिल्यै निस्के जस्तो लागेन मलाई । जनआन्दोलनको दौरानमा काठमाडौंबाट थुप्रै किताव र प्रगतिशील पत्रपत्रिकाहरु उहाँका लागि पठाएँ । ती कितावहरु सबै शिरदेखि पाउसम्म पढ्नु हुन्थ्यो । कतै बहस गर्नुप¥यो भने लेखिएका कुरा सिद्धान्तमा ढालेर बिस्तारै बहस चलाउनु हुन्थ्यो । उहाँको राजनीतिक लाइनसँग असहमत हुनेहरुले टेक बहादुरले सिद्धान्तलाई छेपाराले रुखको हाँगो च्याप्प समाए झै गर्छन’ भन्थे । बिचार नमिलेपछि कसैले त्यसो भन्यो भने पनि राजनीतिक सोँच भएको व्यक्तिले त्यसलाई सहज रुपमा लिन सक्नुपर्दछ । त्यो कलामा आले सर पोख्त भैसक्नु भएको थियो ।

२०४७ सालको जेठ महिनातिर हुनुपर्छ । मैले काठमाडौंबाट झण्डै ९ पेजको एउटा चिठ्ठी लेखेर पठाए । चिठ्ठीमा अबको हाम्रो राजनीति बाटो के हुने भन्ने थियो । ‘चिठ्ठी पढे, केही कुरा अलि बहसबाट बुझिने खालको रहेछन, मैले मसालमा कामगर्ने भए तिमी पनि काठमाडौं छाडेर यतै बस्नेगरी आउँनु’ भन्ने व्यहोराको जवाफ लेखेर पठाउनु भएको थिया आले सरले ।

मोहन विक्रमले गद्दार पुष्पलाल भन्ने किताव पढ्दैछु भनेर पनि लेख्नु भा रैछ । २०४७ सालको जनआन्दोलन दरबारसँग भलाकुसारी गरी सानो मात्र उपलब्धिमा टुंगियो । नेपाली कांग्रेस र बाम मोर्चाले आन्दोलनबाट ठूलो उपलब्धि भएको घोषणा साथ आन्दोलन टुंगिएको घोषणा गरे भने मसाल सहितको मोर्चा संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपालले सम्झौता धोका हो भनेर वक्तव्य निकाल्यो । काठमाडौंको भुरुङ खेलमा मोहन बिक्रम सिंह र चित्र बहादुरले यो कारणले सम्झौता धोका भयो भनेर प्रशिक्षण दिए । त्यहाँ भएका बात सबै समेटेर टेकसरलाई फेरि चिठी लेखे । त्यो चिठ्ठी पनि छोटो थिएन ।

‘तिमी काठमाडौंमा बसेर राजनीति गर्ने, मलाई गाउँमा एक्लै छाड्छौं’ पटक पटक उहाँको गुनासो त्यहि हुन्थ्यो । यतिबेलासम्म नेकपा मसालका थुप्रै जिल्ला स्तरीय र केन्द्रीय तहका नेताहरुसँग उहाँको सम्पर्क बनिरहेको थियो । चित्र बहादुर केसीको सादगी जीवनशैलीसँग उहाँ निकै प्रभावित हुनुहुन्थ्यो ।

मुलुकमा बहुदलको आगमनपछि २०४८ सालमा भएको स्थानीय निर्वाचनमा हुवास गाविसबाट मलाई गाविस अध्यक्षको उम्मेदवार बनाउनु पर्छ भनेर उहाँले पार्टीमा राख्नु भएछ । मैले भने आलेजीलाई उठाउनु पर्छ भनेर केसी बा सँग कुरा गरेको थिएँ तर, उहाँलाई यो कुरामा मनाउन हामीले सक्तैनौं तपाइ सक्ने भए गर्नुस् केसीले भन्नु भयो । आलेजीलाई जिल्लामा पठाउने हो, त्यहि निर्णय भाछ भन्ने कुरा आयो । काठमाण्डौं बसेको बदला चुनावमा उठाएर लिने भए भन्ने लाग्यो मेरो मनमा । उम्मेदवारको दरखास्त दिने दिनसम्म पनि जसरी पनि आउनु पर्छ अरु कुरा माई थाहा छैन भनेर टेक सरले चिठ्ठी लेख्नु भाथ्यो ।

बोर्डिङ स्कुलमा पढाउने जागिर थियो । १ दिन छुट्टी दिनु पर्दा प्रिन्सीपल कृष्ण तिमिल्सिनाले आकाश खस्लाजस्तो गर्थे । पार्टीका कुरा बरु जसोतसो मिलाउन सक्छु तर टेक दाइलाई यो कुरामा सम्झाइ बुझाइ गर्न सकिदैँन । व्यक्तिगत सम्बन्ध पनि विग्रने भयो भन्ने सोचेर मन दह्रो बनाइ बसे । जसोतसो श्रीमतीलाई सम्झाइ बुझाइ गरी स्कुलको प्रिन्सीपलसँग आमा सिकिस्त बिरामी हुनुहुन्छ भनेर वालिङ जाने सुरक्षा यातायातको टिकट काटियो ।

दरखास्त दिने समय १ घण्टा बाँकी छँदा हटियाको स्कुलमा पुगे । राम्रा अक्षरले आफैँले लेखेर मेरो उम्मेदवारी फारम भरेर कुरी रहनु भएको रहेछ टेक सरले । सहि छाप लगाइयो । काम सकियो । अब यसरी बसेर हुँदैन, प्रचार प्रसारमा लाग्नु पर्यो भन्दै चुनावी प्रचारको खाका लेखेको कापीको पानमा देखाउनु भयो । त्यो रातको बास बानिडाँडा केश बहादुर गुरुङको घरमा बस्ने र अरु त्यो भेकको सबैलाई त्यही जम्मा हुने व्यवस्था मिलाइएको रहेछ । झण्डै १० जनाजति उकालो लागियो । २ दिनपछि चुनावको दिन मर्दिखोला झरियो । झिनो मतले महेन्द्र प्रताप सेनले जित्नु भयो । उहाँलाई बधाइ पनि दिइयो । चुनाव जित्नु भन्दा हाम्रो नीति जनतालाई सुनाउनु हो मत राम्रो आयो । तिमी १५ दिन पहिले आएर सबैको घरदैलो एकपटक टेक्न पाएको भए चुनाव जितिने रहेछ । भनेर मसँग धेरैपछि सम्म पनि उहाँले गुनासो गरिरहनु भयो ।

२०५५ सालमा अध्ययनका निमित्त कृष्ण काठमाडौं आएपछि हामी सँगै बस्यौं । माओवादीसँग सँगै बस्ने हुँदा पार्टीको गोपनियता नरहने भन्दै मसालले मलाई बिना कुनै कारण कारबाही गर्यो । यस्तो हास्यास्पद कुर्तकपूर्ण कारबाही पछि मसालमा बसेर मुलुकमा आमुल परिवर्तन ल्याउने कुरामा मलाई विस्वास रहेन । अब उप्रान्त मसालसँग मेरो राजनीतिक सम्पर्क हुँदैन भनेर मैले त्यो कुरा आले सरलाई पनि भने । उहाँ निकै नै मर्माहत बन्नु भयो । त्यसपछि मैले उहाँलाई कहिल्यै माओवादीको राजनीतिक लाइनमा कन्भिन्स गर्ने प्रयास गरिनँ । उहाँ निरन्तर लागि रहनुभयो । जिल्ला पार्टी प्रमुख हुँदा पनि उहाँ होटलमै बसेर आफ्नो खर्च खाएर राजनिितमा समर्पित बन्नु भयो । मैले मेरो रजनीतिक जीवनकालमा २ जना विशिष्ट गुण भएका मान्छेसँग संगत गरे । टेक बहादुर आले राम प्रसाद काफ्ले । यी दुवैजनामा भएको साझा गुण त्याग समपर्ण र स्वार्थ रहित राजनीति सबैको होस त भन्न सकिदैन तर राजनीति आफ्नै ठाउँमा हुँदा हुँदै पनि सामाजिक काममा समेत उहाँ अग्रसर हुनुहुन्थ्यो । जनसेवा संस्कृति माविलाई ८ कक्षाको स्विकृति दिलाउन मकैका झोती संकलन गर्न डाँडा काहुँमा राति राति हिड्दा उहाँमा देखिएको जाँगर अविस्मरणीय छ । टेक बहादुर कम बोल्नुहुन्थ्यो धेरै सुन्नुहुन्थ्यो । होहल्लामा कम विस्वास गर्नुहुन्थ्यो भने बिचार र सार पक्षलाई पक्रने र रुप पक्षलाई गौण महत्व दिने द्धन्द्धवादको विज्ञानलाई उहाँले बुझनु भएको थियो । सादा जीवन शैली र राजनीतिक विचारमा दृढ टेक बहादुरले देखाएको असल बाटोलाई अनुशरण गर्नु बाँचेकाको कर्तव्य हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) द्धारा सन्चालित धुर्मुस

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

लालबहादुर ढेंगा, दुबई, युएई । राहदानी बिभागले हाल बिद्युतीय राहदानी (भ(एबककउयचत) जारी गर्ने कार्यको

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक

काठमाडौं । इटहरीका चर्चित मेयर द्धारिकालाल चौधरी पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा भने नराम्रोसँग पराजित भएका