back
CTIZAN AD

प्रचारप्रसारको अभावमा सौन्दर्यले भरिपूर्ण सुनदेवी ताल ओझेलमा

वि.सं.२०८१ माघ १८ शुक्रवार

810 

shares

कञ्चनपुर । कञ्चनपुरको चुरे पर्वत शृङ्खलाको घना वन क्षेत्रको बिचमा अवस्थित सुनदेवी ताल निकै मनमोहक छ । सूर्यको किरण तालमा पर्दा ताल पूरै पहेँलो देखिन्छ । त्यसैले यस ताललाई सुनदेवी भनिन्छ ।

शुक्लाफाँटा नगरपालिका–८ मा पर्ने सुनदेवी ताल सौन्दर्यले भरिपूर्ण छ । वन क्षेत्रमा चिरबिर गर्ने विभिन्न प्रजातिका चराको आवाजले मन आनन्दित हुन्छ । हिँड्दै गर्दा नजिकबाट विचरण गर्दै गरेका चित्तल, बँदेल, बाँदर, दुम्सी र वन क्षेत्रमा उड्दै गरेका मयुर, लाटोकोसेरो, धनेसलगायत चरा देखेर प्रफुल्लित नहुने कोही हुँदैनन् । वन क्षेत्रमा फुलेका विभिन्न प्रजातिका फूलको सौन्दर्य पनि हेर्नलायक हुने गरेको छ । प्रचारप्रसार अभावमा यो क्षेत्र ओझेलमा परेको छ ।

यो क्षेत्रसम्म पुग्ने सडक अहिलेसम्म बन्न सकेको छैन । पैदल नै यो क्षेत्रमा पुग्नुपर्ने बाध्यता छ । पूर्वपश्चिम राजमार्गको वन समितिबाट आठ किलोमिटरको दूरी वातावरण मध्यवर्ती सामुदायिक वनसम्म सवारीसाधनमा जान गर्न सकिने भए पनि त्यसपछिको पाँच किलोमिटर दूरी भने पैदल नै तय गर्नुपर्ने हुन्छ ।

सडक यातायात अभावसँगै प्रचारप्रसारको अभावमा थोरै मात्र आन्तरिक पर्यटक र श्रद्धालु यस क्षेत्रसम्म पुग्दै आएका छन् । ४०० मिटर लम्बाइ र २०० मिटर चौडाइ भएको सुनदेवी तालमा रहेको पानी हावाको वहाबसँगै नीलो र पहेँलो रङको देखिने गरेको छ ।

तालको चारैतिर घना वन क्षेत्र भए पनि तालमा भने रूखबाट खसेका पात भने देखिँदैनन् । चारैतिर पहाडले घेरिएको यो ताललाई जतातिरबाट हेरे पनि चौडाइ र लम्बाइ ठम्याउन निकै मुस्किल हुन्छ । चुरे क्षेत्रका अधिकांश तालमा माछा पाइने गरे पनि यो तालमा भने पाइँदैनन् ।

ताल छेउमा स्थानीय बासिन्दाले पूजा गर्दै आएको सुनदेवीको पुरानो खुला आकाशमुनिको भगवतीको थान छ । थानस्थलमा सन् १६७३ का पुराना ठूला घण्टी राखिएकाले यो क्षेत्र प्राचीनकालदेखि नै धार्मिक क्षेत्रका रूपमा रहेको पुष्टि हुन्छ । ताल नजिकै रहेको सुनदेवीको थपनामा भाकल गरे निःसन्तानले सन्तान प्राप्त हुने जनविश्वासका कारण यस क्षेत्रमा नवरात्रका बेला भाकल गर्ने र बर माग्नेको घुइँचो लाग्ने गरेको छ ।

नवरात्र, दशैँ, तिहार, माघेसङ्क्रान्तिमा पूजापाठ र भाकलका लागि यहाँ भक्तजन पुग्ने गरेको स्थानीय समाजसेवी दुर्गादत्त भट्टले बताए । उनका अनुसार विवाह, व्रतबन्ध र ससाना नानीको कपाल मुण्डनका लागि भक्तजन यहाँ पुग्ने गरेका छन् ।

ओझेलमा रहेको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न सकिए यस क्षेत्रको विकासमा टेवा पुग्ने उनी बताउछन् । ‘ताल क्षेत्रसम्म पुग्ने सडक यातायातको व्यवस्था गर्न सकिए स्थानीय युवालाई गाउँमै रोजगारीका अवसर प्रदान गर्न सकिन्छ’, उनले भने, ‘त्यसका लागि स्थानीय तहले चासो दिनुपर्छ ।’

शुक्लाफाँटा नगरपालिकाका प्रवक्ता लालबहादु ऐर रमणीय यस पर्यटकीय क्षेत्रको विकासका लागि पहल गर्ने बताउँछन् ।

‘तालसम्म पुग्ने सडक निर्माण गर्न स्थानीय तहको बजेटले सम्भव नहुने भएकाले प्रदेश र संघीय सरकारलाई प्रस्ताव गर्छौँ’, उनले भने, ‘पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि योजनाबद्ध रूपमा अगाडि बढ्छौँ ।’ तराई क्षेत्रमा सवारीसाधनको प्रयोग गरी पुग्न सकिने सडक र चुरे क्षेत्रमा पदमार्ग निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकलाई पुग्न सकिने गरी कार्य गर्ने उनको भनाइ छ ।

तालको दक्षिणतर्फ करिब सात किलोमिटर टाढाको स्टेसनपुर क्षेत्र अङ्ग्रेजहरूले काठ ओसार्नका लागि रेल स्टेसनका रूपमा प्रयोग गर्ने गरेकाले त्यो क्षेत्र एतिहासिक स्थानका रूपमा रहेको स्थानीय बासिन्दाको भनाइ छ । रेलको स्टेसन रहेको क्षेत्रलाई हाल स्टेसनपुर र अङ्ग्रेजले झण्डा गाडेको स्थानलाई हाल झण्डाबोझ नामले चिनिने गरेको छ ।

जङ्गबहादुर राणालाई अङ्ग्रेजले नयाँ मुलुक फिर्ता दिएपछि रेलका फलामका डण्डी हटाइएका यहाँका बूढापाका बताउँछन् । अझै पनि जङ्गलका बीचमा रेल कुदाउनका लागि बनाइएको पगडण्डीका बिचमा राखिएका काठ देखिने गर्छन् । रासस

वि.सं.२०८१ माघ १८ शुक्रवार ०८:५८ मा प्रकाशित

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...