
स्याङ्जा । स्याङ्जाको विरुवा गाउँपालिकाले सँगुर, बंगुर ओसारपोसारमा रोक लगाएको छ । पुतलिबजार नगरपालिकाका विभिन्न ठाउँहरुमा बंगुर, सुँगुरमा लाग्ने अफ्रिकन स्वाइन फिबर फैलिरहेको भन्दै माहामारीको सम्भावित जोखिमबाट विरुवा गाउँपलिका क्षेत्रमा पालिएका बंगुर, सुँगुर बंदेललाई जोगाउन ओसारपसार पूर्णरुपमा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले जनाएका छन् ।
गाउँपालिकाले एक सूचना जारी गर्दै अफ्रिकन स्वाइन फिबरका रोगी पशुहरु र त्यस्ता पशुको मासु, र्याल, रगत, मलमुत्र, तिनिहरुको लसपसमा आएको दानापानी र रोग लागेका फार्ममा काम गर्दा लगाएका कपडा, जुत्ताचप्पलको सम्पर्कबाट सजिलै संक्रमण फैलिने हुँदा रोक फैलन नदिन सचेतना अपनाउन आग्रह गरिएको अधिकृत आचार्यको भनाई छ ।
फार्ममा जैविक सुरक्षाका विधिहरु अवलम्बन गर्ने, बंगुर सुँगुर पालिएका खोर र फार्म परिसरमा नियमित सरसफाई गरि चुना, ब्लिचिंग पाउडर, फिनेल, फर्मालिन जस्ता बजारमा उपलब्ध निःसंक्रमक रसायन प्रयोग गरि निःसंक्रमण गर्ने, अनावश्यक रुपमा अरुको खोर/फार्ममा नजाने, घरपालुवा बंगुर÷सुँगुरलाइ जंगली बँदेलको सम्पर्कमा आउन नदिने लगायतका सचेना अपनाउन पालिकाले सूचनामा भनेको छ ।
यस्तै होटल, रेस्टुरेन्ट, बधशाला, मासु पसलबाट निस्किने फोहोर खाना नखुवाउने, रोगको शंका लागेका पशुहरुलाइ बथानबाट छुट्टाएर अलग्गै राख्ने र तुरुन्तै विरुवा गाउँपालिकाको पशुपन्छी विकास शाखा वा भेटेरिनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, स्याङ्जामा खबर गर्न सूचना मार्फत पालिकाको आग्रह छ ।
वि.सं.२०८१ माघ २० आइतवार १५:४२ मा प्रकाशित