काठमाडौँ । २००७ साल देखि आज सम्म देशको राजनीतिले ‘देवत्व करण र घृणा’को खेती गर्न मात्र जानेछ । नेपाली काँग्रेसले बिपी कोइरालालाई संसारकै उनी संसारकै पालक थिए जसरी पञ्चायतका विरुद्ध ‘महामानव’ बनाए । बिपीलाई प्रजातान्त्रिक समाजवादी नेताको रूपमा परिचय बनेको भए उनलाई सायद सबै नेपालीले उत्तिकै मान्थे होला ।
राजाहरूको कुरै छोडौँ एक पेजको स्तुति नै हुन्छ । पञ्चायत कालमा त ठुलो फर्सी पनि राजाकै कारणले फलेको हो भनी मान्नु पर्थ्यो । फेरि आयो, बहुदलीय व्यवस्था । तब मदन भण्डारीलाई जननेतादेखि के मात्र पदवी हालिएन । प्रचण्डको पनि कुरै छोडौँ । माधव जी पनि आफूले आफै सबै भन्दा उत्तम नेता ठान्छन् । यी सबैले गरेका कामहरूको कसैले सम्झना गर्छ ? गर्दैन । राजावादीले बिपीको गाउँबाट विकास सहर आउनुपर्छ भन्ने मान्यताको कहिल्यै कुरा गर्छन् र ? राजा महेन्द्रले नेपाललाई संयुक्त राष्ट्र सङ्घको सदस्य बनाएर नेपाललाई अजिङ्गरको मुखबाट बचाएका हुन् । तर, काँग्रेस र कम्युनिस्ट कहिल्यै उनको प्रशंसामा बोल्छन् र ? मदन भण्डारीले बाम राजनीतिलाई संसदीय समाजवादको बाटोमा मुखरित गरेको कसैले याद गर्छ र ? अहिले फेरि अर्को चमत्कारिक ‘देवत्व र घृणा’को युग चलिरहेको छ ।
देवत्व र घृणा’को युग पुष्टि गर्ने केही दृष्टान्त
१. नेपाली समाजको परिवर्तनमा मौलिकता कहिले पनि आएनछ ! समाजको परिवर्तनमा केही पुराना विलय भएर केही नयाँ उत्पत्ति हुन्छ । यही क्रममा समाजको समकालीन चेतनाको निर्माण हुन्छ । जो आम मानिसको समकालीन मनोविज्ञानका रूपमा रहन्छ । तर, नेपालमा सबै कुरा अन्यत्रबाट टिपिएको रहेछ । न्याय प्रणाली अर्कैको, अर्थशास्त्र अर्कैको, राजनीतिक शास्त्र अर्कैको, प्रविधि अर्कैको र अब सोच पनि अर्कैको । सायद यो देवत्व र घृणाको संस्कृति पनि यही अरूको चोर्ने आदतकै फल हो ।
२. नेपाली राजनीतिमा नयाँ धारको विकास पुराना दलको सेवाको परिणाममुखी प्रक्षेपण (डेलिभरी)को असफलताले खोजेको थियो । तर, यसमा कसैको विमर्श सम्म भएन । जब अन्ना हजारेलाई दोहन गर्दै, जे मन लाग्यो त्यही बोल्ने, कटुतालाई राजनीतिको रणनीति बनाउने र साइबर प्रचारको दुरुपयोगबाट राजनीतिमा केजीवाल मार्ग जन्मियो र पश्चिमी प्रचारले विकल्पका रूपमा सिनेमा देखि चमत्कारका कथा सम्म लेखेर भारतीयलाई दियो, तब नेपालमा पनि विकल्पको अभियान जन्मियो । टिभीमा गाली गलौच र प्रहारबाट लामिछाने जन्मिए ।
केजीवाल र लामिछानेले राजनीतिमा हरेक शक्तिको निर्माण समाजका तत्कालीन अन्तर्विरोध, गति शक्ति, प्राथमिक आर्थिक वर्गको पहिचान, राष्ट्रको भूराजनीति र अन्तर्राष्ट्रिय परिस्थिति समेतको आलोकमा बनेको बिचारमा खडा हुन्छ भन्ने मान्यतालाई इन्कार गरेर ‘सस्तो लोकप्रियता र कस्मेटिक व्यक्तित्व स्वरूप’ राजनीतिको आधार हो भन्ने मान्यता स्थापित गरेर असफल पनि भए ।
३. पछिल्लो शताब्दीको दोस्रो र तेस्रो दशाब्दीको राजनीतिमा पश्चिमले आन्तरिक सूक्ष्म व्यवस्थापनलाई नै रेजीम वा सत्ता परिवर्तनको एउटा रणनीति बनायो र यसको सबैभन्दा प्रखर प्रकट जेलेन्स्कीबाट उदय गराएर गर्यो । ट्रम्पले अहिले यो बोलिदिए । जेलेन्स्की ‘पोल्यान्डमा लेख वालेन्सा र रसियामा बोरीस एल्सिन’को निर्माणको असफलताको पाठ थियो । कस्मेटिक ब्यतित्व बिचार हीन हुन्छ र उसको प्रयोग पपेटको रूपमा हुन सक्ने रहेछ । पपेटहरुको निर्माण शक्तिशाली राष्ट्रले आफ्नो स्वार्थका लागी गर्ने रहेछ । यो कुरा अब ‘पाँच सय बिलियन डलरको’ रेयरअर्थ खनिजको लागि जेलन्स्कीको बीउ २०१४को मैदान आन्दोलनबाट भएको रहेछ भन्ने अहिले खुल्यो । नेपालमा पनि यो प्रयोग हुन सक्छ किनभने नेपालमा युरेनियमको प्रचुर भण्डार छ ।
४.जेलेन्स्की पुर्व युक्रेनमा तीन विशेषता प्रकट थिए । भ्रष्टाचार, राजनीतिक कुसंस्कार र समाजमा जताततै घृणाको खेती । मैदान विद्रोहको पृष्ठभूमि थियो । यो खेलमा स्थापित राजनीतिको बिचार उन्मुलन पहिला गरिन्छ । राजनीतिक दलमा विदेशीहरूले प्रशिक्षण गर्दछन् । जुन नेपालमा पनि व्यापक भयो । यिनै प्रशिक्षणद्वारा ती राजनीतिक शक्तिको बिचार सुध्याइन्छ र तब तिनै राजनीति शक्तिप्रति तीव्र घृणा निर्माणको मार्ग निर्माण हुन्छ । अहिले नेपालमा त्यही हुँदै छ । तब कस्मेटिक व्यक्तिको निर्माण सुरु गरिन्छ । नेपालमा मधेसबाट एक जना निर्माण गर्ने प्रयास भयो र अर्बौँ खर्च भयो तर सम्भव भएन ।
५. अहिले नेपालमा चर्को घृणाको खेती हुँदै छ । यो खेतीमा रसियामा बोरीस यल्सिन जस्तै पहिलाको शासनमा मोज गर्नेको सङ्ख्या बढी थियो । नेपालमा पनि बहुदल छिरेर ३० वर्ष सत्ताको वरिपरि रहनेहरू अहिले घृणाको खेतीमा व्यस्त छन् । यिनीहरू कोही काँग्रेस, एमाले र माओवादी बनेर मेयर, संसद्, र मन्त्री भए । आज उनीहरू वर्तमान व्यवस्था असफल हुन आफूबाहेकका मात्र जिम्मेवार छन् भन्दै घृणाको खेती गर्दै छन् ।
सत्ताका प्राप्तिका लागि राजनीति : बिचार हीनतातर्फ दल
नेपालको राजनीतिक परिवर्तनमा २००७ साल देखि राजनीति आन्दोलनमा सरिक काँग्रेस, कम्युनिस्ट र २०४७ देखि संलग्न राप्रपा अनि २०६३ देखि बहुदलमा पसेको माओवादी कुनै शक्ति सङ्ग अहिले बिचारको अर्थ र महत्त्व छैन । मात्र सत्ताको खेल छ । त्यही कारणले नेतृत्वमा पितृत्व र देवत्व मात्र छ । यी बिचार स्खलित शक्तिहरू राजनीतिक परिवर्तनका असफल पहिलो धारका प्रतिनिधि हुन पुगेका छन् । २०६३ सालबाट केजीवाल प्रवृत्तिबाट जन्मिएका कथित वैकल्पिक शक्ति पनि असफल भए । बिचार होइन कस्मेटिक व्यक्ति राजनीतिको केन्द्र हो भन्ने ती शक्ति दोस्रो धार बने । यी दुवै र अहिले जन्मन खोजेको राजतन्त्र उदयको चाहना पनि राजनीतिमा बिचार हीन हस्तक्षेप नै हो जहाँ व्यक्ति प्रधान हुन्छ बिचार होइन । यी तिनै शक्तिको गन्तव्य स्थान एउटै हो । सत्ताको दोहन र मालिकत्व ।
यथार्थमा नेपाली समाजले खोजेको राजनीति व्यवस्था ‘विगत ७० वर्षको असफल युगबाट दिसान्तर हो’ जसका लागि स्पष्ट दर्शन, सिद्धान्त र कार्यमूलक रणनीति चाहिन्छ ।’ तब मात्र देशको उत्पादन र खपत प्रणाली, लगानीको प्रेरणा, शिक्षाको ढाँचा, स्वास्थ्यको सुदृढ पहुँच, भौतिक निर्माणको दीर्घ गुरुयोजना, व्यापारको बिस्तार र कूटनैतिक सम्बन्धले सही दिसा प्राप्त गर्दछन् ।
अबको राजनीतिक यात्राको एउटा मात्र लक्ष हुन्छ । त्यो हो राज्य व्यवस्थाको सञ्चालनमा (राजनीतिक र आर्थिक विकास प्रणालीमा) स्वतन्त्र नागरिकको प्रत्यक्ष सहभागिता । यो व्यवस्था नागरिक तन्त्र, जो यथार्थमा डेमोक्रेसी हो । अहिलेको संविधानले गरेको व्यवस्था त नेताको ‘पितृत्व र देवत्व’ अधीनमा रहेको दल तन्त्र मात्र हो । त्यसैले झुटो र भ्रामक प्रचार र अफवाहमा समय व्यतीत गर्न अब समय छैन ।
वि.सं.२०८१ फागुन १५ बिहीवार १६:२५ मा प्रकाशित






























