back
CTIZAN AD

जलवायु परिवर्तनको असर : सगरमाथा क्षेत्रमा खाद्य सुरक्षा र महिलाको पोषणमा चुनौती

वि.सं.२०८१ फागुन २४ शनिवार

660 

shares

सुवास दर्नाल, सोलुखुम्बु । सगरमाथा क्षेत्रमा परम्परागत रूपमा उब्जाइने गहुँ, जौ, फापरजस्ता अन्नबाली अब पहिलाजस्तो उत्पादन हुन सकेका छैनन् । मौसमको अनियमितता, तापक्रम वृद्धिको असर, बेमौसमी वर्षा तथा सुक्खा मौसमका कारण खेतीपाती प्रभावित भएको स्थानीय कृषकहरू बताउँछन् ।

स्थानीय महिला पासाङ ल्हामु शेर्पा भन्छन्, “पहिले यहाँ उवा, फापर प्रशस्त फल्थ्यो, अहिले खेतीयोग्य जमिन बाँझै छोड्नुपरेको छ । पानीको अभाव, माटोको उर्बराशक्ति घट्दै जानु र चरम मौसमी परिवर्तनका कारण बाली लगाउनै कठिन हुँदै गएको छ । खेती लगाउँदा पनि खासै पहिलाजस्तो उब्जाउ हुँदैन । त्यही भएर हामीले खेती लगाउनै छोड्यौँ ।”

सगरमाथा क्षेत्रका स्थानीय बासिन्दा जलवायु परिवर्तनको असरले प्रत्यक्ष रूपमा प्रभावित भइरहेका छन् । विशेषगरी यहाँका महिला तथा बालबालिकाहरू पोषण अभावको समस्याबाट जुधिरहेका छन् । जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा आएको गिरावटले खुम्बु क्षेत्रका नागरिक प्रभावित भएका छन् । अझ बढी यस क्षेत्रका महिलाको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । पोषणको अभावले गर्भवती महिलाको स्वास्थ्य कमजोर हुने जोखिम रहेको स्थानीय स्वास्थ्यकर्मीहरू बताउँछन् ।

सन्तुलित आहारको कमीले नवजात शिशुहरूको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्न सक्ने सम्भावना बढेको स्थानीय स्वास्थ्यकर्मी ङिमडोमा शेर्पाले बताए । उनका अनुसार स्थानीय उत्पादन घट्दै जानु, मौसम परिवर्तनका कारण पुराना खेतीप्रणाली असफल हुनु र आयातित खाद्य सामग्रीमा निर्भरता बढ्नुले यहाँका महिलाहरू थप समस्यामा परेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले केही समय अघि अजरबैजानमा आयोजित कोप सम्मेलनअघि सार्वजनिक गरेको प्रतिवेदनले हिमाली क्षेत्रको तीव्रगतिमा हिउँ पग्लिरहेको जनाएको छ । हिमाली क्षेत्रमा तापक्रम वृद्धिको दर अन्येत्रभन्दा बढी छ, जसका कारण हिउँ पग्लने गति तीव्र भएको छ ।

हिमाली क्षेत्रमा खेती उब्जाउमा भारी गिरावट आउँदै गएको खुम्बुको छुकुमका तेन्जिङ जाङ्बु शेर्पाको भनाइ छ । उनले भने, “मलाई नै थाहा हुँदासम्म पनि यो वरिपरि सबै ठाउँमा लेकाली जातको फापरहरू धेरै खेती हुन्थ्यो तर अहिले हेर्नुस् त सबै जग्गाहरू बाँझै छ, खेती हुनै छोडेपछि किन दुःख मात्रै गर्नु भनेर अब त लगाउन पनि छोडियो, खै थाहा हुनेहरूले यो जलवायु परिवर्तनको असर हो भन्छन्, तर यसलाई हामीलाई धेरै समस्यामा पारेको छ ।”

सगरमाथा आरोहीहरूले आधार शिविरमा छोडेका फोहरले पनि असर पु¥याएको छ । प्लास्टिक, खाद्यान्नका प्याकेट, तथा अन्य गैरजैविक फोहरले हिमनदीहरूमा सूर्यको प्रकाशको प्रभाव बढाएको जानकारहरूको तर्क छ ।

सगरमाथा क्षेत्रमा पर्यटन व्यवसाय फस्टाएसँगै यहाँको वातावरणमा भने प्रतिकूल असर परेको छ । पर्यटन व्यवसायी पासाङ शेर्पाका अनुसार पालिका तथा नेपाल सरकारले जतिसुकै कडाइ गरे पनि आरोहीहरूले केही मात्रामा भए पनि यहाँ आफ्नो सामग्री छोडेर फर्किन्छन्, जसले वातावरणीय असन्तुलन निम्त्याइरहेको छ । लुक्लाका स्थानीय बासिन्दा तोयाकुमार श्रेष्ठ भन्छन्, “सधैँ चाँदीझैँ टल्कने हिमालहरू अहिले काला पहाडमा परिणत भइरहेका छन् । आरोहीले छोडेका फोहर, औद्योगिक धुलो–धुवा र विश्वव्यापी तापमान वृद्धिका कारण हिमाली क्षेत्र थप जोखिममा परेको छ ।”

बाहिरी आँखाले हेर्दा खैरो हुँदै गएको मात्रै देखिए पनि जलवायु परिवर्तनले हिमाली क्षेत्रका नागरिकको दैनिकीमा नै परिवर्तन ल्याएको छ । समयमा हिमपात नहुँदा जमिनहरू सुक्खा हुँदै गएका छन् भने गर्मी हुने सिजनमा जाडो हुने र चिसो समयमा गर्मी महसुस हुने गरेको स्थानीय अमृत मगरले बताउनुभयो । खेतीबाली तथा पौष्टिक तत्वको आपूर्तिमा नै असर परेको उनको भनाइ छ ।

जलवायु परिवर्तनका कारण उच्च हिमाली भेगका महिलाको स्वास्थ्यमा दीर्घकालीन असर पर्ने सम्भावना देखिएको छ । वातावरणविद् डा राजन थापाका अनुसार शक्ति राष्ट्रहरूले चलाएका उद्योग र विश्वव्यापी तापक्रम वृद्धिले नेपालको हिमाली क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्दै गएको छ । हिमाली क्षेत्रमा पानीको स्रोत सुकेको, हिउँ पग्लदै गएको तथा मौसमी चक्र गडबड भएको स्थानीय बासिन्दाहरू बताउँछन् ।

महिलाहरू खाद्य सङ्कटको शिकार बन्दै गइरहेका छन्, जसले उनीहरूको आर्थिक तथा सामाजिक अवस्था कमजोर बनाइरहेको छ । जलवायु परिवर्तनका असरहरू रोक्न सामूहिक प्रयास आवश्यक रहेको साथसाथै फाउण्डेसनका अध्यक्ष एवं अभियान्ता प्रजिता कार्की बताउछन् । “हिमाली भेगका महिलाहरूलाई लक्षित गर्दै विशेष स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्नुपर्छ । वातावरणीय असन्तुलन न्यूनीकरणका लागि दीर्घकालीन योजनाहरू आवश्यक छ”, कार्की भन्छन् ।

स्थानीय तहका अधिकारीहरू तथा अन्तर्राष्ट्रिय संस्थाहरूले जलवायु परिवर्तन न्यूनीकरणका लागि विशेष योजनाहरू ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन् । परम्परागत बालीहरू संरक्षण गरी जलवायु परिवर्तन अनुकूल कृषि प्रणाली विकास गर्नुपर्ने विज्ञहरूको तर्क छ । उनीहरूका अनुसार जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न दीर्घकालीन रणनीति आवश्यक छ । साना किसानहरूलाई जलवायु अनुकूल खेती प्रणाली सिकाउने, सिँचाइका लागि वैकल्पिक उपायहरू खोज्ने तथा जैविक कृषिलाई प्रवद्र्धन गर्ने नीति आवश्यक रहेको कृषि विज्ञ चन्द्रमान श्रेष्ठले बताए ।

“हिमाली भेगको कृषि उब्जाउ घट्नुको मुख्य कारण नै जलवायु परिवर्तन हो, तर खेती भएन भनेर बारीहरू यतिकै बाँझो छोड्नु झन चिन्ताको विषय हो, अन्य विधिहरू अपनाउन सकिन्छ, अर्को कुरा रैथाने खेती उब्जाउ भएन भने अन्य विकसित प्रजातिहरू पनि लागउन सकिन्छ”, कृषि विज्ञ श्रेष्ठले भने । स्थानीय बासिन्दाहरूले जलवायु परिवर्तन अनुकूलनका लागि विभिन्न उपाय अपनाइरहेका छन् ।

टनेल खेती, जैविक मलको प्रयोग र पारम्परिक ज्ञानमा आधारित कृषि प्रविधिहरू प्रयोग गर्न थालेका छन् । तथापि यी उपायहरू दीर्घकालीन रूपमा पर्याप्त नहुन सक्ने र थप सरकारी तथा गैरसरकारी सहयोग आवश्यक पर्ने विज्ञहरू बताउँछन् । कृषि उत्पादनमा आएको गिरावट, खाद्य असुरक्षा, पोषणको अभाव र जलवायु परिवर्तनको दीर्घकालीन असरका कारण उनीहरूको स्वास्थ्य सङ्कट गहिरिँदै गएको छ । स्थानीय तथा अन्तर्राष्ट्रिय निकायहरूले एकजुट भएर समाधानका उपाय खोज्न आवश्यक रहेको विज्ञहरू बताउँछन् ।

 

वि.सं.२०८१ फागुन २४ शनिवार १५:४७ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...