back

सामान्तवादी घेरालाई तोडौं, गणतन्त्रको जनपक्षीय विकास गरौँ

वि.सं.२०८२ जेठ १५ बिहीवार

4.5K 

shares

आज बिहान भगिरथ दाई र मुना भाउजुलाई कोटेश्वर जाने पब्लिक बस चढाएर ओम अस्पताल छेउको तरकारी बजारमा के पसेको थिएँ, सामान किन्ने र सामान बैच्नेले भन्दै थिए, ‘आज अचाक्ली हँुदैछ गणतन्त्र फणतन्त्र जानेवाला छ ।’ मैले थोरै जवाफ लिन के खोज्दै थिएँ, छेवैको अर्को पसलेले भनिहाले ‘तपाईहरुले पंचायत र राजाको शासन भोग्नु भएन, बिचार राखेकै आधारमा पक्राउ परेका पचासौं नागरिकलाई उ त्यहि पर शिवपुरीमा खाल्टो खनेर पुरेको र हजारौंलाई आँखामा कालोपट्टी लाएर अमानवीय यातना दिएको तपाईहरुले थाहा पाउनु भएन की’ । मैले के थप्न खोज्दै थिएँ फेरी अर्की बहिनीले टिप्पणी गरिन् ‘जुन जोगी आएपनि कानै चीरेका ।’ उनले गणतन्त्र संघर्षबाट आएपनि नेताहरु धनी भएको, गुटवादी र परिवारवादी भएको तथा घरघरमा राजारानी र युवराज तथा राजकुमारी हुर्कन थालेको कडा कटाक्षे गरिन् ।

कोठामा आएर फेसबुक के हेर्दै थिएँ, मेरा आत्मीय मित्र तथा जनमुक्ति संग्रामका एक ईमान्दार योद्धा जीवलाल पंथी रेशमले वैचारिक प्रश्नसहित लेख्नुभएछ ‘सामन्तवादको अन्तसँगै पुँजिवादले आकार लिनु पथ्र्यो, हुन सकेन । खास गरि सामन्तवादकै गर्भमा दलाल पुँजिवाद विजारोपण भैसकेको थियो । गणतन्त्रको यो दिनसम्म आउँदा दलाल पुँजिवाद तिब्र रुपमा बिकास भएर गयो । न त सामन्तवादी उत्पादन सम्बन्ध रह्यो न त पुँजिवादी उत्पादन सम्बन्ध विकसित भयो । विरोधाभाष यहीनेर छ कि एक थरीलाई सामन्ति उत्पादन सम्बन्ध नै आजको मुख्य समस्या हो भन्ने लाग्छ, अर्को थरिलाई अबको बाटो समाजवाद नै हो भन्ने लाग्छ । यी दुवै सही हुन् जस्तो लाग्दैन । जनमत लिनलाई समाजवादको नारा दिनु मात्र वस्तुसंगत देखिन्न । आजको उत्पादन सम्बन्ध के हो, उत्पादन सम्बन्धको खास चालक शक्ति को हो ? सम्पूर्ण चिज आयात निर्भर छ भने उत्पादन सम्बन्ध कहाँ छ ? । जेजति उत्पादनका सेक्टर चलेका छन्, त्यहाँ उत्पादक शक्ती विशेष गरि कामदारको उपस्थिति अस्थिर प्रकारको छ । यस्तो अवस्थामा संघर्षको कार्यनिती के हुने, निशाना को हुने, राष्ट्रिय पुँजिवाद पहिलो कार्यभार हो कि होइन, हो भने समाजवाद मुखैमा आउन लागे जसरी जनता अलमल किन पार्ने?, त्यसैले दलाल पुँजिवाद मुख्य समस्या भनेर माने पछि पुँजिवाद र सामन्तवादको बिचको यो विशिष्ट अवस्थालाई एउटा चरणको रुपमा घोषणा किन नगर्ने ? नत्र दुवै थरीका दाविहरु छेउ न टुप्पोको हुन जान्छ र भएको पनि त्यहि हो । बहस होस् गणतन्त्रको शुभकामना’ जीवलाल जी को यो कामना गणतन्त्रको विबकासमा देखापरेको अकर्मन्यता चिर्नका लागी बहश नै हो पनि ।

हामी भित्रैका बिकृतिले होला, जनयुद्धका योद्धा कमरेडले गणतन्त्र ल्याउन जीवन उत्सर्ग गर्नुहुने महान शहिदहरुप्रति हार्दिक श्रद्धासुमन ब्यक्त गर्दै क. प्रकाशले लेखेका छन् ‘नयाँ राजाहरुको भष्म खरानी होस । हामी भरिया मजदुर, किसानले पनि यो गणतन्त्रको अनुभुती गर्न पाईयोस ।’ यो पनि निकै चोटीलो छ । त्यसैगरी हाम्रा गुरु आदरणीय याम दाईले लेख्नुभएछ ‘ दिवसको अर्थपूर्ण शुभकामना भनेर भन्दा पनि अनुभूति नै हुने गरि आधारभूत जनताका दैनिकीमा गुणात्मक खुशिका क्षण देखिने काम राज्यले गरे मात्र हुन्छ अन्यथा कुराका पोका मात्र हुने हुँदा सबैलाई यहि मर्मको शुभकामना छ ।’ वास्तवमा गणतन्त्र शुदृढीकरणको कोर्सका लागि यो निकै महत्वको शंदेश हो ।

बाल्यकालमा तत्कालिन शाही सरकारको ज्यादती आफैले भोगेकी हाम्री छोरी अस्मिता तिवारीले पनि आज निकै मार्मिक फेसबुक स्टाटस लेखिछन् । उनले भनेकी छन् ‘हो त नि, देश बिग्रिनुको कारण त गणतन्त्र रहेछ ! राजा फर्काएर त देश एकैछिनमा सिंगापुर बन्थ्यो जस्तो छ !!! अनि हिजोका ‘परास’ हरू जस्ता राजकुमारहरूले त सुनको तराजुमा नापेर शासन गर्थे कि ! के ग्यारेन्टी छ यस्ता राजकुमार फेरि जन्मँदैनन् ? साँच्चै बुझ्न मन छ भने, समस्या शासन प्रणाली होइन — समस्या हो भ्रष्ट नेता, घुसखोर अफिसर, अनि आफूलाई कहिल्यै दोेषी नठान्ने “सबैको दोष’ भन्दै हिँड्ने नागरिक ! देशका लागि राजा होइन, सिस्टम –सुधार र नागरिक सचेतता चाहिएको हो ।’

हो, अहिले पनि गणतन्त्रले गाँस, बास र कपासको हल गर्न सकेको छैन । सामाजिक न्याय प्राप्त हुन सकेको छैन । दुईवटा पासपोर्ट र नागरिकताधारीहरु तथा सहकारी ठगहरु, संस्थागत रुपमा कुर्सीलाई प्रयोग गरेर घटेका अनेकौ ठगी काण्डको बिगबिगी आँखाले हेर्न नसकिने खालको छ । पार्टी, सत्ता, गुट, उपगुट र कथित किचेनधारीहरुको नाममा एकलौटी अभ्यास नांगो रुपमा बढदो छ । भ्रष्टाचार, बेथीती र अराजकता चर्को छ । पछिल्लो आर्थिक संकटले मानिसको मष्तिष्कमा नकरात्मक तरंग प्रवाह गरेको छ । तर हामी यस्तो अवस्था किन आईपयो भन्ने कुरा सहि रुपमा संप्रेषण गर्न सकेका छैनौ ।
हामीलाई राम्रोसँग थाहा छ की २०६५ मा मुलुकमा गणतन्त्रको स्थापना भएको ७ बर्षमै विनाशकारी भुकम्पले देश थला पायो । मुलुकले पुनर्निर्माणमा खरबौँ खरब रुपैयाँ, समय र जनशक्ति खर्चन बाध्य भयो । यहि बिचमा छिमेकीको नाकाबन्दि सहन गर्न पर्यो । यसलगतै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड– १९ ले स्वास्थ्य, शिक्षा, अर्थतन्त्र लगायत सबै क्षेत्र सिथिल र रुग्ण बनायो । कोरोनापश्चात देखिएको आर्थिक मन्दीले मुलुकको अर्थतन्त्र निकै जीर्ण र थिलोथिलो बनाइरहेको र त्यसको मार अहिलेसम्म भोग्नुपरेकै छ । आर्थिक गतिविधि ठप्प जस्तै भएको छ । गाउँ खाली छन् । मलामीको भार शिक्षकमाथि छ । शहरमा सटर खालीको बिज्ञापन र पसलबन्दका दृश्यले स्तब्धता बढाउदै लगेको छ । यस्ता तिता सत्य पनि स्विकार्नै पर्दछ ।

#peoplewarofnepal #Nepalijanasena #nepalnewsहामीले अनुभुत गरेको सकरात्मक पक्ष के हो भने संविधानसभाबाट संबिधान बनेर देशमा गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक समावेशिता सस्थागत हुदैछन । राष्ट्रिय गौरव र महत्वका विकास परियोजनाहरु अघि बढिरहेका छन् । सडक तथा भौतिक पुर्वाधारको विकास उल्लेखनीय बढेका छन् शिक्षा, स्वास्थ, सुचना प्रविधि र नागरिक अधिकारको पहँुच बढेको छ । गणतन्त्रले नागरिकको सार्वभौमिकतालाई अनुमोदन गरेको र स्वतन्त्रतालाई सुरक्षित गरेको छ । जनताको चेतना र आत्मविश्वासमा बढोत्तरी भएको छ । सामान्य नागरिक पनि आफूजस्तै नागरिकको अनुमोदनबाट निश्चित समयका लागि मुलुकको सर्वोच्च पदमा पुग्ने व्यवस्था सुनिश्चित गरेको छ । प्रथम राष्ट्रपति डा. रामवरणदेखी दोस्रो र तेस्रो बनेकी विद्यादेवी भण्डारी एवम् अहिलेका सम्माननीय रामचन्द्र पौडेलज्यूहरुमा यसको मर्म प्रष्ट छ ।

महान जनयुद्ध र त्यसले बनाएको वातावरणमा आधारित दोस्रो जनआन्दोलनको मकसद ब्यबस्था परिवर्तनमा मात्रै सिमित थिएन । नेकपा (माओवदी केन्द्र) का अध्यक्ष क. प्रचण्डलाई यो कुरा राम्रैसँग थाहा भएकोले उहाले जीवनपद्धतिको भाव सम्प्रेषण गर्दै आउनु भएको छ । गणतन्त्र सामान्ती बन्न नदिन, व्यक्तिवादी र परिवारवादी संयन्त्रमा कैद हुन नदिन अझै लडाई बाँकी छ । व्यवस्था नै भ्रष्ट हो भनेर समाजवादको यात्रा अवरुद्ध पार्न खोज्नेहरुसँगको टकराव उस्तै छ । अहिलको गणतन्त्रमा नया राजाहरु हुनै नसक्ने सुनिश्चितता गर्न अर्को लडाई फेरि पनि लड्न जरुरी छ ।

अहिले राजनीतिमा वैचारिक अराजकता, सिद्धान्तहीनता तथा प्रशासनमा अनियमितता अनुशासनहीनता, भ्रष्टाचार कुरुपताका साथ देखा परेका छन । एकातिर संकट र महामारीका विकृतिहरुलाई गणतन्त्रको विकृति भन्ने दुस्प्रचार गर्दै गणतन्त्र विरोधी रोटी सेक्नेहरुलाई ठाउँ मिलेको छ भने अर्कातिर जो पावरमा वा कुर्सीमा पुग्छ, उसले म नै राज्य हुँ, म नै अहिलेको राजा हुँ भन्ने दम्भ र अहंकार प्रदर्शन गरेको छ र श्रोत साधनहरु सामूहिक हितका लागि नभएर सात पुस्ताको शासन थोपर्ने संकेत बढाउँदै लगेको छ ।

गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्दति र जीवनशैली समेत भएको बताउँदै गणतन्त्र अरूका अधिकारको सम्मान गर्दै आफ्ना अधिकारको उपभोग गर्ने जीवन पद्दति पनि भएको कुरालाई नेताहरुले स्मरण गराए पनि ब्यबहारमा अनुभुति खटकेको छ । नेपालको संविधानबमोजिम समाजवादप्रति प्रतिबद्ध रहि समृद्ध राष्ट्र निर्माणका लागि कानुनी दैलो खोलेको छ । संविधानसभाबाट जारी संविधानले प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्यमान्यतालाई संस्थागत गरेको कुरामा मात्र गर्व गर्ने अवस्था अब हामीलाई छैन ।

यतिबेला हाम्रो राजनितीमा बढेको अवसरवादले सबै अपराध ढाकछोप गर्ने अवस्थाको वरपर ल्याएको छ । अवसरका लागि अस्थिर होईन, लक्ष्यका लागि दृढ रहौ भन्ने मान्यता लत्तीएको जस्तो छ । पैसा, सत्ता र अहंकार क्षणिक हुन भन्ने कुरा ख्यालमा राख्न सके, निष्ठामा बाँच्नु सबैभन्दा धनी हुनु हो भन्ने कुरा स्विकार्न सके, सत्तालाई विवेकी बनाउनु सभ्यतामा योगदान पु¥याउनु हो भन्नेमा सहमत हुन सके, अहंकार त्यागेर धैर्यताको पदचाप पछयाउन र जनसेवामा जोड दिंदै स्वत्वको रक्षागर्ने कार्यनीति बनाउन सके राजनीतिक ठगहरुको खुट्टामा लम्पसार गर्न पर्दैनथ्यो ।

अहिलेको परिवर्तन आचरण र जीवनशैलीमा जोडिएको हुनुपर्दछ । तर आज सत्य, न्याय र विवेक हराएको अवस्थामा सत्य अन्वेषण कठिन काम हुन पुगेको छ । जस्लाई जे गरे पनि हुन्छ भनेर मैमत्त भएका अस्वभाविक महत्वाकांक्षी मानिसलाई मानव सभ्यताको प्रगतिवाद नै शत्रु जस्तै हुन पुगेको छ । सत्य कुरा पचाउन त के सुन्न मात्र पनि अहंकारका अस्विकार्यता बढेका छन । वास्तविक धरातल र नांैटकी उजागर हुँदासाथ सबैको असलियत उदाङ्गो हुन्छ भन्ने कुरा अझै मनन गर्न खोजिएको छैन ।

अहिलेको गणतन्त्रमा भएका विकृतिलाई नयाँ राजाहरुको सभ्यता भन्दै हामीलाई खिज्याइएको छ । यो व्यवस्थालाई सामान्ती गणतन्त्रतर्फ धकेल्दै लगेर प्रतिगमन फर्काउने तत्वसँगका टकरावमा पुयाउने कुचेष्टा गरिएको छ । यो लडाईमा जित्न व्यवहारमै समाजवादी चरित्र निर्माणको टड्कारो छ । यसैलाई एजेण्डा बनाएर अघि बढने पर्ने स्थिति देखापरेको छ । गणतन्त्रको जनपक्षीय विकासका लागि हामीले बाँकी रहेको राजनैतिक कोर्षसहित तेस्रो जनआन्दोलनको आवश्यकताप्रति पनि स्टाण्डबाई तयारी हुनुपरेको छ भने जहाँ छौँ त्यहि (टोल, वडा र पालिका) बाट त्यसको सहि उपयोग मार्फत अवस्था परिवर्तनको संग्राममा जुटन जरुरी छ । संबिधानमा लेखिएको समाजवाद शब्द सबैलाई निकै प्यारो छ । यो प्राप्तिका लागि हामीले बाटो सुल्टयाउन जरुरी छ । त्यो भनेको पँुजीको न्यायिक बितरण नै समाजवादको आधार हो । पुँजी निर्माण त्यो पनि स्वाधीन अर्थतन्त्रबाट आएको पुँजी मात्र न्यायीक बितरण योग्य हुने, आत्मनिर्भरता बिना स्वाधीन अर्थतन्त्र नहुने, ब्यबशायीक उत्पादन बिना आत्मनिर्भरता हुनै नसक्ने, माटो, जलवायु र प्रबिधिको सहि पहिचान नभएमा व्यवसायिक उत्पादन पनि हुन नसक्ने कुरा मनन गर्दै सबै जमिनको व्यवसायिक उपयोग र रोजगारी बृद्धिका लागि महान अभियान थालनी गर्नै पर्छ । देश बनाउने साझा संकल्पसहितको यस्तो अभियानले सामूहिक संस्कृति र साझा अभ्यासहरु बढाउने छ । नीजि स्वार्थ, अहंकार, घमण्ड, दंभ हटाउँदै ब्यक्तिवादी र अराजकतावादी सबै प्रकारका सामान्ती कुचेष्टाहरुको रुपान्तरण गर्दै गणतन्त्रको जनपक्ष्ीाय विकासमा लाग्न सबै नेपालीहरुमा उत्प्रेरणा बढोस्, १८ औ गणतन्त्र दिवसको यहि छ कामना ।

(लेखक नेपाल बुद्धिजीवी संगठनका वरिष्ठ उपाध्यक्ष हुन् । )

 

 

 

वि.सं.२०८२ जेठ १५ बिहीवार १३:२२ मा प्रकाशित

Himalayan Life AD
डब्लूएफटियुको ८० औँ स्थापना दिवस र आगामी कार्यदिशा

डब्लूएफटियुको ८० औँ स्थापना दिवस र आगामी कार्यदिशा

अक्टोवर ३ तारिख विश्वभरका प्रगतिशिल एवं समाजवादी पक्षधर श्रमिकहरुको अन्तर्राष्ट्रिय...

जेन्जीको चुनौती :  नवप्रवर्तनमा अवरोध र आयातमुखी बजार

जेन्जीको चुनौती : नवप्रवर्तनमा अवरोध र आयातमुखी बजार

सन् २०१५ देखि २०२५ सम्मको नेपालका नीति र कानुनी संरचनाको...

नेपालमा अदृश्यशक्तिको अर्थराजनीतिक चलखेल

नेपालमा अदृश्यशक्तिको अर्थराजनीतिक चलखेल

अवधारणा एक अमूर्त विचार हो जसले अधिक ठोस सिद्धान्तहरू, विचारहरू...

यसरी गर्न सकिन्छ दसैँमा यातायात व्यवस्थापन

यसरी गर्न सकिन्छ दसैँमा यातायात व्यवस्थापन

काठमाडौँ  । दसैँ मनाउन काठमाडौँ छाडेर घर जानेहरुको सङ्ख्या अत्यधिक...

काम कुरो एकातिर कुम्लो बोकी कतातिर ? नगरौं है कमरेडहरु !

काम कुरो एकातिर कुम्लो बोकी कतातिर ? नगरौं है कमरेडहरु !

जेन्जी कसरी आयो, २७ घण्टैमा कसरी उथलपुथल भयो, किन देश...

नयॉ परिवेशमा बुद्धिजीवीहरुको भूमिका

नयॉ परिवेशमा बुद्धिजीवीहरुको भूमिका

१.पृष्ठभूमि बौद्धिकता भनेको विद्वानमा हुने गुणवत्ता हो, जसले उच्च स्तरको...