back

सामाजिक सञ्जालमा नेता र जुठेल्नुको साग

वि.सं.२०८२ असार १२ बिहीवार

1.5K 

shares
IME Limited
NTC AD

म नेताहरूका सामाजिक सञ्जालमा आउने पोस्टहरूको नियमित अवलोकनकर्ता हुँ । प्रायः सबै प्रमुख राजनीतिक दलका नेताहरूका स्टाटसहरू म हेर्न छुटाउँदिन । उहाँहरूले के लेख्नुहुन्छ भन्ने मेरो मुख्य चासो होइन । किन कि मलाई थाहा छ, ती स्टाटसहरूमा न त कुनै विशेष ज्ञान हुन्छ, न प्रेरणादायी सन्देश । वास्तविक रमाइलो त पोस्टमुनिका प्रतिक्रियामा हुन्छ । म ती कमेन्टहरू ध्यानपूर्वक पढ्छु—कसले के भने, कसरी भने-यही पढ्नमा विशेष आनन्द लाग्छ । भन्नुपर्दा, नेताहरूका पोस्टहरूभन्दा जनसाधारणका ती सहज, चाखलाग्दा र कहिलेकाहीँ व्यङ्ग्यात्मक प्रतिक्रिया मेरो लागि मनोरञ्जनका स्रोत भएका छन् ।

म यो लेखिरहँदा तपाईंले मेरो पठनयोग्य क्षमतामा प्रश्न उठाउन सक्नुहुन्छ । मेरो बौद्धिक स्तरको पनि मूल्याङ्कन गर्न सक्नुहुन्छ । किन भने म त्यही वर्ग भित्र पर्छु, जसले नेताहरू उत्पादन गर्छ-अर्थात् म स्वयं ‘झोले’ प्रजातिको एक नम्र प्राणी हुँ । चलनचल्तीको भाषामा भन्नुपर्दा, ‘म पनि झोले हुँ’–तर त्यो रसिलो झोल भएको झोले होइन, न त मसालेदार ट्याक्क स्वाद भरिएको नै । म त नेताको झोला बोक्दै ‘हुजुर, हुजुर’ भन्न सक्ने, कर्तव्यनिष्ठ तर आलोचनात्मक चेतना विहीन झोले हुँ । आफूलाई झोलेको हुलमा स्वेच्छाले समाहित भएपपछि आलोचना वा प्रश्नहरू सुन्नु नपर्ने एक किसिमको सुविधा मिल्दो रहेछ । त्यो सुबिधा उपभोग गरिरहेको झोले । जब म आफैँलाई ’झोले’मा रूपान्तरण गर्न पुगेँ, तब एक प्रकारको विचित्र तर सुरक्षित अनुभूति जाग्यो । कारण स्पष्ट छ–झोले बनेपछि सोच्ने, विश्लेषण गर्ने, सही र गलत छुट्याउने झन्झटबाट मुक्ति मिल्दोरहेछ । विवेकको बोझबाट हलुका हुनुले यस्तो निश्चिन्तता दिन्छ, जसमा प्रश्न उठाउनुपर्ने आवश्यकता रहँदैन ।

एकपटक शिक्षकले सानो कक्षामा पढ्ने विद्यार्थीलाई सोधे–‘कुनै जलचर जीवको नाम भन ? विद्यार्थीले जवाफ दियो–‘भ्यागुतो ।’ शिक्षकले फेरि भने–‘सही हो, अब त्यस्ता अरू चारवटा जीवको नाम भन । ’विद्यार्थीले तुरुन्त भन्यो–‘त्यो भ्यागुताको बा, आमा, दाइ र दिदी ।’ यो प्रसंग मजाक लागे पनि, हाम्रा नेताहरू संग ठ्याक्क मिल्दछ । यिनीहरू पनि प्रायः एउटै वर्गका, एउटै चरित्रका र एक अर्काका नातेदारझैँ देखिन्छन् । यही कारणले होला–नेताहरूको पोस्टमा देखिने जनताको प्रतिक्रिया पनि लगभग उस्तै–उस्तै हुन्छन् ।

पहिलाका दिनहरूमा सञ्चारका माध्यम अत्यन्तै सीमित थिए । विदेशिएका आफन्तले ‘म सकुशल छु’ भन्ने चार शब्द चिठ्ठीमा लेखेर पठाउँदा त्यो पत्र घर पुग्न महिनौं लाग्थ्यो । महिनौँ अघिको’ सञ्चै छु’ भन्ने वाक्यलाई आधार मानेर घरका मान्छेहरू मन बुझाउँथे–शायद उ त्यही अवस्थामा अझै पनि ठिकै होला भनेर ।

त्यो समय न फोन कल थियो, न मिस्ड कलको सुविधा । कहिलेकाहीँ बाडुल्की लाग्यो भने आफन्तले सम्झिएको होला भन्ने भावनामा सन्तोष मानिन्थ्यो । तर, अहिले एउटै क्लिकमा लाखौँ मानिससम्म सन्देश पुग्छ । सञ्चार यति तीव्र र सुलभ भएको छ कि सामाजिक सञ्जाल जीवनको अभिन्न हिस्सा बनेको छ । यही कारणले प्रायः सबै नेताहरूले पनि सामाजिक सञ्जालको सक्रिय प्रयोग गर्न थालेका छन्—सन्देश मात्र होइन, छवि निर्माणको माध्यमका रूपमा समेत ।

जब नेताहरूले सामाजिक सञ्जालमा कुनै पोस्ट प्रकाशित गर्नुहुन्छ, त्यसको केही क्षणमै प्रतिक्रिया (कमेण्ट)हरूको ओइरो लाग्छ । यस्तो देखिन्छ, मानौँ मानिसहरू प्रतिक्रियाका लागि नै पर्खिरहेको अवस्थामा हुन्छन् । प्रतिक्रियाको तछाडमछाड यसरी हुन्छ कि, ती लेख्नुलाई नै कतिपयले आफ्नो पूर्णकालिक काम मानेका जस्तो लाग्छ ।

नेताहरूका पोस्टमा सामान्यतः दुई किसिमका अतिवादी प्रतिक्रिया देखिन्छन् । पहिलो समूहमा पर्नेहरू भक्तिभाव प्रदर्शन गर्छन–मालिक र दासबीचको सम्बन्धलाई सार्वजनिक रूपमा निभाउँछन् । स्टाटसमा जे जस्तो लेखिएको भएपनि, नेताको देवत्वकरण गरेर आफूलाई ’झोले’ प्रमाणित गर्छन् ।

दोस्रो समूह भने आफ्ना मनका सबै कुन्ठा पोख्ने थलोको रूपमा कमेण्ट बक्स प्रयोग गर्छ । नेताका तिन पुस्तासम्मलाई समेटेर जथाभावी गाली गर्छन् । ‘तिमीभन्दा मेरो नेता असल’ भन्ने प्रतिस्पर्धात्मक प्रमाणसहित प्रस्तुत हुन्छन् । अझ, नेताहरूको विगत र वर्तमानका बेइमानी, ठगी, जालझेल, र विभेदपूर्ण कार्यहरूलाई निम्नस्तरका शब्द, अपशब्द, कटाक्ष, सराप, घृणा, धम्की र व्यङ्ग्यमार्फत उजागर गर्छन् । यी मध्ये म चाहिँ खासगरी ती प्रतिक्रिया रुचाउँछु, जसमा नेताहरूका गलत कार्यहरूको आलोचना, व्यङ्ग्यात्मक ठट्यौलीपन र जनताले समय–समयमा उठाउने हिसाब–किताब पाइन्छ । त्यस्ता प्रतिक्रियामा जनचेतना र प्रतिरोधको स्वर सुनिन्छ ।

कुनै पनि दलको नेता हुनु भनेको केवल पद धारण गर्नु मात्र होइन, यो एक सम्मानित र जिम्मेवार भूमिकाको वहन गर्नु हो । राजनीतिक नेताको कर्तव्य केवल सत्ता प्राप्तिमा सीमित हुँदैन । उनी जनताप्रति उत्तरदायी हुन्छन् । दीर्घकालीन दूरदृष्टि सहित नीतिगत योजना निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनमा संलग्न हुनुपर्ने हुन्छ । कानुनी र संस्थागत सुधारमार्फत राष्ट्रको हितमा काम गर्नु, सुशासन प्रवद्र्धन गर्नु र पारदर्शिता तथा जवाफदेहिताको संस्कृति विकास गर्नु नेतृत्वको प्रमुख जिम्मेवारी हो । नेताहरूले आफ्नो आचरणद्वारा उदाहरणीय भूमिका निर्वाह गर्नु पर्दछ—जहाँ उनीहरू समाजका लागि प्रेरणाका स्रोत बन्न सकून्, न कि केवल भाषणका पात्र । ईमानदारी, समर्पण र उत्तरदायित्वको भावनाले भरिएको नेतृत्व नै सच्चा लोकतन्त्रको आधारशिला बन्न सक्छ ।

दूरदृष्टि, ईमानदारी, जवाफदेहिता र जनउत्तरदायित्व जस्ता गुणहरू जब नेतामा देखिन्छन् —तब मात्र उनीहरूको सम्मान हुन्छ । तर विडम्बना, हाम्रो समाजमा आज नेता हुनुको अर्थ केवल गाली सहनु मात्र हैन, सार्वजनिक स्थानमा निस्कन समेत डराउनुपर्ने स्थितिको निर्माण भएको देखिन्छ । कहीं जानुप¥यो भने जनताको बीच स्वतन्त्र रूपमा हिँड्न सक्ने नेताहरू आज झोले, हुक्के, चम्चे र हनुमानहरूको कडा सुरक्षा घेराभित्र सीमित छन् ।

जसलाई जनताबाट जयजयकार र सम्मान मिल्नुपर्ने हो, उनीहरू नै अहिले घृणा, अपमान र आक्रोशको फोहोरदानीमा झारिएका छन् । यो अवस्था किन आयो ? के जनताहरू अराजक, अनुशासनहीन, स्वेच्छाचारी, गैरजिम्मेवार, मर्यादाविहीन र अवज्ञाकारी भइसकेका हुन् ? यदि हो भने, यस्तो चरित्र विकासको जिम्मेवारी कसको हो ? नेताको पद, जो मूलतः सम्मानित र गरिमामय हुनुपथ्र्यो, किन अपमानित र विवादास्पद बन्यो ? किन आज एक नेता सार्वजनिक स्थानमा जानु पर्दा टाउको झुकाउन बाध्य छन् ? किन यस्तो भयो–उनीहरूले लेखेका पोस्टमा आएका प्रतिक्रियाहरू आफैले पढ्न सक्दैनन्, आँखा चिम्लनु पर्छ ?

उत्तर ठ्याक्कै सिधा प्रष्ट छ–राजनीतिमा आजभोलि दर्शन होइन, दरबार छ; विचार होइन, बजार छ । जुनसुकै नामको पार्टी किन नहोस्, तिनका ’दर्शन’ अब घोषणापत्रका पाना र चिल्ला भाषणका सजावट मात्र भएका छन्बो-ल्नका लागि ठिक, तर गर्नका लागि ‘अप्रासंगिक। नीतिगत निरन्तरता त सपना हो, विचारको स्थायित्व त आकाशको जुनजस्तो-हेर्न मिल्ने, छुने हैन । अहिलेको राजनीतिमा मुख्य उद्देश्य भनेको ‘आफ्ना’को भलाइ, ‘आफ्ना’को बढुवा, अनि ’अन्य’ को दुर्दशा सुनिश्चित गर्नु हो । अब विचार र सिद्धान्तको राजनीति छैन, अब गणितको राजनीति छ–कसले कतिजना आफ्ना झोले, हुक्के, चम्चेहरूको पेट भर्न सक्छ भन्ने अंकगणित। जनताको मतबाट निर्वाचित नेताहरू अब जनताको होइनन्—स्वार्थ समूहहरूको ’पावर अफ एटर्नी’ भएका छन् । जनताले त केवल औपचारिक टिकट काट्ने काम गरेका हुन्–जहाँ गाडी अरूको, ड्राइभर अरूको, र गन्तव्य ? त्यो त स्वार्थको स्वर्ग हो । यस्ता प्रश्नहरू केवल नेताहरूका लागि होइनन्, हामी सम्पूर्ण समाजका लागि आत्ममूल्यांकनका घण्टी हुन् । जब नेतृत्व नै विश्वसनीय रहँदैन, तब जनताको व्यवहार पनि विकृत हुँदै जान्छ । अन्ततः, हामी सबै अपमान र अविश्वासको कुहिरोभित्र हराउँछौं—जहाँ न नेता बाँच्छ, न नै नागरिकको गौरव ।

सम्मान मागेर होइन, आर्जन गरेर प्राप्त गरिन्छ । व्यक्तिको आचरण, विचार, व्यवहार, इमानदारी, योग्यता र मानवीय गुणहरूबाट सम्मान आफैँ उत्पन्न हुन्छ । जब कसैले राम्रो कर्म, विनम्रता, न्याय र इमानदारी देखाउँछ, तब समाज स्वयं उसलाई सम्मान प्रदान गर्छ । भनिन्छ–सम्मान आर्जन गर्नुपर्छ, इमानदारीको कदर गरिन्छ, र विश्वास जित्नुपर्छ । निष्ठा भनेपछि नै त्यो आफ्नै तर्फ फर्किन्छ ।

नेपालको राजनीतिक सन्दर्भमा नेताहरूले जे भन्छन् त्यो गर्दैनन्, र जे गर्दछन् त्यो कहिले पनि खुलाएर भन्न चाहँदैनन् । आफूलाई कम्युनिष्ट भन्नेहरूले ठोरिमा रामको नाभीको अवशेष खोज्दछन । बिहान राशिफल हेरेर आज कुन विचौलियालाई भेट्ने निर्णय गर्छन् । ठूला–ठूला हवेली र महलमा स्वदेशी र विदेशी दलालहरूको विचमा डिनर बैठक आयोजना गरेर झुपडिहरुको सपनाको खेती गरिरहेका हुन्छन् ।

आफुलाई प्रजातान्त्रिक भन्नेहरु आफ्ना पुर्खा, कुल र पितृश्रद्धालाई पनि सरकारी रकमबाट सम्पन्न गर्दछन । हेलिकप्टर चढ्ने हैसियत नहुनेहरूलाई राजनीतिमा प्रवेश नै निषेध गरिन्छ । राष्ट्रिय सम्पत्तिको दोहन गर्दै राष्ट्रवादका भव्य भाषणहरू गर्छन् । मसानघाटबाट हड्डी ल्याएर आफूलाई दासमा परिणत गर्ने प्रयास गर्नेहरूको चर्चा गर्नु आफैंलाई अपमानित गर्नु हो ।

गणितमा एकमा एक मिलाउँदा दुई हुन्छ । संगठनमा एकमा एक मिलाउँदा एघार हुन्छ । प्रेममा एकमा एक मिलाउँदा एक हुन्छ । तर हाम्रो परिवेशमा भने राजनीतिमा एकमा एक मिलाउँदा गठबन्धन मात्र हुन्छ, राजनीतिक दर्शन भने शून्य नै रहन्छ ।“

हाम्रो वर्तमान राजनीतिक नेतृत्व र नेताहरूको अवस्था अहिले त्यस्ता जुठेल्नामा उम्रिएका सागजस्ता बनेका छन्दे-ख्नलाई हरियो, तर जुठोले सिञ्चित । खानुपर्दा घिन लाग्ने, तर विवशतामा नाक खुम्च्याउँदै मुखमा हाल्नुपर्ने । त्यही कारणले आज सामाजिक सञ्जालमा नेताहरूका स्टाटसमा देखिने नकारात्मक प्रतिक्रियाहरूका सच्चा जन्मदाता र पालनपोषणकर्ता पनि उनै स्वयं नेताहरू बनेका छन् ।

भुटेका बिउ जति आकर्षक देखिए पनि तिनबाट अंकुर फूट्दैन । नेताहरूमा पनि उही अवस्था देखिँदैछ-शब्दहरू झिलिमिली, व्यवहार बाँझो । यदि समयमै नेताहरू सच्चिएनन् भने जनताभित्रको वितृष्णा सामाजिक सञ्जाल र सार्वजनिक टिप्पणीहरूबाट सडकमा ओर्लियो भने, त्यसपछि विनाशको विकल्प शेष रहने छैन ।

वि.सं.२०८२ असार १२ बिहीवार १२:०४ मा प्रकाशित

आन्तरिक रोजगारी प्रवद्र्धन गर्न नयाँ संरचना बनाएर काम गरिरहेका छौँः शरत् सिंह भण्डारी

आन्तरिक रोजगारी प्रवद्र्धन गर्न नयाँ संरचना बनाएर काम गरिरहेका छौँः शरत् सिंह भण्डारी

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता शरत् सिंह भण्डारी...

कालीगण्डकी करिडोर अवरुद्ध

कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी । कालीगण्डकी गाउँपालिका–६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर...

आज विश्व जनसङ्ख्या दिवस

आज विश्व जनसङ्ख्या दिवस

काठमाडौँ । आज विश्व जनसङ्ख्या दिवस हो । संयुक्त राष्ट्रसङ्घको...

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

आजको लागि विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मेयर बालेन्द्र शाहद्वारा कार्यपालिका बैंकक आह्वान

मेयर बालेन्द्र शाहद्वारा कार्यपालिका बैंकक आह्वान

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले कार्यपालिका बैठक बोलाएका...