स्याङ्जा । मानव जीवनका लागि कोदो पोषकतत्वले भरिपूर्ण उत्कृष्ट आहार हो । बालकदेखि वृद्धसम्म सबैले कोदोका परिकार खाँदा हड्डी तथा दाँत मजबुत बनाउछ । रगतको कमी (एनीमिया)को समस्या घटाउँछ । समग्रमा शरीरको विकास, रोग प्रतिरोधात्मक क्षमता वृद्धि र तंत्रिका प्रणालीलाई सन्तुलनमा राख्न कोदोको भूमिका महत्वपूर्ण छ । कोदोका परिकार नियमित खाँदा दीर्घकालीन रुपमा स्वास्थ्यलाई राम्रो लाभ गर्छ ।
पोषकतत्वको राजा कोदो पछिल्लो समय गाउँघरमा हेला भएको छ । कुनै बेला ग्रामिण भेगको खाद्य संकट टारेको कोदोे खेतीमा कृषकहरुको रुचि देखिँदैन । कोदोले भरिने गाउँघरका पाखा बारी हिजोआज बाँझै छन् । हेलाको दृष्टिकोणले हेरिने गरेको कोदो हाल नेपालमा लोपोन्मुख छ । तर, स्याङ्जाको फेदीखोला गाउँपालिकाले कोदोलाई जीवन्त बनाउन ‘कोदो संरक्षण अभियान’ सुरु गरेको छ ।
असार २३ गते नेपाल सरकारले गरेको निर्णायनुसार यहाँको गाउँपालिकाले पनि कोदो संरक्षण र बाली विस्तार गर्र्नेे उद्देश्य राखेर शुक्रबार रामकोटमा प्रथम राष्ट्रिय कोदो दिवस भव्यताका साथ मनाएको छ । दिवसका अवसरमा आयोजित समारोहको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले कोदो रोपेर उद्घाटन गरे ।

समारोह आसपासमा कोदोबाट बनेका नमकिन, पकौडा, नरिवल मिश्रीत लड्डु, सेफाली, खुर्मा, फुरौला, जेरी, बिस्कुट, कसार, तोक्वी, दाम्ले मिठाई, मःम, पुवा, सेल रोटी, ढिडोँ, केक, सुत्केरी मसला, पुरी, कप केक, तावा रोटी, सुप, अचार, खोले, छ्याङ, तिनपाने, तोङ्वा लगायत २६ प्रकारका परिकारले कार्यक्रममा सहभागीलाई खानेकुराको फरक स्वाद मात्र दिएन । कोदोको उपयोगबाट स्वास्थ्यलाई मज्बुत बनाउन सकिन्छ र रोजगारका विभिन्न अवसर प्राप्त गर्न सकिन्छ भन्ने धेरैलाई संदेश दिएको कार्यक्रममा सहभागी एक स्थानीयले बताए ।
गाउँपालिकाको कोदो संरक्षण सम्बन्धि अभियानलाई हौसला दिन पालिकावासीहरुले असारे गीत गाउँदै हल गोरुले खेत जोतेर कोदो रोप्ने ठाउँ बनाए । उनीहरु त्यतिमा मात्र रोकिएनन्, कोदो संरक्षण सम्बन्धि जिल्लामै पहिलोपटक यति ठुलो र महत्वपूर्ण कार्यक्रम आफ्नो गाउँपालिकाले आयोजना गरेकोमा हल हर्षउल्लास मनाए ।

स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन कोदो : अध्यक्ष सुवेदी
कार्यक्रममा फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले कोदो खेतीले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने भन्दै यस्कोे उपभोगले मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताए ।
‘कोदोको उत्पादन तथा उपभोगले जमिन बाँझिन पाउँदैन । वातावरणमा सकारात्मक प्रभाव पर्छ । स्थानीय उत्पादनको प्रयोग हुन्छ । उत्पादित किसानलाई राहत मिल्छ’, अध्यक्ष सुवेदीले भने, ‘गाउँपालिकाले किसानको समस्या तथा मागमा आधारित लागु भएका विभिन्न किसानहित कार्यक्रम निरन्तर सञ्चालन गर्छ । किसानलाई निरुत्साहित बनाइने छैन । किसानका माग र आवस्यकताका कार्यक्रम चलाएर किसानलाई हौसला दिन्छौँ ।’

सुवेदीले गाउँपालिकामा २०७६ सालदेखि सञ्चालित उत्पादनमा आधारित अनुदान कार्यक्रम, न्यूनतम समर्थन मुल्य, बाँझो जग्गामा खेती गरेवापत अनुदान प्रदान कार्यक्रम, कृषि एम्बुलेन्स, कृषि उपज संकलन केन्द्रहरु, शित भण्डार, तथा बजारीकरणमा सहयोग, प्रत्येक वर्ष गरिने कृषि मेला प्रदर्शनी लगायतका कार्यक्रम देशव्यापी रुपमा उदारहणीय र नमुना भईसकेको भन्दै ती कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।
उनले प्रथम कोदो दिवस कार्यक्रममा मात्र सिमित नभई कोदोजन्य खाद्य परिकारहरु गाउँपालिका भित्रका सम्पूर्ण विद्यालय, गाउँपालिका मातहतका कार्यालयमा शुरुवाती दिनहरुमा हप्ताको १ दिन, उक्त कार्यक्रमलाई थप व्यवहारिक बनाउन हप्ताको दुई दिन दिवा खाजामा कोदोबाट बनेका परिकारहरु उपभोग गर्ने नीतिसहित गाउँपालिका अगाडी बढेकोले सबैको साथ र समर्थन आवश्यक रहेको बताए ।
कृषि क्षेत्रमा गरेका काम देशमै नमुना छन् : राजनीतिक दल
कार्यक्रममा राजनैतिक दलका प्रतिनिधिहरुले कोदोको महत्व दर्शाउदै गाउँपालिकाले कृषि क्षेत्रमा चालेका कदमहरु देशमै नमुना, उदाहरणीयय, प्रशंसनीय र स्वागतयोग्य भएको बताए ।
पालिका भित्रका सबै विद्यालयहरुले कोदोको महत्वका विषयमा छलफल गरी दिवा खाजाका रुपमा कोदोजन्य परिकार दिवसकै अवसरमा शुरुवात गरेका छन् ।

नेपालमा उत्पादन हुने खाद्य बाली मध्ये कोदो उत्पादन र खेती गरिएको क्षेत्रफलको आधारमा चौथौँ खाद्यन्न हो । फेदीखोला गाउँपालिकाको भने यो तेस्रो प्रमुख खाद्यबाली हो । गाउँपालिकाले स्थानीय पाठ्यक्रमको कक्षा ६ मा (हाम्रो फेदीखोला पुस्तकमा) समेत ‘कोदोः बहुउपयोगी खाद्यन्न’ भन्ने पाठ्यवस्तु शैक्षिक शत्र, २०७७ देखि अध्ययन अध्यापन गराएर कोदोलाई सम्मान दिएको छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, संस्थापक उपाध्यक्ष, जिल्ला समन्वय समिति सदस्य, वडा अध्यक्ष, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारी, गाउँ सभा सदस्य, राजनीतिक दलका प्रतिनिधि, टोल सुधार समितिका अध्यक्ष तथा पदाधिकारी, रामकोट तमु समाजका अध्यक्ष तथा प्रतिनिधि, रामकोट सामुदायिक होमस्टेका सञ्चालक समिति, स्थानीय आमा समूह र पालिकावासीको बाक्लो उपस्थिति थियो ।

वि.सं.२०८२ साउन १६ शुक्रवार २१:३१ मा प्रकाशित




























