एजेन्सी । भारतको उत्तर प्रदेशको अमेठीमा भैंसीको आक्रमणबाट चितुवाको मृत्यु भएको छ। यो घटना शनिबार राति अमेठी जिल्लाको मुसाफिरखाना प्रहरी चौकी क्षेत्रको हो।
भैंसी खोरमा पसेर पाडोमाथि आक्रमण गरेपछि नजिकै रहेका भैंसीहरूले चितुवालाई आक्रमण गरेका थिए। आक्रमणपछि घाइते अवस्थामा भागेको चितुवा मृत फेला परेको हो।
केही दिनअघि मात्रै चितुवाले पाँचजना मानिसलाई आक्रमण गरी घाइते बनाएको थियो। जसका कारण स्थानीयहरू त्रासको वातावरणमा बाँचिरहेका थिए। चितुवाको कारण मुसाफिरखाना प्रहरी चौकी क्षेत्रको भैंदपुर र बिराईपुर गाउँका मानिस बढी त्रसित थिए।
वन विभाग,प्रहरी र प्रशासनको टोलीले चितुवा नियन्त्रणमा लिने प्रयास गरिरहेका थिए। तर,उनीहरूले नियन्त्रणमा लिन सकेका थिएनन्। चितुवा नियन्त्रणका लागि गाउँमा पासो र पिजडा जडान गरिएका थिए।
वि.सं.२०८२ साउन १८ आइतवार ११:४३ मा प्रकाशित

























