back

दसैँका अवसरमा तीन चलचित्र, फुलपातीको दिनदेखि देशैभरी प्रदर्शन

वि.सं.२०८२ असोज १३ सोमवार

378 

shares

काठमाडौँ । दसैँ लक्षित गर्दै तीन नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ प्रदर्शनमा आएका छन् । यी तीनै चलचित्र दसैँलाई लक्षित गरी आज फूलपातीको दिनदेखि नेपालभर प्रदर्शन भएका छन् ।

चलचित्र ‘माइतीघर’ तामाङ संस्कृतिमा आधारित सामाजिक विषयमा निर्माण गरिएको निर्माण पक्षले जनाएको छ । मिलन तामाङले निर्देशन गरेको सो चलचित्रमा केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर, प्रकाश सपुतलगायतका कलाकारले अभिनय गरेका छन् । नाम उही, गीत उही ‘माइतीघर’ राखिए पनि नयाँ परिवेशमा पुरानो मर्म रहनेगरी तयार गरिएको निर्माता रोहित अधिकारीले बताए ।

“पुरानो नाममै चलचित्र निर्माण गर्ने निर्णय गरेपछि त्यसको मर्मलाई बुझेर नयाँ स्वरूपमा चलचित्र तयार गरेका छौँ ।” आजदेखि नै प्रदर्शन भएको अर्को चलचित्र ‘हरिबहादुरको जुत्ता’ अभिनेता हरिवंश आचार्यमा केन्द्रित छ । अभिनेता आचार्यले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गरेको चर्चित पात्र ‘हरिबहादुर’ लाई यसपटक चलचित्रमा ल्याएका हुन् । चलचित्रमा भिन्न हरिबहादुरसँग दर्शक परिचित हुने अभिनेता आचार्यको भनाइ छ ।

उनले भने, “टेलिशृङ्खलामा अरूलाई रुवाउने हरिबहादुर पात्र चलचित्रमा भने आफैँ पटकपटक भावुक बनेको छ, चलचित्रले हरिबहादुरको भावनात्मक यात्रासँगै नेपालको वर्तमान सामाजिक–राजनीतिक अवस्थालाई पनि चित्रण गरेको छ, खासगरी युवापुस्ताले उठाएका मुद्दा र मागसँग चलचित्रको भावना मिल्छ, शृङ्खला र मञ्चमा प्रस्तुत भएको पात्रलाई चलचित्रमा ल्याउँदा फरक गरेको छु ।”

उक्त चलचित्रको पटकथा स्वयं अभिनेता आचार्यले लेखेका हुन् । निर्देशक दीपेन्द्रकुमार खनाल निर्देशित सो चलचित्रमा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गरेका छन् ।

निर्माता सन्तोष सेनले निर्देशन गर्नुभएको चलचित्र ‘बलिदान’मा अभिनेता समीर भट्टको अभिनय छ । भट्टले अभिनय गरेको यो दोस्रो चलचित्र हो । कथावस्तुभन्दा प्रस्तुतीकरणमा ध्यान दिइएको उक्त चलचित्रमा ऋचा शर्मा, अर्पण थापालगायतका कलाकारले अभिनय गरेका छन् ।

पछिल्ला वर्षमा चाडपर्वमा नेपाली चलचित्र दर्शकको रोजाइमा पर्दै आएका छन् । खासगरी पारिवारिक र सामाजिक विषय केन्द्रित चलचित्रमा दर्शकको बाक्लो उपस्थिति देखिन्छ । सोही कारण यो दसैँमा तीन चलचित्रले प्रदर्शन मिति तय गरेका हुन् । बिदाको समयमा चलचित्रले राम्रो प्रतिक्रिया पाएमा त्यसको व्यापार बढ्ने अपेक्षाले चाडपर्व केन्द्रित प्रदर्शन हुनेक्रम बढेको चलचित्रकर्मीको भनाइ छ ।

वि.सं.२०८२ असोज १३ सोमवार १४:२८ मा प्रकाशित

Himalayan Life AD
‘चौथो काव्य म्युजिक अवार्ड – २०८२’ बाट खनालसहित दर्जनौ कलाकार सम्मानित

‘चौथो काव्य म्युजिक अवार्ड – २०८२’ बाट खनालसहित दर्जनौ कलाकार सम्मानित

चेतनारायण बेल्बासे, काठमाडौ । गीत, संगीत र साहित्यलाई एकसाथ जोड्ने...

चलचित्र ‘बलिदान’को ‘ट्रेलर’ सार्वजनिक

चलचित्र ‘बलिदान’को ‘ट्रेलर’ सार्वजनिक

काठमाडौँ । चलचित्र ‘बलिदान’ को ‘ट्रेलर’ आज सार्वजनिक गरिएको छ...