मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह आज विश्वासको मत लिँदै
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज प्रदेश सभाबाट विश्वासको मत लिने कार्य अघि बढाउने भएका छन्। आज दिउँसो एक बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्।
मधेश प्रदेश सभाका सचिव वासुप्रसाद कोइरालाका अनुसार, गत शुक्रबार मुख्यमन्त्री सिंहले विश्वासको मत लिन चाहेको पत्र सभामा पठाएका थिए। सोही अनुरूप आजको बैठक बोलाइएको हो।
गत भदौ २३–२४ गतेको जेनजी आन्दोलन चर्किँदा सिंहले फेसबुकमार्फत मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। तर अन्तरिम सरकार गठन भएपछि उनले आफ्नो निर्णय फिर्ता लिएका थिए।
उनको दल जनमतले भदौ ३१ गते प्रदेश सभामा मुख्यमन्त्री र मन्त्रीसहित सरकारबाट समर्थन फिर्ता लिएको पत्र बुझाएको थियो। संविधानअनुसार, समर्थन फिर्ता भएको ३० दिनभित्र सरकार प्रमुखले विश्वासको मत लिनुपर्ने व्यवस्था छ।
वि.सं.२०८२ असोज २८ मंगलवार १०:५८ मा प्रकाशित



























