काठमाडौँ । आइसीसी टी–२० विश्वकप एसिया तथा इष्ट एसिया पेसिफिक छनोटमा नेपालले ओमानलाई ३८ रनको फराकिलो अन्तरले पराजित गरेको छ। अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा भएको खेलमा नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले २० ओभरमा नौ विकेट गुमाएर मात्र ११३ रन बनायो।
नेपालका लागि कुशल भुर्तेलले ५१ बलमा ६९ रन बनाए भने आसिफ शेखले २४ रनको योगदान गरे। बलिङमा गुल्शन झाले तीन विकेट लिँदा नन्दन यादव र सोमपाल कामीले समान दुई÷दुई विकेट लिए। सन्दीप लामिछानेले पनि एक विकेट लिए।
यस जितसँगै नेपालले आठ अङ्क बटुल्दै उपाधितर्फको यात्रा अझ नजिक पारेको छ। अङ्क तालिकामा नेपाल शीर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानमा रहेको ओमानको छ अङ्क छ। नेपालले सुपर सिक्सको अन्तिम खेल शुक्रबार सामोआसँग खेल्नेछ।
वि.सं.२०८२ असोज ३० बिहीवार ०७:२६ मा प्रकाशित




























