काठमाडौँ । आगामी कात्तिक दोस्रो सातादेखि नेपालमा पहिलोपटक ‘काठमाडौँ हारर चलचित्र महोत्सव’ आयोजना हुँदैछ। महोत्सवमा १५ देशका २५ उत्कृष्ट ‘हरर’, ‘फ्यान्टेसी’ र लोककथा आधारित चलचित्र प्रदर्शन हुनेछन्।
अक्टोबर ३१ को ‘हेलोविन डे’ को अवसरमा कात्तिक १४ देखि १६ गतेसम्म आयोजना हुने महोत्सवले नेपाली दर्शकलाई अन्तर्राष्ट्रियस्तरका रहस्यमय र डरलाग्दा कथाहरूको अनुभव गराउनेछ। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले भने, “नेपालमा केही फरक गरौँ भनेर यो सुरुआत हो। रहस्यमय र डरलाग्दा कथाहरू अनुभव गर्न रुचाउने दर्शकका लागि महोत्सव उपयोगी हुनेछ।”
अध्यक्ष पाठकले विश्वभरबाट प्राप्त एक सयभन्दा बढी चलचित्रमध्ये गुणस्तर, विविधता र पारदर्शिताका आधारमा १५ देशका २५ चलचित्र छनोट गरिएको जानकारी पनि दिनुभयो। उनले भने, “नेपालमा हरर शैलीका चलचित्र कम छन्। यस महोत्सवले निर्माण प्रोत्साहन गर्दै दर्शकलाई नयाँ अनुभव प्रदान गर्नेछ। नेपाली लोककथा र संस्कृतिसँग जोडिएका तत्व पनि समावेश हुनेछन्।”
महोत्सवमा अन्तर्राष्ट्रिय र राष्ट्रिय विज्ञहरू सहितको निर्णायक मण्डलमा प्रसिद्ध फोटोग्राफर राजभाइ सुवाल, चलचित्र समीक्षक होसाम फाह्मी, एलेक्जान्ड्रा एनवर्ग र यास्मिन बुछफार रहेका छन्। आयोजक संस्थाका अनुसार महोत्सवको मुख्य उद्देश्य नेपालमा ‘हरर’ शैलीका चलचित्रको निर्माण र विकासलाई प्रोत्साहन गर्नु हो।
वि.सं.२०८२ असोज ३० बिहीवार १०:२३ मा प्रकाशित





















