पर्वत । साहसिक पर्यटनका लागि परिचित पर्वत जिल्लामा नेपालकै उच्च स्थानमा हाइलाइनको सफल परीक्षण सम्पन्न भएको छ।
जिल्ला सदरमुकाम कुश्माबजार र बागलुङको बलेवा जोड्ने गरी ‘द क्लिफ’ र ‘द हार्नेस’ प्रालिको सहकार्यमा सञ्चालन गरिएको बञ्जी पुल र सुपरम्यान शैलीको जिपलाइनलाई जोडेर पर्वतमा पहिलोपटक लामो दूरी र उच्च उचाइमा हाइलाइन अभ्यास गरिएको छ।
कालीगण्डकी खोँचमा ४०८ मिटर लामो र २२८ मिटर उचाइमा गरिएको परीक्षण सफल भएको ‘द क्लिफ’का अध्यक्ष राजु कार्कीले बताए।
हाल जर्मनीमा बसोबास गर्दै आउनुभएका धनकुटाको शङ्कर कोइरालाको संयोजनमा यो कार्यक्रम सञ्चालन गरिएको हो। कोइरालाले बताए, “१५ वर्षदेखि युरोपका विभिन्न देशमा हाइलाइन गर्दै आएको अनुभवपछि पर्वतमा पनि कार्यक्रम सम्भव भएको हो।”
कार्यक्रममा कोइरालासहित तीन नेपाली र तीन विदेशी सहभागी रहेका छन्। असोज २९ गतेदेखि सुरु भएको कार्यक्रम शनिबार सम्पन्न भएको छ। नेपाल स्ल्याकलाइन कम्युनिटी र ‘द क्लिफ’को सहकार्यमा आयोजना गरिएको यो कार्यक्रम नेपालकै उच्च उचाइमा गरिएको पहिलो हाइलाइनको रूपमा चिनिएको छ।
कोइरालाले बताए, “हाइलाइन २० मिटरदेखि सयौँ मिटर उचाइमा तानिएको लाइनमा सुरक्षा हार्नेस र लिस प्रणालीसहित हिँडिन्छ। सन्तुलनका लागि ध्यान, स्थिर नजर र श्वास नियन्त्रण अत्यावश्यक हुन्छ।”
वर्षायाम सकिएसँगै पर्वतमा आन्तरिक र बाह्य पर्यटकको आगमन बढिरहेको छ। हाइलाइन हेर्न पनि सयौँ पर्यटक सहभागी भएका थिए। यसबाहेक यहाँ जिपलाइन, बञ्जी, स्वीङ, स्काइसाइक्लिङ, मेगाट्रोल, पिङ, रक क्लाइम्बिङ र र्याफ्टिङका गतिविधिले पनि पर्यटकको आकर्षण बढाइरहेका छन्।
वि.सं.२०८२ कात्तिक २ आइतवार १७:०४ मा प्रकाशित




























