काठमाडौँ। दैलेखमा फेला परेको प्राकृतिक ग्यासले देशको ऊर्जा आत्मनिर्भरता र आर्थिक विकासको नयाँ ढोका खोल्ने सम्भावना देखाएको छ। नेपाल आयल निगमका एमडी डा. चण्डीकाप्रसाद भट्टका अनुसार, प्रारम्भिक ‘वेल’ परीक्षण उत्साहजनक भएको र आगामी ग्यास बियरिङ टेस्टले गुणस्तर, परिमाण र व्यावसायिक सम्भावनालाई पुष्टि गर्नेछ। नेपालमा पहिलोपटक आफ्नै भूमिबाट ग्यास उत्पादन गर्ने यो परियोजना विद्युत, मल उद्योग, खाना पकाउने इन्धन र यातायातमा उपयोगका लागि महत्वपूर्ण साबित हुनसक्नेछ। निगमले परियोजना वैज्ञानिक ढंगले, अन्तर्राष्ट्रिय मापदण्ड अनुसार र दीर्घकालीन ऊर्जा सुरक्षालाई ध्यानमा राख्दै अगाडि बढाइरहेको छ। यस चरणले नेपालमा ऊर्जा क्रान्तितर्फको वास्तविक सुरुवातको संकेत दिएको एमडी भट्ट बताउँछन्। खबरभोईस डटकमले डा. भट्टसँग गरेको अन्तर्वार्ताको सम्पादित अंशः
प्राकृतिक ग्यासको खोज-अनुसन्धान अहिले कुन अवस्थामा छ?
नेपालमा प्राकृतिक स्रोतको पहिचान र दिगो ऊर्जा सुरक्षातर्फको यात्रालाई थप गति दिने उद्देश्यले सञ्चालन गरिएको प्राकृतिक ग्यास खोज-अनुसन्धान अहिले प्रारम्भिक तर उत्साहजनक चरणमा अगाडि बढिरहेको छ। प्रारम्भिक ‘वेल’ परीक्षणका क्रममा ग्यासको उपस्थितिको संकेत पाइएको छ, जुन ऊर्जा क्षेत्रमा सम्भावनाको नयाँ ढोका खोल्ने संकेतका रूपमा हेरिएको छ।
यद्यपि, यस्ता प्रारम्भिक नतिजाले मात्रै व्यावसायिक उत्पादनको निर्णय लिन पर्याप्त हुँदैन। त्यसैले अहिले विस्तृत भौगर्भिक परीक्षण, गुणस्तर मूल्यांकन, परिमाण निर्धारण र उत्पादन सम्भाव्यता अध्ययनलाई प्राथमिकताका साथ अघि बढाइएको छ। यी वैज्ञानिक तथा प्राविधिक परीक्षण पूरा भएपछि मात्र ग्यास निकाल्ने, भण्डारण गर्ने र व्यावसायिक रूपमा उपयोग गर्ने बारे ठोस निर्णयमा पुग्न सकिनेछ।
नेपाल आयल निगमले यो परियोजनालाई राष्ट्रिय ऊर्जा आत्मनिर्भरता हासिल गर्ने दीर्घकालीन योजनाको महत्त्वपूर्ण आधारका रूपमा लिएर सावधानीपूर्वक, वैज्ञानिक ढंगले र अन्तर्राष्ट्रिय मापदण्डअनुसार अगाडि बढाइरहेको छ।
अन्वेषण र उत्पादन सम्बन्धमा आगामी कदम कस्तो हुनु पर्छ?
सबैभन्दा महत्वपूर्ण र अनिवार्य कदम भनेको हालै ड्रिलिङ्ग गरिएको वेलमा ग्यास बियरिङ टेस्ट गर्नु हो। यो परीक्षणले केवल ग्यास छ कि छैन भन्ने मात्र होइन, कत्तिको गुणस्तरको ग्यास भएको, कति परिमाणमा निकाल्न सकिने, र यो उत्पादन व्यावसायिक रूपमा कत्तिको सम्भावित छ भन्ने सबै आधारभूत तथ्य प्रमाणित गर्छ।
यो परीक्षण किन यति निर्णायक मानिन्छ?
यही परीक्षणबाटै आगामी निर्णय प्रक्रिया पूर्णरुपमा तय हुन्छ। यदि गुणस्तर र परिमाण अनुकूल देखिएको खण्डमा, नेपालले पहिलोपटक आफ्नै भूमिबाट ग्यास उत्पादन गर्ने मार्ग स्पष्ट हुन्छ। र हामी यो चरणलाई ऊर्जा आत्मनिर्भरतातर्फको वास्तविक सुरुवात मान्न सक्छौं।
दैलेखमा कति ग्यास फेला परेको छ भन्ने मूल्यांकन कस्तो छ?
अन्वेषणमा संलग्न चिनियाँ कम्पनीले दिएको प्रारम्भिक प्रतिवेदन अनुसार, दैलेख क्षेत्रमा करिब ११२ अर्ब घनमिटर प्राकृतिक ग्यासको सम्भावना देखिएको छ। नेपाल जस्तो ऊर्जा आयात-निर्भर देशका लागि यो तथ्य आफैंमा निकै आशाजनक र आर्थिक रूपमा प्रभावकारी मानिन्छ। मिथेनको प्रतिशत कति छ भन्ने विषयमा अहिले अनुमान मात्र गर्न सकिन्छ। चिनियाँ कम्पनीले अन्तिम प्रतिवेदन पेश गरेपछि मात्र ग्यासको वास्तविक गुणस्तरबारे ठोस निष्कर्ष निकाल्न सकिन्छ। ग्यासको उत्पादन–सम्भावना बारे निश्चित कुरा परीक्षण उत्पादन (टेस्ट प्रोडक्सन) पछि मात्र थाहा हुन्छ। त्यो चरण पूरा भएपछि मात्र कति ग्यास व्यावहारिक रूपमा निकाल्न सकिन्छ भन्ने स्पष्ट हुनेछ।
नेपालमा प्राकृतिक ग्यास प्रयोगका के-के सम्भावित क्षेत्रहरु छन्?
विद्युत उत्पादनका लागि प्रयोग गर्न सकिन्छ, जसले देशको ऊर्जा आत्मनिर्भरता बढाउँछ। त्यसैगरी मल (युरिया) उद्योगमा कच्चा पदार्थको रूपमा उपयोग गर्न सकिन्छ, जसले कृषिमा योगदान पुर्याउँछ। खाना पकाउने इन्धनको रूपमा घरायसी र उद्योगमा प्रयोग सम्भव छ। यातायात क्षेत्रमा स्वच्छ इन्धनको विकल्पका रूपमा प्रयोग गर्न सकिन्छ। यी क्षेत्रहरूमा प्राकृतिक ग्यासको उपयोगले देशको ऊर्जा सुरक्षा, आर्थिक विकास र वातावरणीय सुधारमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ।
यो परियोजना आर्थिक र प्राविधिक रुपमा कति सम्भाव्य छ?
अहिलेसम्म यस परियोजनामा केवल प्रारम्भिक अध्ययन गरिएको छ। त्यसैले अहिले नै आर्थिक र प्राविधिक सम्भाव्यता पूर्ण रूपमा मूल्याङ्कन गर्न सम्भव छैन। अझै विस्तृत आर्थिक-प्राविधिक अध्ययन, ईञ्जिनियरिङ्ग सर्वे र डिजाईन, साथै वातावरणीय मूल्याङ्कन आवश्यक छ। यी चरणहरू पूरा भएपछि मात्र परियोजनाको वास्तविक सम्भाव्यता र दीर्घकालीन प्रभाव स्पष्ट हुने छ।
पूर्वाधार विकासमा के-के काम गर्नुपर्ने छ?
परियोजनालाई सफल बनाउनका लागि पूर्वाधार विकास अत्यन्त महत्वपूर्ण छ। यस अन्तर्गत प्रशोधन स्थलदेखि सुर्खेत वरिपरि पाइपलाइन मार्गको विस्तृत ईञ्जिनियरिङ्ग सर्वेक्षण गर्नु आवश्यक छ। पहुँच सडक, स्थिर विद्युत आपूर्ति र पानी स्रोतको निर्माण तथा सुधार गर्नुपर्छ, जसले उत्पादन र उपभोक्ताबीचको सम्पर्क सहज बनाउनेछ। अन्य मुलुक, जस्तै भारतको पाइपलाइन परियोजनाको अनुभव अनुसार, यस्तो पूर्वाधार निर्माणमा प्रति किलोमिटर करिब ८–१२ करोड रुपैयाँको लगानी लाग्न सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ। यसरी पूर्वाधार विकासले मात्र परियोजनालाई व्यावसायिक र दिगो बनाउने आधार तयार हुन्छ।
ग्यासको प्रयोगका लागि कुन-कुन क्षेत्रमा जोड दिनुपर्छ?
प्राकृतिक ग्यासबाट युरिया उत्पादन गर्न आर्थिक र प्राविधिक हिसाबले उपयुक्त हुने र देशमा हालसम्म कुनै रसायनिक मल उत्पादन नभएको हुनाले रसायनिक मल उद्योग निर्माणतर्फ ध्यान दिनुपर्छ। यसको साथै यातायात क्षेत्रको लागि CNG र खाना पकाउनको लागि PNG को उपयोगका सम्बन्धमा सम्भाव्यता अध्ययन गरी implementation मा जोड दिनुपर्ने देखिन्छ।
यसको साथै, हाल कर्णाली क्षेत्रमा विद्युत क्षेत्रमा ठूला क्षमताका आयोजनाहरू कार्यरत नरहेका हुनाले यस क्षेत्रमा प्राकृतिक ग्यासमा आधारित विद्युत आयोजना स्थापना गर्न सकेमा त्यस क्षेत्रको हालको विद्युत समस्याहरू समाधान गर्न सहयोग मिल्नेछ। विद्युत परियोजना संचालनको विकल्पमा दैलेख आसपासको क्षेत्रको लागि ग्यास टर्बाइनमा आधारित ५०–१०० मेगावाट क्षमताको विद्युतिय आयोजना र मुख्य लोड सेन्टरको लागि ग्यास टर्बाइनमा आधारित १००–३०० मेगावाट क्षमताको विद्युतिय आयोजनाको संचालन उपयुक्त देखिएको छ। अध्ययनमा करिब ५९% capacity factor भएको ग्यास टर्बाइनमा आधारित २०० मेगावाट क्षमताको विद्युतिय आयोजनाको संचालनका लागि वार्षिक करिब १९२ मिलियन घनमिटर ग्यास आवश्यक पर्ने देखिन्छ। जुन दैलेखमा फेला परेको ग्यासबाट संचालन गर्न सकिन्छ।
ग्यासमा आधारित मल कारखानाको लागि कस्तो पूर्वाधार आवश्यक छ?
नेपालमा कृषि क्षेत्रको लागि हाल करिब ७ लाख मेट्रिक टन युरिया मलको माग रहेको छ। उक्त माग पूरा गर्न प्रतिदिन करिब २२०० मेट्रिक टन उत्पादन क्षमताको मल कारखाना संचालन गर्नुपर्ने देखिन्छ। साथै, प्रतिदिन करिब ३५०० मेट्रिक टन क्षमताको उत्पादन गर्न सकेमा आर्थिक हिसाबले अझ छिटो प्रतिफल प्राप्त गर्न सकिने देखिन्छ। अध्ययन अनुसार प्रतिदिन करिब २२ सय मेट्रिक टन उत्पादन क्षमता रहने उद्योग संचालनका लागि वार्षिक ४१०–४५२ मिलियन घन मिटर ग्यास र दैनिक १०६९–११२२ मेट्रिक टन नाइट्रोजन ग्यास आवश्यक पर्ने देखिन्छ। यसको लागि २५–३० मेगावाट बिजुली आवश्यक पर्छ। उक्त उद्योगको लागि आवश्यक बिजुली उपलब्ध गराउन सोही क्षेत्रमै ग्यासमा आधारित पावर प्लान्टको निर्माण आवश्यक छ। यसका साथै, करिब १५०–२०० बिघा जमिन आवश्यक छ। धेरै मात्रामा पानी आवश्यक पर्ने भएकाले नदी नजिकैको स्थानमा उद्योग स्थापना उपयुक्त देखिन्छ।
परियोजनाको संचालन कसरी गर्न सकिन्छ?
परियोजनाको संचालनको सम्बन्धमा उपयुक्त मोडेल छनौट गर्नुपर्छ। संचालनका विकल्पहरु मध्ये पहिलो विकल्पमा नेपाल आयल निगम लिमिटेडको १०० प्रतिशत लगानीमा संचालित हुने special purpose vehicle (SPV) र दोश्रो विकल्पमा अधिकांश शेयर आयल निगमको रहने गरी अन्य सरकारी निकाय / संस्थाहरुको समेत लगानी रहने गरी SPV मोडेलमा संचालन गर्न सकिने छ । यस्ता ग्यास फिल्धरु रणनीतिक श्रोत भएको हुनाले यस्तो विकल्पमा अघि बढेमा निर्णय गरेमा उक्त श्रोतमा नेपाल सरकारको पुर्ण नियन्त्रण रही रहनेछ। अन्य विकल्पमा आयल निगमले अन्य अन्तर्राष्ट्रिय कम्पनिहरुसग Joint Venture (JV) गरी परियोजना संचालन गर्न सक्नेछ।
नेपाल आयल निगमको भूमिका
नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति, ढुवानी, भण्डारण र वितरणमा ५५ वर्षको अनुभव, इन्धन डिपो र पाइपलाइन पूर्वाधार सञ्चालनको अनुभव, प्राविधिक जनशक्तिको उपलब्धता, देशभरी वितरण सञ्जाल र अन्तर्राष्ट्रिय सम्बन्धले गर्दा प्राकृतिक ग्यासको उत्पादन र वितरणमा निगम उपयुक्त भूमिका निभाउन सक्छ।
आवश्यक जनशक्ति
उत्पादन, प्रशोधन, भण्डारण, वितरण र औद्योगिक प्रयोगका लागि केमिकल, मेकानिकल, औद्योगिक, इलेक्ट्रिकल, प्रोसेस इन्जिनियर, भूविज्ञजस्ता प्राविधिक जनशक्तिको आवश्यकता छ।
यो योजना कार्यान्वयनको लागि के कस्ता मुख्य चुनौतुहरु रहेका छन् ?
पाइपलाइन पूर्वाधार र मल कारखानाको निर्माण तथा संचालनको लागि ठुलो मात्रामा आर्थिक लगानी पर्ने हुनाले लगानी नै मुख्य चुनौती रहेको छ । पाइपलाइन निर्माणका लागि भौगोलिक जटिलता पनि अर्को चुनौती रहेको छ। यसको साथै, नेपालमा उत्खनन, उत्पादन तथा अन्य सम्बन्धित प्रयोग क्षेत्रमा अनुभवी प्राविधिक दक्ष जनशक्तिको अभाव अर्को चुनौती रहेको छ ।
वि.सं.२०८२ मंसिर १२ शुक्रवार १७:२८ मा प्रकाशित



























