back
CTIZAN AD

नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो

वि.सं.२०८२ मंसिर १९ शुक्रवार

447 

shares

काठमाडौँ । पछिल्लो समय प्रदर्शन भएका नेपाली चलचित्रलाई दर्शकले साथ दिइरहेका छन् ।

केही वर्ष अगाडिसम्म चाडपर्वमा नेपालीभन्दा विदेशी चलचित्रको वर्चस्व देखिन्थ्यो, तर पछिल्लो समय नेपाली दर्शकको प्राथमिकतामा नेपाली चलचित्र नै परेको पाइएको छ । नेपाली कला र संस्कृतिसँगै सामाजिक कथा समावेश गरेर तयार गरिएका प्रदर्शनरत चलचित्रले दर्शकको साथ पाउँदा घरेलु बजारमा राम्रो व्यापार गरेका छन् ।

चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘बक्सअफिस २ सिनेपाः’ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार नेपाली चलचित्र हेर्ने दर्शक बढिरहेको पाइन्छ । चलचित्र भवनमा प्रदर्शनरत ‘परान’, ‘जेरी अन टप’, ‘जारी २’, ‘मन विनाको धन’ लगायतका चलचित्रमा दर्शकको चाप उस्तै छ । आजदेखि प्रदर्शन भएको चलचित्र ‘अभिमन्यू ः च्याप्टर १’ मा पनि दर्शकको आकर्षण बढेको पाइएको छ । उल्लिखित चलचित्रमा नेपाली समाज, परिवेश, सङ्घर्ष र प्राकृतिक सुन्दरता लगायतका विषयलाई कदरमा राखिएको छ ।

गत कात्तिक १४ गतेदेखि प्रदर्शनरत चलचित्र ‘परान’ले घरेलुबजारमा रु १६ करोडभन्दा बढीको व्यापार गरिसकेको छ । पारिवारिक कथामा तयार भएको उक्त चलचित्रले स–परिवारलाई चलचित्र भवनसम्म ल्याउन सफल भएको निर्देशक दीपकप्रसाद आचार्यले बताए ।

“हाम्रो चलचित्रलाई दर्शकले आफैँले हेर्नुस् भनेर सिफारिस गरेको पाएका छौँ, बुबाछोराको कथालाई धेरै दर्शकले आफ्नो कथा रहेको प्रतिक्रिया दिनुभएको छ, मैले मेरो परिवारको कथालाई चलचित्रमा ढालेर तयार गरेको हुँ, यो कथा अहिले प्रायः घर समाजसँग जोडिन्छ भन्नेमा विश्वस्त थिएँ”, निर्देशक आचार्यले भने ।

नीर शाह, मदनकृष्ण श्रेष्ठ जस्ता दिग्गज अभिनेताले अभिनय गरेको उक्त चलचित्रमा बुबाछोराको कथालाई देखाइएको छ । उक्त चलचित्रमा केकी अधिकारी, महेश त्रिपाठी, पूजा चन्द, अञ्जना बराइली लगायतका कलाकारले अभिनय गरेका छन् ।

चाडपर्वलाई लक्षित गर्दै प्रदर्शन भएका नेपाली चलचित्रमा दर्शकको उपस्थिति बलियो देखिएको छ । विदेशीको तुलनामा नेपाली चलचित्रप्रतिको आकर्षण बढेको देखिँदैछ । घरेलु बजारमा नेपाली चलचित्रले गरिरहेको कमाईले समग्र चलचित्र क्षेत्रलाई नै सकारात्मक सन्देश प्रवाह गरेको वितरक करण श्रेष्ठले बताए ।

“घरेलुबजारमा नेपाली चलचित्रले गरिरहेको रिपोर्ट हेर्ने हो भने चलचित्र भवनमा रहेका सबै नेपाली चलचित्रमा दर्शकको उपस्थिति देखिएको छ, यसले दर्शकले नेपाली चलचित्र हेर्ने चाहेको स्पष्ट सन्देश दिएको छ, अब विदेशी चलचित्र नभई स्वदेशी चलचित्र नै कमाईका हिसाबले अगाडि आउँछन्, यो तथ्य स्थापित हुँदैछ”, वितरक श्रेष्ठले भने ।

उनले दर्शकको विश्वास जित्ने चलचित्र आगामी दिनमा पनि तयार गर्न निर्माता तथा निर्देशकलाई आग्रह गरे । निर्देशक पुर्नेन्दु झाले पनि पछिल्लो समय नेपाली चलचित्र हेर्ने प्रचलन बढेको महसुस गरेको बताए । विशेष प्रदर्शनी वा चलचित्र भवनमा पुगेर प्रदर्शन भएका प्रायः चलचित्र हेर्ने गरेको उनले जानकारी दिए ।

“म चलचित्र निर्देशक भएकाले पनि प्रदर्शन भएका प्रायः चलचित्र हेर्छु, धेरै चलचित्र दर्शकसँगै बसेर सार्वजनिक प्रदर्शनमा हेर्ने गरेको छु, पहिलेको तुलनामा दर्शक बढेका छन्, साथै दर्शक सन्तुष्ट पनि छन्, यही क्रम बढ्ने हो भने नेपाली चलचित्रले विदेशी चलचित्रलाई विस्तारै विस्थापित गर्छ”, निर्देशक झाले भने ।

उनले नेपाली चलचित्र हेर्ने दर्शक बढ्नु, व्यावसायिक घराना आकर्षित हुने समग्र चलचित्र क्षेत्रकै लागि सुखद हुने विश्वास व्यक्त गरे । केही वर्ष अगाडिसम्म दसैँ, तिहार, नयाँ वर्ष लगायतका बिदामा विदेशी चलचित्रकै वर्चस्व देखिन्थ्यो, तर पछिल्लो समय भने नेपाली चलचित्रले विदेशीलाई विस्थापित गरिरहेको छ ।

सोही कारण चलचित्र वितरकले महङ्गो मूल्यमा विदेशी चलचित्र नेपाल ल्याउन छाडेका छन् । यो नेपाली चलचित्रका लागि समग्रमा सुखद सङ्केत हो ।

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १६:११ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...