back
CTIZAN AD

पहिरोले उजाडिएको बिसौनाका नागरिकले पाए लालपुर्जा

वि.सं.२०८२ पुस २५ शुक्रवार

510 

shares

गुल्मी । पहिरोले पटक पटक जीवन र बस्ती लुटेको मुसिकोट नगरपालिका–१ बिसौनाका पीडित परिवारले डेढ दशकपछि बल्ल लालपूर्जा पाएका छन् । बिसौनाबाट विस्थापित १५ घरपरिवारले बस्ती स्थानान्तरणका लागि थामडाँडामा खरिद गरिएको जग्गाको जग्गाधनी प्रमाणपत्र पाएका हुन् ।

बिसौनाको पहिरो इतिहास दर्दनाक छ । विसं २०६४ र २०८१ मा गएको पहिरोले एउटै बस्तीबाट १० जनाको ज्यान लिएको थियो । पहिरोले घर च्याप्दा चोकबहादुर विकका आमा रुन्नती विक, श्रीमती अमृता विक तथा छोरा कृष्ण र सुरजको अकालमै ज्यान गएको थियो ।

पहिरोको त्रासबाट बच्न छिमेकीको घरमा ओत खोज्न आएका डल्ली विक र मुना विकले समेत पहिरोमै परेर ज्यान गुमाउनु प¥यो । “त्यो दिन म भारतमा थिएँ, यहाँ भएको भए सायद आज म पनि उनीहरुसँगै मर्ने रहेछु”, चोकबहादुर विक विगतको उक्त दर्दनाक घटना सम्झँदै भन्छन्।

भारतबाट फर्किएपछि उनी बिसौना छाडेर थाममा बसाइँ सरे । तर नियतिले फेरि पीडा थप्यो । विसं २०८१ साउन २२ गते बिसौनामै पुनः पहिरो जाँदा पहिलेको पहिरोमा बाँचेकै उनका आफन्त चार जनाले ज्यान गुमाएका थिए । लगातारको जोखिमपछि बिसौनाका १५ परिवार गत वर्षदेखि गाउँ छाडेर थाममा अस्थायी रूपमा बसोबास गर्दै आएका थिए ।

अहिले नगरपालिका र लाभग्राहीको ५०÷५० प्रतिशत लागत साझेदारीमा थामडाँडा नजिकै नौ रोपनी १५ आना जग्गा खरिद गरिएको छ । नगरपालिकाका प्रमुख जीवलाल खरेलले पीडितलाई सुरक्षित जमिनको मालिक बनाउन मात्र डेढ वर्ष लागेको बताए ।

“नजिकको स्थानीय सरकार भएकाले पीडामा आँसु पुच्छ्न आएका थियौँ, लामो समयको पखाइपछि भर्खर सुरक्षित ठाउँमा जग्गा पाएका छौँ, अब उनीहरुको घर निर्माणका लागि सङ्घ र प्रदेश सरकारसँग समन्वय र पहल भइरहेको छ”, उनले भने । जग्गाको कित्ताअनुसार लाभग्राहीले रु एक लाखदेखि एक लाख ५० हजारसम्म बुझाएका छन् ।

लाभग्राही र नगरपालिकाको संयुक्त लगानीमा करिब रु ३५ लाखमा जग्गा खरिद गरिएको नगर उपप्रमुख गङ्गा श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार विस्थापित परिवारका लागि नगरपालिकाले गत वर्षदेखि भाडाको व्यवस्था गर्दै आएको छ ।

लालपुर्जा पाएसँगै पीडितलाई अब चाँडै घरको आवश्यकता छ । पहिरो पीडित फुलमती विकको पाँच जनाको परिवार अरूको घरमा बसेको डेढ वर्ष भयो । बास एकातिर, बारी अर्कोतिर हुँदा आफूहरुलाई धेरै समस्या परेको उनले गुनासो गरे । जग्गाका लागि ऋण खोजेर पैसा बुझाए पनि अब घर कसले बनाइदेला भन्ने आशमा पीडित परिवार छन् ।

भिरालो र कच्ची जमिनका कारण पटक–पटक बसाइँ सर्नुपरेको बिसौनामा २० देखि २२ घर जोखिमा भए पनि हाल १५ घरका लागि मात्रै जग्गा व्यवस्थापन गरिएको वडाध्यक्ष आनन्द श्रेष्ठले जानकारी दिए । जिल्लाका अधिकांश दलित बस्ती भिरालो र जोखिमयुक्त भूभागमा रहेकाले पहिरोको खतरा अझै ठूलो रहेको स्थानीयको चिन्ता छ ।

लालपुर्जासँगै सुरक्षित बास र स्थायी जीवनको आशा पलाए पनि, थामडाँडामा विस्थापितका लागि घर निर्माण र जीविकोपार्जन अझै चुनौतीकै विषय बनेको बताइएको छ ।

वि.सं.२०८२ पुस २५ शुक्रवार १३:२५ मा प्रकाशित

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

काठमाडौं । ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ’ए सिक्स एस...