गण्डकी । पोखरामा बिहिबारदेखि जारी ‘आर्ट इन हिमालय’ कला प्रदर्शनीमा राखिएका कलाका माध्यमबाट पछिल्ला समयमा भइरहेको जलवायु परिवर्तनको प्रभावसँगै नेपालको बढ्दो युवा पलायनप्रति चिन्ता व्यक्त गरिएको हो ।
सिर्जनशील कलाकार सूमह, पोखराको आयोजना र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा पोखरा महानगरपालिका–९ नयाँ बजारस्थित पोखरा आर्ट ग्यालरीमा राखिएका कलामार्फत नेपाली प्रकृति र संस्कृतिको उजागर गर्न खोजिएको छ नै बढ्दै गएको जलवायु परिवर्तन तथा युवा पलायन जस्ता कुरालाई जीवन्त चित्रण गर्न खोजिएको छ ।
जलवायु परिवर्तनको असरलाई कलामार्फत प्रस्तुत गर्दै कलाकार रिक गुरुङले बढ्दै गएको तापमानका कारण पृथ्वी आकुलव्याकुल भएको र यसबाट बचाउनका लागि शङ्खघोष गर्न खोजेको दृश्य देखाइएको छ ।
त्यस्तै गुरुङले प्रदर्शनीमा राख्नुुभएको अर्को कलाले नेपाली मौलिक संस्कृतिलाई जीवन्त रुपमा प्रस्तुत गर्न खोजेको छ । नेपाली परम्परागत घुमाउने घरसहितको परिवेशमा परम्परागत पोसाकमा सजिएका व्यक्ति मादल बजाउँदै नाच्दै गरेको दृश्यलाई कलामा उनले समेटेका छन् ।
प्रदर्शनीमा नै राखिएको कलाकार बुद्धि गुरुङको माछापुच्छ«े हिमालको दृश्यले यहाँ आउने जो कोहीलाई लोभ्याएको छ । प्रदर्शनीमा नै राखिएको कलाकार बाबुराम बस्ताकोटीको कलाले नेपाली समाजको बढ्दो युवा पलायनलाई चित्रण गर्न खोजेको छ । युवा जनशक्ति पलायन भएका अवस्थामा एउटा सानो बालकले खेतमा गोरु जोत्न खोजेको तर उ, आफैँ के गराँै कसो गरौँ जस्तो भएर अलमलिएको जस्तो दृश्य प्रस्तुत गरिएको छ । युवाहरूको पलायनसँगै बढ्दो बसाइँसराइ समस्याका रुपमा गाँजिदै गएको कलामार्फत सन्देश दिन खोजिएको छ ।
बेलायतबाट आउनुभएकी कलाकार जुलिएत्ले रोछेले नेपाली आदिवासी महिलालाई कलामा उतारेका छन् । प्रदर्शनीमा उहाँसहित अन्य विदेशी कलाकारका कला राखिएका छन् । सिर्जनशील कलाकार समूहका अध्यक्ष डिबी गुरुङका अनुसार प्रदर्शनीमा नेपालसहित सात देशका कलाकारका कलाकृति प्रदर्शनीमा राखिएका छन् ।
प्रदर्शनीमा नेपाली ३३ र अमेरिका, अष्ट्रेलिया, बेलायत, डेनमार्क, क्यानडा र आयरल्यान्डका गरी १५ विदेशी कलाकारले सहभागिता जनएको बताउँदै उनले कुल ७० कलाकृतिलाई प्रदर्शनीमा राखिएको जानकारी दिए ।
विदेशी कलाकार स्वयम् उपस्थित भएर उनीहरूका कलाकृतिसमेत प्रदर्शनीमा राखिएको जनाउँदै उनले उनीहरूसँग नेपाली कलाकारले पनि सँगै साक्षात्कार गर्न पाउँदा त्यसले यहाँको कलाकारितालाई विश्वमाझ पु¥याउन र त्यहाँका अनुभव सिक्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
यसले पोखराको कलाकारितालाई विश्वमाझ पु¥याउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको जनाउँदै उनले त्यहाँबाट आउने कलाकारले यहाँका कलाकृति किन्ने भएकाले कलाकारलाई पनि आर्थिक रुपमा समेत फाइदा पुग्ने बताए । समूहकै आयोजनामा दोस्रो चरणको प्रदर्शनी आगामी माघ १० गतेदेखि सुरु हुने र उक्त प्रदर्शनीमा २० जना विदेशी कलाकारसहित नेपाली कलाकारले सहभागिता जनाउने उनले जानकारी दिए ।
विदेशी कलाकारलाई नेपालमा ल्याउन विगत लामो समयदेखि संयोजन गरिरहेका डिल्लीरत्न तुलाधरले उनीहरूबाट नेपाली कलाकारले अन्तरराष्ट्रियस्तरको कलाका सम्बन्धमा धेरै जान्न र बुझ्न सक्ने बताए । “नेपाली कलाकारलाई विदेशमा गएर त्यहाँको कलाबारे जान्न र बुझ्न आर्थिक रुपले पनि त्यति सहज छैन”, उनले भने, “विदेशका अनुभवलाई यहीँ बसेर जान्न र बुझ्न पनि यो कार्यक्रम फलदायी हुने मेरो विश्वास छ ।”
उनले विदेशी कलाकारले कला खरिद गरेर लैजाने भएकाले यहाँका कलाकारलाई पनि त्यसबाट आर्थिक रुपमा फाइदा पुग्ने बताए
। विदेशी कलाकारिताका क्षेत्रमा काम गर्ने पर्यटकहरू खर्चिला हुने भएका कारण पनि त्यसबाट यहाँको पर्यटनमा समेत फाइदा पुग्ने अपेक्षा गरिएको छ ।
प्रदर्शनीका लागि विदेशी कलाकारको संयोजन गर्दै आउनुभएकी आयरल्यान्डकी कलाकार लोरा मर्फीले नेपाली कलाकारसँगै प्रदर्शनीमा सहभागी हुन पाउँदा आफूहरु हर्षित बनेको धारणा राख्नुुभयो । पोखरा र आसपासका क्षेत्रका कलाकारलाई अन्तरराष्ट्रियस्तरका कलाकारसँग जोड्न आफूले पहल गर्दै आएको उहाँको भनाइ छ ।
प्रदर्शनीमा विदेशी कलाकारसँगै वरिष्ठ कलाकार बुद्धि गुरुङ, क्षेत्रलाल कायस्थ, गोपाल श्रेष्ठ, हरिराम जोजिजु, पदम घले, यावदचन्द्र भुर्तेललगायत पछिल्लो पुस्ताका कलाकारले समाजका विविधतालाई कलाका माध्यमबाट चित्रण गर्न खोजिएको सिर्जनशील कलाकार समूहका अध्यक्ष गुरुङले जानकारी दिए ।
“हाम्रा प्रकृति संस्कृतिसँगै समाजको विविधता एवम् वर्तमान यथार्थतालाई प्रदर्शनीमा राखिएका कलाले चित्रण गरेका छन”, उनले भने, “स्वदेशी एवम् विदेशी कलाकारका कलालाई एकै ठाउँमा नियाल्नका लागि पनि यो प्रदर्शनी आफैँमा महत्वपूर्ण छ ।”
वि.सं.२०८२ पुस २५ शुक्रवार १४:४१ मा प्रकाशित






























