काठमाडाैँ । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौँ वार्षिक साधारण सभा २०८२ साल पौष २४ गते बिहीबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभाध्यक्षतामा काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा सम्पन्न भएको छ।
सभाले सामान्य प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको प्रतिवेदन, सोही वर्षको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अनुसूचीसहितको वित्तीय विवरण सर्वसम्मतिले पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८२/०८३ का लागि कम्पनीको बाह्य लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि स्वीकृत गरिएको छ।
सभाले सञ्चालक समितिको प्रस्तावअनुसार आर्थिक वर्ष २०८१/०८२ को वितरणयोग्य मुनाफाबाट कम्पनीको तत्काल कायम चुक्ता पुँजीको १०.५२६३२ प्रतिशतका दरले हुने रकम रु. ५२ करोड ६३ लाख १५ हजार ७ सय ८९ (कर प्रयोजनसमेतका लागि) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
विशेष प्रस्तावअन्तर्गत कम्पनीको प्रबन्ध–पत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोहीअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिएको छ। साथै, आर्थिक वर्ष २०८१/०८२ मा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीबाट भएको खर्चसमेत सभाले अनुमोदन गरेको छ।
सभामा बोल्दै सभाध्यक्ष तथा सञ्चालक समितिका अध्यक्ष डा. अर्यालले कम्पनीको उन्नति र प्रगतिमा निरन्तर अमूल्य सुझाव र सहयोग प्रदान गर्ने आदरणीय शेयरधनीहरू, सञ्चालक समितिका सदस्यहरू, कम्पनीप्रति विश्वास र भरोसा राख्ने सम्पूर्ण बीमितहरू, नियमनकारी निकाय, पुनर्बीमा कम्पनीहरू, कम्पनीका कर्मचारीहरू, मेरुदण्डका रूपमा रहेका अभिकर्ताहरू, बैंक तथा वित्तीय संस्था एवं अन्य शुभेच्छुकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो।
वि.सं.२०८२ पुस २८ सोमवार १२:५० मा प्रकाशित




























