back
CTIZAN AD

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

वि.सं.२०८२ चैत २९ आइतवार

273 

shares

इस्लामावाद  । मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको मध्यस्थतामा भएको इरान र संयुक्त राज्य अमेरिकाबीचको लामो वार्ता कुनै ठोस सहमतिविना टुङ्गिएको छ । २१ घण्टासम्म चलेको म्याराथन छलफलपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आइतबार वार्ता निष्कर्षविहीन बनेको जानकारी दिए ।

वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले वासिङ्टनले तेहरानसँग आणविक हतियार विकास नगर्ने ‘मौलिक प्रतिबद्धता’ खोजेको भए पनि त्यसतर्फ स्पष्ट सङ्केत नदेखिएको बताए । सन् १९७९ को इस्लामिक क्रान्तिपछि उच्चस्तरीय रूपमा भएको यस्तो संवादलाई महत्त्वपूर्ण मानिए पनि अपेक्षित उपलब्धि हासिल हुन सकेन । उनका अनुसार अमेरिकाले इरानलाई ‘अन्तिम र उत्तम प्रस्ताव’ दिएको छ र त्यसबारे निर्णय लिन केही समय प्रदान गरिएको छ ।

यसैबीच, संयुक्त राज्य अमेरिका र इजरायलले मङ्गलबारदेखि दुई साताका लागि वार्ता स्थगित गर्ने सङ्केत दिएका छन् । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको द्वन्द्वले मध्यपूर्व क्षेत्रलाई अस्थिर बनाउनुका साथै विश्व अर्थतन्त्रमा समेत असर पारेको छ । आक्रमणपछि इरानले प्रतिशोधात्मक कदम चालेपछि तनाव झनै चुलिएको हो ।

वार्ताका क्रममा दुवै पक्ष आ–आफ्ना कडा अडानसहित प्रस्तुत भएका थिए । अमेरिकाले होर्मुज जलडमरूमध्य क्षेत्रमा माइन हटाउन युद्धपोत पठाएको दाबी गर्दै दबाब सिर्जना गरिरहेको आरोप इरानी पक्षले लगाएको छ । उक्त जलडमरूमध्य विश्वको करिब पाँचौँ भाग तेल आपूर्तिको प्रमुख मार्ग मानिन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने वार्ताको परिणामप्रति आफूलाई खास चासो नभएको प्रतिक्रिया दिनुभएको छ । उहाँले युद्धमैदानमा अमेरिका पहिले नै विजयी भइसकेको दाबी गर्दै इरानी नेतृत्वलाई कमजोर पारिएको र सैन्य संरचनामा क्षति पु¥याइएको उल्लेख गर्नुभयो । “सम्झौता भए पनि नभए पनि फरक पर्दैन, हामीले जितिसकेका छौँ”, उनले भने ।

उता, इरानले भने कुनै पनि सम्भावित सम्झौतामा आफ्ना जफत गरिएका सम्पत्ति फुकुवा हुनुपर्ने र लेबनानमा हिजबुल्लाहविरुद्धको इजरायली आक्रमण रोकिनुपर्ने माग राखेको छ । तर भान्सले ती विषयहरू इस्लामावाद वार्ताको दायराभन्दा बाहिर रहेको स्पष्ट पारे ।

वार्तामा इरानी प्रतिनिधिमण्डलको नेतृत्व संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफले गर्नुभएको थियो भने विदेशमन्त्री अब्बास अराघची पनि सहभागी थिए । अमेरिकी टोलीमा ट्रम्पका निकट सहयोगी स्टिभ विटकफ र जारेड कुशनरसमेत सहभागी थिए । इरानले विशेषतः भान्सको उपस्थिति र विगतमा युद्धविरोधी धारणा राखेकाले वार्ताप्रति केही अपेक्षा गरेको थियो ।

युद्ध सुरु भएसँगै इरानले होर्मुज जलडमरूमध्यमाथि नियन्त्रण कायम गर्दै विश्व तेल बजारमा प्रभाव पारेको छ । तेलको मूल्य वृद्धिले अमेरिकामा समेत राजनीतिक दबाब सिर्जना गरेको छ । अमेरिकी सेनाले जलडमरूमध्य सुरक्षित बनाउने प्रयास गरिरहेको दाबी गरे पनि इरानले त्यस्तो कुनै गतिविधि स्वीकार गरेको छैन र हस्तक्षेप भए कडा जवाफ दिने चेतावनी दिएको छ ।

यता लेबनानमा इजरायल र हिजबुल्लाहबीचको द्वन्द्व पनि जारी छ । इजरायली आक्रमणमा मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघिसकेको लेबनानी अधिकारीहरूले जनाएका छन् । आगामी साता इजरायल र लेबनानबीच वासिङ्टनमा छुट्टै वार्ता हुने तयारी छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दीर्घकालीन शान्ति सम्झौताको चाहना व्यक्त गरेका भए पनि हिजबुल्लाहसँग तत्काल युद्धविराममा सहमति जनाएका छैनन् ।

यसैबीच, इरानभित्रै पनि अमेरिकाप्रति गहिरो अविश्वास कायमै देखिएको छ । “अमेरिकासँगको वार्ताको अनुभव सधैँ असफलता र भङ्ग गरिएका प्रतिबद्धतासँग जोडिएको छ”, गालिबफले भने । यद्यपि दुवै पक्षले कूटनीतिक ढोका पूर्ण रूपमा बन्द नगरेको सङ्केत दिएका छन् ।

विशेषज्ञहरूका अनुसार ठूलो र उच्चस्तरीय इरानी टोलीको सहभागिताले उनीहरू सम्झौताको सम्भावनाप्रति गम्भीर रहेको देखाए पनि आपसी अविश्वास र क्षेत्रीय जटिलताले सहमति टाढा धकेलेको छ ।(रासस/एएफपी)

वि.सं.२०८२ चैत २९ आइतवार १३:१४ मा प्रकाशित

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

काठमाडौँ । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल...

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

गण्डकी । समाजमा अवैध गतिविधि, गुण्डागर्दी गर्ने र शान्तिसुरक्षामा खलल...

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका...

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

महेन्द्रनगर (धनुषा) । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षामा...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल...