काठमाडौं । वस्तु तथा सेवा खरिद गर्दा उपभोक्तालाई अनिवार्य रूपमा बिजक लिन प्रोत्साहन गर्न सरकारले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ जारी गरेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ ले दिएको अधिकार प्रयोग गर्दै अर्थ मन्त्रालयले कार्यविधि स्वीकृत गरेको हो, जुन हाल लागू भइसकेको छ।
कार्यविधिअनुसार स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमको अधीनमा रही आन्तरिक राजस्व विभागले उक्त उपहार कार्यक्रम सञ्चालन गर्नेछ। आवश्यक परे विभागले कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि इभेन्ट अर्गनाइजरसमेत छनोट गर्न सक्नेछ। यो कार्यक्रममार्फत सरकारले बिजक लिने संस्कृतिको विकास, विद्युतीय भुक्तानीको प्रोत्साहन, कर छली न्यूनीकरण र पारदर्शी कारोबार प्रणाली सुदृढ बनाउने लक्ष्य लिएको छ।
नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि एक पटकमा रु एक सयभन्दा बढी मूल्यका वस्तु वा सेवा खरिद गर्ने उपभोक्ता कार्यक्रममा सहभागी हुन योग्य हुनेछन्। प्रत्येक योग्य खरिदको बिजक वा विद्युतीय भुक्तानीका आधारमा प्रणालीले एक उपहार टिकट उपलब्ध गराउनेछ र प्रत्येक बिजक एकपटक मात्र सहभागी हुन पाउनेछ।हरेक महिनाको पहिलो दिनदेखि मसान्तसम्म विद्युतीय भुक्तानीबाट भएका खरिद तथा प्रणालीमा प्रविष्ट गरिएका बिजक सोही महिनाको उपहार कार्यक्रममा समावेश हुनेछन्।
भुक्तानी सेवा प्रदायकमार्फत गरिएको विद्युतीय भुक्तानी स्वतः कार्यक्रममा समावेश हुनेछ भने नगद वा अन्य माध्यमबाट खरिद गरेकाले निर्धारित अवधिभित्र बिजक नम्बर, विक्रेताको स्थायी लेखा नम्बर, बिजक जारी मिति, कूल रकम, भुक्तानीको प्रकार, खरिदकर्ताको नाम र मोबाइल नम्बर विभागको प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ।
व्यावसायिक प्रयोजनका खरिद, सरकारी निकाय वा सार्वजनिक संस्थाका नाममा जारी बिजक, टेलिफोन, इन्टरनेट, विद्युत्, सवारी तथा ढुवानीका साधन, हवाई टिकट खरिदसम्बन्धी बिजक र प्यान नलिएका व्यक्तिबाट खरिद गरिएका बिजक कार्यक्रममा समावेश गरिने छैनन्। एउटै बिजक वा विद्युतीय भुक्तानीका आधारमा एकभन्दा बढी पटक सहभागी हुन पनि पाइने छैन।
विभागले हरेक महिनाको १ गते र १६ गते स्वचालित प्रणालीमार्फत ड्र गर्नेछ। पहिलो चरणमा अघिल्लो महिनाको १६ गतेदेखि मसान्तसम्मका र दोस्रो चरणमा सोही महिनाको १ गतेदेखि १५ गतेसम्मका कारोबारका आधारमा विजेता चयन गरिनेछ। प्रत्येक दिन एक जना विजेता छानिनेछ भने हरेक १५ दिनमा एक जना बम्पर विजेता चयन हुनेछ। ड्र कार्यक्रममा उच्चपदस्थ व्यक्ति, विभिन्न निकायका प्रतिनिधि र सञ्चारकर्मीलाई समेत आमन्त्रण गर्न सकिनेछ। दैनिक विजेताले रु एक लाख ३३ हजार ३३४ बराबरको उपहार पाउनेछन् भने पाक्षिक बम्पर विजेताले रु १० लाख प्राप्त गर्नेछन्।
उपहार रकम वितरण गर्दा आयकर ऐन, २०५८ अनुसार आकस्मिक लाभमा लाग्ने २५ प्रतिशत कर कट्टी गरिनेछ। विजेताको नाम मोबाइल नम्बर र इमेलमार्फत जानकारी गराइनेछ भने विभागको वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ।
विजेताले घोषणा भएको मितिले १५ दिनभित्र सक्कल बिजक, नागरिकता वा अन्य आधिकारिक परिचयपत्र, बैंक खाता विवरण र स्थायी लेखा नम्बरसहित नजिकको आन्तरिक राजस्व कार्यालयमा आफैँ वा वारेसमार्फत निवेदन दिनुपर्नेछ। कार्यालयले १० दिनभित्र कागजात परीक्षण गरी विभागमार्फत विजेताको बैंक खातामा उपहार रकम सोझै जम्मा गर्नेछ।
पेश गरिएका कागजात झुट्टा, नक्कली वा किर्ते प्रमाणित भएमा सम्बन्धित व्यक्तिविरुद्ध प्रचलित कानुनबमोजिम कारबाही हुनेछ। तोकिएको अवधिभित्र आवश्यक कागजातसहित दाबी नगरेमा उपहार रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।सरकारले यो कार्यक्रमलाई कर प्रणालीमा स्वेच्छिक सहभागिता बढाउने, बिजक लिने बानी विकास गर्ने, विद्युतीय भुक्तानी विस्तार गर्ने र राजस्व चुहावट नियन्त्रणका लागि महत्त्वपूर्ण कदमका रूपमा अघि बढाएको जनाएको छ।
वि.सं.२०८३ साउन ५ मंगलवार ११:०२ मा प्रकाशित






























