काठमाडौं । राजधानीको कीर्तिपुरमा गुडिरहेको कारमा एक्कासि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ।
प्रहरीका अनुसार चाँदनी चोक नजिकै बा ५ च ३०३८ नम्बरको किया कारमा एक्कासि आगो लागेको थियो । आगलागी भएपछि चालकले समयमै बाहिर निस्कन नसक्दा उनी गाडीभित्रै फसेका थिए। स्थानीय र सुरक्षाकर्मीले उद्धारको प्रयास गरे पनि चालकको घटनास्थलमै जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनालगत्तै नेपाल प्रहरी र दमकल घटनास्थल पुगेका थिए। केही समयपछि आगो नियन्त्रणमा लिइए पनि कार पूर्ण रूपमा जलेर नष्ट भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीका अनुसार मृतक चालकको पहिचान (सनाखत) हुन बाँकी छ । घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ।
वि.सं.२०८३ साउन ५ मंगलवार १३:१२ मा प्रकाशित





























