सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सेराघारीस्थित सडकखण्डमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सिम्ता गाउँपालिकाबाट गुमीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०४९० नम्बरको फोर्स गाडी बुधबार आफैं अनियन्त्रित भई सडकमै पल्टिएको हो। दुर्घटनाका बेला गाडीमा चालकसहित २० जना सवार थिए।
गाडी गुर्भाकोट नगरपालिका–१३ निवासी ४३ वर्षीय गगन थापाले चलाइरहेका थिए। दुर्घटनामा चालक सुरक्षित रहेका छन् भने अन्य १९ यात्रु घाइते भएका हुन्। घाइतेहरूको उद्धार गरी सुर्खेतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार सिम्ता गाउँपालिका–९ निवासी ४० वर्षीय गणेश वली, गुर्भाकोट–१३ निवासी ५ वर्षीय रियाज शाही र तनहुँ घर बताउने ३९ वर्षीया भावना राईको अवस्था गम्भीर रहेको छ। उनीहरूको टाउकोमा गम्भीर चोट लागेको जनाइएको छ।
अन्य घाइतेहरूको कर्णाली प्रदेश अस्पताल, कर्णाली केयर अस्पताल, माया अस्पताल तथा मेहेलकुना अस्पतालमा उपचार भइरहेको छ। अधिकांशको टाउको, हात, खुट्टा, ढाड तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।
दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहेको छ। प्रहरीले चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।
वि.सं.२०८३ साउन ६ बुधवार १६:०४ मा प्रकाशित






























