काठमाडौँ । नेपाल राष्ट्र बैंकले पछिल्लो समय प्रविधिको विकाससँगै बढ्दै गएको वित्तीय ठगीबाट जोगाउन सर्वसाधारणका लागि वित्तीय चेतनामूलक सन्देश जारी गरेको छ ।
केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय ठगी पहिचान गर्ने मुख्य संकेतहरू सार्वजनिक गर्दै सबैलाई सतर्क रहन आग्रह गरेको हो ।
राष्ट्र बैंकका अनुसार स्क्यामरहरूले विभिन्न विश्वासिला कथा वा प्रलोभन देखाएर मानिसहरूको पैसा तथा गोप्य वित्तीय सूचना चोरी गर्ने गरेका छन् । अपरिचित व्यक्ति वा संस्थाले पठाएका लिंक र फाइलहरू खोल्न लगाउने, तुरुन्तै भुक्तानी गर्न वा नयाँ खातामा रकम पठाउन दबाब दिने, सामाजिक सञ्जालमार्फत मात्र कुराकानी गरी युजरनेम, पासवर्ड, पिन (एक्ष्ल्) तथा ओटीपी माग्ने जस्ता लक्षणहरू ठगीका मुख्य संकेत हुन् । साथै, बिना जोखिम धेरै नाफा हुने आकर्षक प्रस्ताव देखाउनु पनि वित्तीय ठगीको अर्को स्वरूप भएको बैंकले जनाएको छ ।
वित्तीय ठगीमा पर्दा पीडित व्यक्ति स्वयंले अनजानमा रकम पठाउने, गोप्य वित्तीय सूचना चोरी हुने तथा डिभाइस वा स्क्रिन सेयरिङमार्फत अर्काले पहुँच स्थापित गर्ने खतरा रहने हुँदा कुनै पनि शंकास्पद कारोबारमा नपर्न राष्ट्र बैंकले सचेत गराएको छ ।
कुनै पनि लेनदेनमा शङ्का लागेमा तत्काल रोकिई आधिकारिकता जाँच्न र आवश्यक परेमा साइबर ब्यूरो, नेपाल प्रहरी, सम्बन्धित वित्तीय संस्था वा नियमनकर्तालाई जानकारी गराउन बैंकले अनुरोध गरेको छ । सर्वसाधारणले नेपाल राष्ट्र बैंकको अनलाइन पोर्टल (www.gunaso.nrb.org.np) वा टेलिफोन नम्बर ०१–५७१९६०५ मार्फत आफ्ना गुनासो दर्ता गराउन सक्नेछन् ।

वि.सं.२०८३ साउन १२ मंगलवार १२:५५ मा प्रकाशित






























