काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए । विद्यालय परिसरमा उत्सवपूर्ण सजावट पनि गरिएको थियो । सबै शिक्षक र विद्यार्थीहरू भेला भए । ‘वान, टु थ्रि…’ भनेपछि ‘केक’ काटियो । सबै विद्यार्थीले ताली ठोके । विद्यार्थीहरूले बेलुन फुटाए । सिठी फुके । होहल्लासहित रमाइलो गरे ।
त्यहाँ कुनै शिक्षक वा विद्यार्थीको ‘वर्थ डे’ थिएन । न त कुनै शिक्षकको बढुवा भएको वा कुनै विद्यार्थीले पुरस्कार जितेको उत्सव नै थियो । विद्यालयमा गुरू पूर्णिमा विशेष कार्यक्रम सञ्चालित थियो ।
विद्यार्थीले प्रधानाध्यापक नारायणप्रसाद गौतमलाई खादा लगाइदिए । अनि गौतमसहित सबै शिक्षकलाई केक खुवाउन थाले । शिक्षकहरूलाई उनीहरुले सम्मान गरे । सांस्कृतिक कार्यक्रम पनि भयो ।
नियमित कक्षामा ‘बोर’ मान्ने विद्यार्थीहरू पनि आजको गुरू पूर्णिमाको सांस्कृतिक कार्यक्रममा सक्रिय र उत्साहपूर्वक सहभागी भए । उनीहरु बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म विद्यालयमै गुरूहरूका साथ रमाइलो वातारणमा थिए ।
सो विद्यालयका बाल क्लबको अध्यक्ष रहेकी कक्षा ९ की राममाया जैसीले भने, “हामीले आफैँ व्यवस्थापन गरेर कार्यक्रम ग¥यौँ । नाचगान र रमाइलो भयो । गुरूहरुको सम्मान ग¥यौँ । केक पनि काटियो ।” केक काट्नु त नेपाली संस्कृति हो र ? भन्ने प्रश्नमा विद्यार्थी जैसीले समयअनुसार केकलाई पनि समेटिएको प्रतिक्रिया दिए ।
छ सय ५० विद्यार्थी र २६ शिक्षक रहेको रानीदेवी माविका प्रधानाध्यापक गौतमले विद्यार्थीको संयोजनमा सांस्कृतिक कार्यक्रमसहित गुरू पूर्णिमा मनाइएकामा खुसी व्यक्त गरे ।
“पछिल्लो समय विद्यार्थीहरूमा गुरुहरुप्रति सम्मान गर्ने भावना बढेको हो कि भन्ने देखिएको छ । यो सकारात्मक पक्ष हो । संस्कारयुक्त शिक्षाको नाराका साथ विगत तीन वर्षदेखि जोड दिँदै आएकामा त्यसको सकारात्मक प्रभाव परेको छ । पहिला पहिलाका गुरू पूर्णिमामा भन्दा यस पटक विद्यार्थीको उपस्थिति राम्रो भयो । खर्च पनि उनीहरुले आफै उठाएर गरे । विद्यार्थी जागरुक भएका हुन् भन्ने अनुभूति भएको छ ।”
गुरु पूर्णिमाः गुरुप्रति सम्मानका साथै संस्कारको मौलिक पर्वका रुपमा लिइन्छ । गुरु पूर्णिमालाई विद्यालयमा केवल औपचारिक समारोहका रूपमा होइन, गुरु–शिष्य परम्पराको जीवन्त अभ्यासका रूपमा मनाउनुपर्नेमा पछिल्लो समय आधुनिक र पश्चिमा संस्कृतिको प्रभावले तडकभडकपूर्ण कार्यक्रम पनि देखिने गरेको छ । गुरुप्रतिको सम्मान भनेको औपचारिकता मात्रै पनि होइन, अन्तरमनको सम्मान हो ।
वैदिक परम्पराअनुसार महर्षि वेदव्यासको जन्मजयन्तीका रूपमा मनाइने गुरु पूर्णिमाले ज्ञान, अनुशासन, संस्कार र चरित्र निर्माणको महत्वलाई स्थापित गर्दछ । गुरुबाट केवल विषयगत ज्ञान मात्र नभई जीवन जिउने कला, नैतिकता र जिम्मेवारी सिक्ने दिनका रूपमा यसको विशेष महत्व रहेको मानिन्छ ।
विद्यार्थीले आफ्ना शिक्षकप्रति सम्मान व्यक्त गर्दै विद्यालय परिसर सरसफाइ, पुस्तकालय व्यवस्थापन, वृक्षरोपण, अध्ययन–अभियान, नैतिक शिक्षा तथा सेवा–भावका गतिविधिमा सहभागी पनि गर्न सक्छन् ।
नेपाल संस्कृत विश्वविद्यालयका वाल्मिकी विद्यापीठका उपप्राध्यापक खगेन्द्र नेपाल पुस्तान्तरणसँगै गुरु पूर्णिमाको ढाँचा परिवर्तन आएको स्वीकार गर्नुहुन्छ । सहरिया क्षेत्रमा गुरु पूर्णिमालाई ‘टिचर्स डे’ भन्न थालिएको छ । आज गुरु पूर्णिमा मात्रै भएकाले यसलाई त्यहीरुपमा मनाइदिनुपर्छ भने हामीले आफ्नो ठाउँबाट वकालत गरिरहेको उपप्राध्यापक नेपालले बताए । विश्व शिक्षक दिवस अक्टोबर ५ तारिखमा मनाइन्छ । परम्परागत रुपमा गुरु पूर्णिमा मनाउँदा श्लोक र कविताबाट आरम्भ गरेर वास्तविक रुपमा सम्मानभाव प्रकटसहित गुरु पूर्णिमा मनाउनुपर्ने उनकोे भनाइ छ ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालका अध्यक्ष काशी दङ्गालले विभिन्न सन्दर्भमा सिकाउने गुरुहरुलाई श्रद्धा व्यक्त गर्ने, स्मरण गर्ने, राम्रा कुरालाई पछ्याउने दिनका रुपमा विद्यार्थी र शिक्षकले आजको दिनलाई मनाउनुपर्ने बताए । सुनसरीको जनता मावि व्यवस्थापन समितिका अध्यक्ष दङ्गालले हाल आफ्नो जिल्लामा बन्द भएकाले गुरु पूर्णिममा मनाउन नपाइएको बताए ।
मध्यबानेश्वरस्थित एम्बिसन एकेडेमीका प्रिन्सिपल विष्णुकुमार घिमिरेले गुरु पूर्णिमाको दिनले गुरु–शिष्य सम्बन्धको ऐतिहासिक पृष्ठभूमि र महत्व सम्झाउने तथा परम्परागत रूपमा विद्यार्थीले गुरुबाट आशीर्वाद लिने, गुरुका अनुभव सुन्ने, आफूले सिकेका विषयप्रति आत्मसमीक्षा गर्ने तथा आगामी दिनमा अझ अनुशासित र जिम्मेवार बन्ने प्रतिबद्धता व्यक्त गर्ने अभ्यासलाई प्राथमिकता दिन प्रेरित गर्नुपर्ने बताए । उनले त्यही भावका साथ आफ्ना विद्यार्थीहरुले आजको उत्सव मनाएको बताए ।
वि.सं.२०८३ साउन १३ बुधवार १७:५२ मा प्रकाशित






























