काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा। हेमराज शर्माले आफ्नो व्यक्तिगत खर्चको विवरण सार्वजनिक गर्दै आर्थिक पारदर्शिताको सन्देश दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत सन् २०२६ को जनवरीदेखि मे महिनासम्म संघको विभिन्न गतिविधि तथा कार्यक्रममा सहभागी हुने क्रममा भएको आफ्नो खर्चको फेहरिस्त सार्वजनिक गरेका हुन्।
सार्वजनिक विवरणअनुसार जनवरी २०२६ देखि मे २०२६ सम्म विभिन्न देशको भ्रमण, नेपाल भ्रमण तथा निर्वाचनसम्बन्धी गतिविधिमा गरी ३३ लाख रुपैयाँभन्दा बढी खर्च भएको देखिन्छ। खर्च विवरणमा बेलायत, जापान, दक्षिण कोरिया, हङकङ, मकाउ, मलेसिया, बहराइन, साउदी अरब, कतार, यूएई, फ्रान्स, लक्जेम्बर्ग, बेल्जियम, नेदरल्यान्ड्स र आयरल्यान्डलगायतका भ्रमण समेटिएका छन्।
डा। शर्माले एनआरएनएका पदाधिकारीहरूले संघबाट कुनै पनि प्रकारको व्यक्तिगत आर्थिक लाभ नलिने दाबी गर्दै पदाधिकारीहरूले आफ्नो व्यक्तिगत खर्च आफैं व्यहोर्नुपर्ने बताएका छन्। उनका अनुसार सचिवालयमा कालो चिया र कफीबाहेक अन्य व्यक्तिगत खर्चसमेत आफ्नै खल्तीबाट व्यहोर्नुपर्ने व्यवस्था रहेको छ।
उनले आफूले इकोनोमी क्लासमा यात्रा गर्ने, सामान्य होटलमा बस्ने र साधारण खानपान गर्ने गरेको उल्लेख गर्दै अन्य व्यक्तिहरूको तुलनामा आफ्नो खर्च न्यून रहेको दाबी गरेका छन्। साथै, निर्वाचनमा करोडौँ रुपैयाँ खर्च गर्नेहरूसँग तुलना गर्दा आफ्नो खर्च निकै कम भएको उनको भनाइ छ।
डा। शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, “मजस्तै संस्थामा आफ्नै समय र पैसा खर्च गरेर काम गर्ने हजारौँ कार्यकर्ता हुनुहुन्छ। उहाँहरू सबैको आर्थिक योगदान जोड्ने हो भने महिनामै करोडौँ रुपैयाँ पुग्छ। उहाँहरूले संस्थाका लागि दिने समयको मूल्य त अझै अनगिन्ती छ।”
उनले एनआरएनएलाई उत्तरदायी र पारदर्शी बनाउने प्रतिबद्धताअनुसार संघका आर्थिक प्रतिवेदनहरू सार्वजनिक गर्दै आएको बताएका छन्। साथै, संस्थाका लागि आफ्नै समय र पैसा खर्च गर्ने कार्यकर्ताहरूले समेत गैरआवासीय नेपाली समुदायबाट आलोचना र गाली खेप्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै एनआरएनएप्रतिको भ्रम र गलत बुझाइलाई तथ्य तथा पारदर्शितामार्फत चिर्दै जानुपर्ने बताएका छन्।

वि.सं.२०८३ साउन २४ आइतवार १४:३० मा प्रकाशित






























