काठमाडौं । भारतीय इलेक्ट्रिक कमर्सियल भेहिकल ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा प्रवेश गरेको छ। कम्पनीले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी यात्रुवाहक इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक गरेको हो।
मोन्ट्रा इलेक्ट्रिकले नेपालका लागि आफ्नो आधिकारिक राष्ट्रिय वितरक HIPCO ट्रेडिंग प्रा. लि. मार्फत बजार प्रवेश गरेको हो। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले सुपर अटो सार्वजनिक गरेका थिए।
कम्पनीका अनुसार सुपर अटोको इन्जिनियरिङ विकास नेपालका सडक, भूगोल र स्थानीय आवश्यकतालाई ध्यानमा राखेर गरिएको हो। नेपाली बजारका लागि गरिएको परीक्षण र स्थानीय वितरकबाट प्राप्त सुझावका आधारमा सवारीसाधनलाई थप अनुकूल बनाइएको कम्पनीको भनाइ छ।
मोन्ट्रा इलेक्ट्रिकले नेपालमा विद्युत् उत्पादन बढ्दै गएको अवस्थामा इलेक्ट्रिक मोबिलिटीमार्फत स्वदेशमै उत्पादित ऊर्जाको उपयोग गर्न सकिने जनाएको छ। यसले आयातित पेट्रोलियम इन्धनमाथिको निर्भरता घटाउनुका साथै सञ्चालन तथा मर्मत खर्च कम गर्न सहयोग पुग्ने कम्पनीको दाबी छ।
नेपालको पहाडी भू–भागलाई ध्यानमा राख्दै सुपर अटोमा ३२ प्रतिशत ग्रेडेबिलिटी र हिल–होल्ड असिस्ट सुविधा राखिएको छ। कम्पनीका अनुसार यसले तीव्र उकालोमा पनि सहज रूपमा सवारी सञ्चालन गर्न र उकालोमा सवारी स्टार्ट गर्दा थप सुरक्षा प्रदान गर्न सहयोग गर्छ।
सुपर अटोमा ९ किलोवाट आवरको ब्याट्री प्याक र PMSM मोटर प्रयोग गरिएको छ। यसले ६० एनएम टर्क, एकपटक पूर्ण चार्जमा १५० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज र अधिकतम ५५ किलोमिटर प्रतिघण्टा गति दिने कम्पनीले जनाएको छ। पूर्ण चार्ज हुन करिब ४.५ घण्टा लाग्ने तथा विभिन्न ड्राइभ मोड उपलब्ध हुने बताइएको छ।
चालक तथा यात्रुको आरामलाई ध्यानमा राखेर डुअल–टोन सिट, प्रभावकारी विन्डस्क्रिन तथा रूफ डिजाइन, थप हेडरुम र लेगरुमसहितको डिजाइन गरिएको कम्पनीले जनाएको छ। शहरी सडकदेखि नेपालको विविध भू–भागसम्म प्रयोग गर्न सकिने सुपर अटोको नेपाली बजार मूल्य रु. ८ लाख ६४ हजार ९०० तोकिएको छ।
HIPCO ट्रेडिंगका निर्देशक हिमांशु गोल्छाले सुपर अटोको आगमनले आयातित इन्धनमा निर्भरता र प्रदूषण घटाउने यात्रामा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार इलेक्ट्रिक मोबिलिटीलाई प्रोत्साहन गर्दै जाने क्रममा यस्ता साझेदारीले नेपालको यातायात क्षेत्रलाई थप दिगो बनाउन मद्दत गर्नेछ।
मोन्ट्रा इलेक्ट्रिकका अध्यक्ष अरुण मुरुगप्पनले नेपाल प्रवेशलाई स्थानीय आवश्यकता र इन्जिनियरिङबीचको सम्बन्धलाई प्राथमिकता दिने कम्पनीको रणनीतिको हिस्सा भएको बताएका छन्। उनले नेपालको नवीकरणीय ऊर्जा क्षमता र मोन्ट्रा इलेक्ट्रिकको मोबिलिटीसम्बन्धी प्रविधिबीचको सहकार्यलाई आपसी हितअनुकूल रहेको बताएका छन्।
कम्पनीले नेपालभर विस्तार भइरहेको डिलर तथा सर्भिस नेटवर्कमार्फत बिक्री, सर्भिस, स्पेयर पार्ट्स र ग्राहक सहायता उपलब्ध गराउने जनाएको छ। आगामी दिनमा उत्पादनको दायरा विस्तार गर्दै नेपालको इलेक्ट्रिक मोबिलिटी इकोसिस्टमलाई थप मजबुत बनाउने योजना पनि सार्वजनिक गरिएको छ।
वि.सं.२०८३ साउन २७ बुधवार १४:०७ मा प्रकाशित






























