काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई जन्मदिनको अवसरमा भावुक तथा प्रेरणादायी शुभकामना दिएका छन् ।
दीपाले गम्भीर स्वास्थ्य चुनौतीबीच देखाएको आत्मबल, साहस र सकारात्मक सोचको स्मरण गर्दै दीपकराजले आफूले यसअघि कहिल्यै नदेखेको ‘साहसी दीपा’लाई यसपटक देखेको अनुभूति भएको बताएका छन्।
दीपकराजका अनुसार मस्तिष्कको कठिन शल्यक्रियापछि होसमा आउनेबित्तिकै दीपाले नर्ससँग आफ्ना शृङ्गारका सामग्री मगाइन् र आईसीयूमा समेत चिटिक्क परेर बसिन्। त्यसपछि उनले आफूलाई बिरामीजस्तो देखिन नहुने भन्दै, आफूलाई देखेर अन्य बिरामीमा समेत ऊर्जा र बाँच्ने चाहना जाग्नुपर्ने धारणा व्यक्त गरेकी थिइन्। दीपाले भनेको यही वाक्य अझै पनि आफ्नो मनमा गुञ्जिरहेको दीपकराजले बताएका छन्।
ब्रेन ट्युमर भएको जानकारी पाएपछि पनि आफ्नो पीडा र चिन्तामा मात्र सीमित नभई आफू आबद्ध चलचित्रका निर्माताहरूलाई समस्या नपरोस् भनेर उनले कामप्रतिको जिम्मेवारीलाई निरन्तरता दिएको दीपकराजको भनाइ छ। शल्यक्रिया भएको केही समयमै ‘कमेडी च्याम्पियनमा जाऊँ है, हाम्रो चलचित्रको अड्किएको काम सुरु गरौँ न है’ भन्दै दीपाले देखाएको उत्साह र हिम्मतले आफूलाई निकै भावुक बनाएको उनले बताएका छन्।
उनका अनुसार आईसीयूमा रहँदा समेत दीपाको ध्यान आफ्नो स्वास्थ्यभन्दा वरपरका बिरामीको अवस्थातर्फ बढी हुन्थ्यो। अस्पतालमा रहेका बिरामीहरूको नामदेखि नर्सहरूको नामसम्म सम्झिरहने दीपाले ब्रेन ट्युमर तथा मस्तिष्कको शल्यक्रिया गरेका अन्य बिरामीलाई समेत आफू बिरामीजस्तो नदेखिएर हौसला र सकारात्मक ऊर्जा दिने गरेकी थिइन्।
दीपकराजले लेखेका छन्, ‘मैले बिल्कुलै कहिल्यै नदेखेको साहसी दीपाअघि यसपटक आफूले देखेको महसुस गरेँ।’ उनका अनुसार सधैँ अरूका लागि बाँच्ने र चलचित्र क्षेत्रलाई आफ्नो परिवारजस्तै ठान्ने दीपाजस्तो प्रिय साथी आफ्नो जीवनमा हुनु गर्वको विषय हो। दीपाको साहस सम्झँदा धेरैपटक आँखामा आँसु आउने गरेको पनि उनले भावुक रूपमा उल्लेख गरेका छन्।
दीपकराजले दीपाको जन्मदिनलाई उनको जीवनमा नयाँ जीवन प्राप्त गरेको विशेष वर्षका रूपमा उल्लेख गर्दै सुस्वास्थ्य, दीर्घायु र निरन्तर प्रगतिको शुभकामना दिएका छन्।
दिपालाई हाम्रो पनि शुभकामना
दीपाको यो संघर्षले गम्भीर रोगसँग जुधिरहेका धेरै मानिसका लागि सकारात्मक सन्देश दिएको छ। कुनै रोग लाग्दैमा ‘अब बाँच्दिनँ’ वा ‘अब के हुन्छ’ भन्ने डर र चिन्ताले बिरामीलाई मानसिक रूपमा अझ कमजोर बनाउन सक्छ। त्यसैले बिरामीलाई भेट्न जाने आफन्त तथा साथीभाइले पनि डर, नकारात्मक घटना र दुःखका कथा सुनाएर निराश बनाउनुको सट्टा आत्मबल, प्रेम र सकारात्मक ऊर्जा दिन आवश्यक हुन्छ।
बिरामी अवस्थामा पनि आफ्नो शरीरको सरसफाइ, आत्मविश्वास र मुस्कानलाई कायम राख्ने प्रयासले मानसिक रूपमा बलियो बन्न सहयोग पुर्याउन सक्छ। परिवार, साथीभाइ र समाजबाट प्राप्त माया, हौसला र सकारात्मक व्यवहारले बिरामीको मनोबल बढाउन महत्वपूर्ण भूमिका खेल्छ।
दीपाश्री निरौलाले कठिन स्वास्थ्य अवस्थाबीच देखाएको आत्मविश्वास र जीवनप्रतिको सकारात्मक दृष्टिकोण वास्तवमै प्रेरणादायी छ। उनको यही साहस र जिजीविषाले धेरै बिरामीलाई पनि ‘रोगसँग डराउने होइन, आत्मबलका साथ सामना गर्ने’ प्रेरणा दिन सक्छ।
दीपाश्रीको साहस र सकारात्मक सोचको सम्मान गर्दै संसारन्यूज टिम उनको पूर्ण स्वास्थ्यलाभ, दीर्घायु तथा चलचित्र क्षेत्रमा अझ उच्च सफलता र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछ।
वि.सं.२०८३ भदौ ७ आइतवार १०:४८ मा प्रकाशित






























