back
CTIZAN AD

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

वि.सं.२०८३ साउन १७ आइतवार

492 

shares

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा वरिष्ठ सितारवादक डा. ध्रुबेश चन्द्र रेग्मीले राग बागेश्री प्रस्तुत गर्दै शास्त्रीय संगीतप्रेमीलाई मन्त्रमुग्ध पारेका छन्।

उनको सितार वादनमा तबलावादक अनन्त प्रजापतिले तबलामा तथा लाबेश गुरुङले तानपुरामा साथ दिएका थिए। कलाकारहरूको उत्कृष्ट समन्वयले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

कार्यक्रमको प्रारम्भमा प्रतिष्ठानका गायन विधाका विद्यार्थी हेमन्त भट्टले तीनवटा भजन प्रस्तुत गरेका थिए। उनको प्रस्तुतिमा प्रतिष्ठानका संरक्षक पण्डित अच्युतराम भण्डारीले तबलामा साथ दिएका थिए।

यसैबीच, प्रतिष्ठानको पाँचौँ वार्षिकोत्सवको अवसरमा संरक्षक पण्डित अच्युतराम भण्डारीको पहलमा स्थापना गरिएको पण्डित होमनाथ उपाध्याय मेमोरियल तबला फण्डमा विभिन्न संगीतकर्मीहरूले आर्थिक सहयोग प्रदान गरेका छन्। वरिष्ठ सितारवादक डा. ध्रुबेश चन्द्र रेग्मी र वरिष्ठ सितारवादिका उमा थापाले जनही रु. २५ हजार, सितारवादिका सुशिला अमात्य र दिवाकर चालिसेले जनही रु. ५ हजार सहयोग गरेका हुन्।

प्रतिष्ठानले नेपाली शास्त्रीय संगीतको संरक्षण, संवर्द्धन र प्रवर्द्धनलाई निरन्तरता दिँदै हरेक नेपाली महिनाको १५ गते काठमाडौं महानगरपालिका–८, गौरीघाटस्थित आफ्नै भवनमा शास्त्रीय गायन, तालवादन तथा सुरवादनका नियमित कार्यक्रम आयोजना गर्दै आएको छ। विगत ४९ महिनादेखि निरन्तर सञ्चालन हुँदै आएको यस श्रृंखलामा विभिन्न विधाका प्रतिष्ठित कलाकारहरूको सहभागिताले नेपाली शास्त्रीय संगीतको जगेर्नामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको प्रतिष्ठानले जनाएको छ।

वि.सं.२०८३ साउन १७ आइतवार १२:४७ मा प्रकाशित