back
CTIZAN AD

पूर्वसूचना नदिएको आरोप खण्डन गर्दै चिनियाँ दूतावासले गरयो यस्तो आग्रह

वि.सं.२०८३ भदौ ११ बिहीवार

shares

काठमाडौँ । नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोका विषयमा चीनले नेपाललाई समयमै पूर्वसूचना नदिएको भन्ने आरोपलाई नेपालस्थित चिनियाँ दूतावासले खण्डन गरेको छ। दूतावासले यस्ता दाबीलाई भ्रामक र असत्य भन्दै विपद्का बेला अपुष्ट सूचना तथा आरोप–प्रत्यारोपबाट भ्रम सिर्जना नगर्न आग्रह गरेको हो।

चिनियाँ पक्षका अनुसार रसुवागढी–केरुङ सीमा क्षेत्रमा भएको प्राकृतिक विपद्का कारण नेपाल र चीन दुवैतर्फ ठूलो क्षति भएको छ। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको स्पष्टीकरणमा दूतावासले घटनासम्बन्धी गलत सूचना प्रवाह नगर्न र विपद्को समयमा नेपाल–चीनबीचको सहकार्यलाई प्राथमिकता दिन आग्रह गरेको छ।

दूतावासले विशेषगरी दुईवटा आरोपलाई अस्वीकार गरेको छ। पहिलो, चीनले समयमै पूर्वचेतावनी नदिएका कारण नेपालतर्फ ठूलो मानवीय क्षति भएको भन्ने दाबी र दोस्रो, चिनियाँ भू–भागमा बनेको प्राकृतिक बाँध भत्किएर आएको बाढीका कारण नेपालमा ठूलो क्षति भएको भन्ने दाबीलाई चीनले गलत भनेको छ।

दूतावासका अनुसार २६ अगस्ट २०२६ को बिहान नेपालतर्फ नै भूकम्प वा भूकम्पकै झड्काजस्तो हिमपहिरो गएको थियो। त्यसबाट विशाल पहिरो निम्तिएको र त्यसले रसुवागढी–केरुङ सीमा क्षेत्रमा नेपाल तथा चीन दुवैतर्फ क्षति पुर्‍याएको चिनियाँ पक्षको दाबी छ।

यस घटनामा मानिसहरूको मृत्यु हुनुका साथै ठूलो संख्यामा मानिस बेपत्ता भएको र खोज तथा उद्धार कार्य जारी रहेको दूतावासले जनाएको छ।

यसअघि चिनियाँ सञ्चारमाध्यमहरूले चीनतर्फ बाढीबाट तीन जनाको मृत्यु भएको र ठूलो संख्यामा मानिस बेपत्ता भएको प्रारम्भिक विवरण सार्वजनिक गरेका थिए। बेपत्ताको संख्या बढेर ५५८ पुगेको विवरणसमेत सार्वजनिक भए पनि उक्त संख्या सरकारी रूपमा पुष्टि भइनसकेको जनाइएको छ।

बाढी तथा पहिरोपछि चीनले प्रभावित क्षेत्रमा ठूलो संख्यामा उद्धार टोली परिचालन गरेको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले बेपत्ताको खोजी तथा उद्धारलाई प्राथमिकता दिन, जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सार्न तथा घाइतेको तत्काल उपचार गर्न निर्देशन दिएका छन्।

चिनियाँ सरकारी निकायले प्रभावित क्षेत्रमा राहत सामग्रीसमेत परिचालन गरिएको जनाएको छ। विस्थापितको उद्धार, पुनःस्थापना तथा राहतका लागि ३० हजार थान केन्द्रीय राहत सामग्री परिचालन गरिएको चिनियाँ पक्षको भनाइ छ।

दूतावासले विपद्को संवेदनशील समयमा एकअर्कालाई दोषारोपण गर्नुभन्दा नेपाल र चीन मिलेर खोज, उद्धार तथा राहत कार्य अघि बढाउनुपर्नेमा जोड दिएको छ।

‘आरोपले केही समाधान दिँदैन, सहकार्यले जीवन बचाउँछ’ भन्ने सन्देशसहित दूतावासले घटनाबारे अपुष्ट सूचना फैलाएर भ्रम सिर्जना नगर्न आग्रह गरेको छ।

दूतावासकाे खण्डन

यसैबीच नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले रसुवाको रासुवागढी क्षेत्रमा आएको विनाशकारी बाढीप्रति चीन गहिरो दुःखी भएको बताएका छन्। उनले विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, नेपाल सरकार र नेपाली जनताप्रति समवेदना व्यक्त गरेका छन्।

एनटीभी वर्ल्डसँगको कुराकानीमा राजदूत झाङले चीन कठिन परिस्थितिमा नेपालसँग दृढतापूर्वक उभिएको बताउँदै आवश्यक सहयोग र सहायता उपलब्ध गराउन चीन तयार रहेको बताएका हुन।

उनका अनुसार प्रारम्भिक जानकारीअनुसार बुधबार बिहान नेपालको भूभागमा गएको भूकम्पका कारण हिमपहिरो गएको र त्यसपछि आएको पहिरो तथा बाढीले नेपाल र चीनतर्फको केरुङ–रसुवागढी सीमाक्षेत्रमा ठूलो क्षति पुर्‍याएको हो। घटनामा ठूलो जनधनको क्षति हुनुका साथै केही मानिस बेपत्ता भएका छन्।

राजदूत झाङका अनुसार विपद्पछि चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकता दिन निर्देशन दिएका छन्। बेपत्ता व्यक्तिको खोज तथा उद्धार, जोखिममा रहेका मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण, घाइतेको तत्काल उपचार तथा मानवीय क्षति न्यून गर्न हरसम्भव प्रयास गर्न राष्ट्रपतिले निर्देशन दिएको उनले बताए।

उनका अनुसार चिनियाँ दूतावासले तत्कालै आपत्कालीन प्रतिक्रिया संयन्त्र सक्रिय गरी नेपालका प्रभावित क्षेत्रमा रहेका चिनियाँ नागरिक तथा व्यवसायहरूको अवस्थाबारे जानकारी संकलन गरेको थियो। दूतावासले नेपाली सरकार तथा सम्बन्धित निकायलाई उद्धार कार्य तीव्र बनाउन आग्रह गर्नुका साथै घटनास्थलमा समन्वय र सहजीकरणका लागि कार्यदलसमेत पठाएको उनले जानकारी दिए।

चीनतर्फ पनि ठूलो क्षति भएको अवस्थामा नेपाललाई आपत्कालीन सामग्री र नगद सहयोग उपलब्ध गराउने प्रक्रिया तत्काल सुरु गरिएको राजदूत झाङले बताए।

चीनका उपप्रधानमन्त्री झाङ गुओछिङ सम्बन्धित मन्त्रालयका अधिकारीसहित तिब्बत पुगेर उद्धार तथा विपद् व्यवस्थापन कार्यको नेतृत्व गरिरहेको उनले जानकारी दिए। चीनको विदेश मन्त्रालय, जलस्रोत मन्त्रालय, मौसम प्रशासन, आपत्कालीन व्यवस्थापन मन्त्रालय तथा तिब्बत स्वायत्त क्षेत्रका सम्बन्धित निकायले नेपाली समकक्षीसँग समन्वय संयन्त्र स्थापना गरी विपद्को मूल्यांकन, खोज तथा उद्धार र आगामी राहत कार्यमा सहकार्य गरिरहेको उनको भनाइ छ।

राजदूत झाङले विपद्का बेला नेपाली सरकार तथा सम्बन्धित निकायले गरेको प्रभावकारी उद्धार प्रयासको प्रशंसा गर्दै नेपाली जनताको साहस र धैर्यको समेत प्रशंसा गरे।

विपद् व्यवस्थापनमा थप सहकार्य आवश्यक

भविष्यमा यस्ता प्राकृतिक विपद्को प्रभाव कम गर्न नेपाल र चीनले विपद् पूर्वतयारी, न्यूनीकरण तथा आपत्कालीन व्यवस्थापनमा सहकार्य थप विस्तार गर्नुपर्नेमा राजदूत झाङले जोड दिए।

उनले भविष्यमा कम्तीमा तीन क्षेत्रमा सहकार्यलाई प्राथमिकता दिन सकिने बताए।

पहिलो, मौसम, जलविज्ञान तथा भौगर्भिक विपद्सम्बन्धी सूचना आदानप्रदान, निगरानी र पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ। विशेषगरी सीमापार हुने विपद्का सम्बन्धमा दुवै देशबीच सूचना आदानप्रदानको संयन्त्र बलियो बनाउनुपर्ने उनले बताए।

दोस्रो, आकस्मिक विपद्का बेला उद्धार कार्यलाई प्रभावकारी बनाउन सम्पर्क, समन्वय र संस्थागत संयन्त्रलाई थप मजबुत बनाउनुपर्ने उनले बताए।

तेस्रो, विपद् व्यवस्थापनमा संलग्न जनशक्तिको तालिम, प्राविधिक आदानप्रदान र आपत्कालीन सामग्रीको व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। स्थानीय तहसम्मै विपद् प्रतिकार्य क्षमता विस्तार गर्नुपर्नेमा पनि उनले जोड दिए।

नेपाल र चीन हिमाल र नदीले जोडिएका निकट छिमेकी रहेको उल्लेख गर्दै राजदूत झाङले दुई देशबीच परम्परागत मित्रता र सहकार्य रहेको बताए। नेपाललाई आवश्यक परेको अवस्थामा आफ्नो क्षमताअनुसार सहयोग र सहायता निरन्तर उपलब्ध गराउने चीनको प्रतिबद्धता उनले दोहोर्‍याए।

उनले नेपाल र चीन दुवैले प्राकृतिक विपद्को सामना गर्ने क्षमता बढाउँदै नागरिकको जीवन र सम्पत्तिको सुरक्षा गर्न संयुक्त प्रयासलाई थप प्रभावकारी बनाउनुपर्ने बताए।

वि.सं.२०८३ भदौ ११ बिहीवार ११:३१ मा प्रकाशित

भोटेकोशी बाढीः नाडाद्वारा दुःख व्यक्त, क्षति मूल्यांकन र नाका सञ्चालन सहज बनाउन आग्रह

भोटेकोशी बाढीः नाडाद्वारा दुःख व्यक्त, क्षति मूल्यांकन र नाका सञ्चालन सहज बनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिक,...

भोटेकोसी घटनापछि तत्काल र दीर्घकालीन कार्यभार अघि बढाउन डा भट्टराईको सुझाव

भोटेकोसी घटनापछि तत्काल र दीर्घकालीन कार्यभार अघि बढाउन डा भट्टराईको सुझाव

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भोटेकोसी क्षेत्रमा आएको विनाशकारी...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...

भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत...

भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशुली र नारायणी नदीमा आएको...

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध...