काठमाडौँ, १८ पुस : नेकपा (माओवादी केन्द्र) को सहायक संगठन वाइसिएल नेपालले एकपटक समानुपातिक निर्वाचन प्रणालीबाट सांसद भएकालाई पुनः नदोहो¥याउन आग्रह गरेको छ ।
वाइसिएलको आज सम्पन्न केन्द्रीय समितिको बैठकले समानुपातिक प्रणालीबाट गएकालाई नै पटकपटक मन्त्री बनाउने प्रणालीको अन्त्य गर्न पार्टी नेतृत्वलाई ध्यानकर्षण गराएको छ ।
बैठकले निर्वाचनका क्रममा अहोरात्र खटेर वाम गठबन्धनलाई जिताउन भूमिका खेल्ने सबै तहका नेता तथा कार्यकर्तालाई बधाई ज्ञापन गरेको अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
वाइसिएलले वाम गठबन्धनलाई एकतामा रुपान्तरण गर्न र नेपाली जनताको चाहनाअनुसार नै तत्काल एकताको प्रक्रिया टुंगो लगाउन माओवादी केन्द्र र नेकपा (एमाले)लाई आग्रह गरेको छ ।
वाइसिएलले पार्टी एकतामा जनयुद्ध, जनभावना र क्रान्तिकारी मूल्य र मान्यतालाई आत्मसात् गर्न समेत ध्यानकर्षण गराएको छ । रोल्पाका शहिद परिवार मंगले दम्पतीको परिवारलाई पार्टी नेता वर्षमान पुनले आवासको व्यवस्था गरेकामा धन्यवाद दिँदै वाइसिएलले लत्ता कपडा र घरायसी सामग्रीको व्यवस्था गर्ने निर्णय गरेको छ ।
साथै वृद्ध दम्पतीलाई भरणपोषणमा सहयोग गर्ने निर्णयसमेत गरेको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो । यस्तै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा वामगठबन्धन विरुद्ध लागेका केही नेता तथा कार्यकर्तालाई कारबाही गरिएको वाइसिएलले जनाएको छ ।