back
CTIZAN AD

चालीस वर्षपछि वाग्मती यात्राको पुनर्जागरण हुँदै

वि.सं.२०७४ चैत २३ शुक्रवार

882 

shares

२३ चैत, काठमाडौँ । उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदीमा हुने गरेको वाग्मती तीर्थयात्राले ४० वर्षपछि पुनर्जीवन पाउने भएको छ ।
वाग्मतीको कटुवाल दहबाट वाग्द्वारसम्म हुने १७ दिने वाग्मती तीर्थयात्रा विसं २०३४ पछि हुन सकेको थिएन । कटुवाल दहबाट वाग्द्वारसम्मका १९५ तीर्थस्थलमा पैदल हिँडेर स्नान गर्ने विधिलाई वाग्मती यात्रा भनिन्छ ।
वाग्मती प्रदूषित बन्दै गएपछि वाग्मती तीर्थयात्रा रोकिएको हो । वाग्मती सफाइकै लागि प्रजातन्त्र पुनःस्थापनासँगै अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको गठन भयो । समिति, गायत्री परिवारलगायत सामाजिक संस्थाको सक्रियतामा विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान शुरु भएको थियो ।
महाअभियानले सफाइमा जागरण ल्याए पनि विसं २०३४ अघिको अवस्थामा वाग्मती पुग्न भने समय लाग्ने देखिन्छ । वाग्मती सफाइ महाअभियानलाई निरन्तरता दिँदै जाने क्रममा यस वर्षदेखि पशुपति क्षेत्र विकास कोषले यात्रालाई पुनःसञ्चालन गर्न लागेको सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले चैत १६ गते जारी गरेको मन्त्रालयले १०० दिनभित्र गर्ने काममा वाग्मती यात्रालाई पुनः सञ्चालन गर्ने विषय समेत उल्लेख गरेका छन् ।
विसं २०३४ सम्म वैशाख कृष्ण चतुर्दशीदेखि वैशाख शुक्ल पूर्णिमासम्म १७ दिन वाग्मती यात्रा गरिन्थ्यो । १७ दिने यात्राका क्रममा कटुवाल दहबाट वाग्द्वारसम्म १९५ तीर्थमा स्नान गर्ने विधि रहेको यात्राका मूल गुरु मदन भट्टले राससलाई जानकारी दिए ।
विसं २०३४ मा भएको यसअघिको अन्तिम यात्रामा कलश बोकेर आफू सहभागी भएको स्मरण गरे । त्यसबेला यात्राका मूल गुरु पद्दप्रसाद भट्ट थिए ।
“यसवर्ष सात दिने यात्रा गर्दा वैशाख शुक्ल अष्टमीदेखि वैशाख शुक्ल पूर्णिमासम्म सात दिनको कार्यक्रम तयार पार्न लागिएको छ, वाग्मतीमै छिरेर स्नान गर्नसक्ने अवस्था छैन, नदीमा छिरेर स्नान गर्नसक्ने अवस्था नभएकाले ट्याङ्करबाट पानी लगेर तीर्थ÷तीर्थमा स्नान गर्ने तयारी छ”–बताए ।
वैशाख १० गते कटुवाल दहबाट शुरु हुनेयात्रा सुन्दरीघाट–टेकु कालमोचनघाट–शंखमूल–पशुपति राजराजेश्वरी–गोकर्ण–सुन्दरीजल–वाग्द्वार–बूढानीलकण्ठ–साँखु बज्रयोगिनी–चाँगुनारायण–मनोहरा–गुह्येश्वरी–पशुपति विरुपाक्ष–रुद्रगाडेश्वरसम्मको यात्रा गरी वैशाख १७ गते समापन हुनेछ ।

यात्राका क्रममा प्रत्येक घाटमा स्नान गरिन्छ । साँखु बज्रयोगिनीमा हवन हुन्छ । चाँचुनारायणमा दर्शन गरी मनोहरा नदीमा स्नान गरिन्छ । गुह्येश्वरी दर्शन गरेर बिरुपाक्षलाई दही च्यूरा खुवाइन्छ । रुद्रगाडेश्वरमा पुनः हवन गरेपछि वाग्मती यात्राले पूर्णता पाउने यात्राका मूलगुरु भट्टले बताए ।

यसवर्ष सात दिनको अवधिमा पुनः शुरु गरी वाग्मती सफा भएपछि पुरानै स्वरुपमा १७ दिने कार्यक्रमलाई नै पुनर्जागरण गर्ने कोषको तयारी छ ।

वाग्मती सफाइ महाअभियानलाई सहयोग गर्ने उद्देश्यले पनि यात्रालाई पुनःसञ्चालन गर्न लागिएको हो । यात्राले नदीमा फोहर नगर्न जागरण फैल्याउने आशासमेत गरिएको सदस्य–सचिव ढकालले सुनाए ।
सत्य र त्रेता युगसम्म भगवान शिवकै मुखबाट निस्किएको वाग्मतीलाई द्वापरसम्म शिवगंगा भनिन्थ्यो । कलियुगमा भने वाग्मती भन्न थालिएको हो । वाग्मती जत्तिको प्राचीन नदी भारतमै पनि नभएको उनले बताए ।

भागीरथीमा वाग्मती नमिसियुञ्जेल गंगा भनिदैन । यसैले पनि वाग्मतीको महत्व थाहाहुन्छ । कोषले यात्रा सञ्चालनका लागि आइतबार कार्यसम्पादन समितिको बैठक बसी बजेटलगायत व्यवस्थापनका विषयमा निर्णय गरिने जनाएको छ ।

हिमवत खण्डलगायतका शास्त्रमा–
पशुपतिं च समं लिङ्गं गुह्यकाली च समं पीठम ।
वाग्मत्यां च समां नद्यां नास्ति ब्रह्माण्डमण्डले ।।

अर्थात् पशुपति समानको लिङ्ग, गुह्यश्वरी समानको शक्तिपीठ र वाग्मती समानको नदी ब्रह्माण्डमा अर्को छैन भनी उल्लेख गरेकाले पनि यसको महत्व थाहा पाउन सकिन्छ । वाग्मतीको यो महत्वलाई पुनःस्थापित गर्न पनि यात्रा सहयोगी हुने कोषको विश्वास छ ।

वि.सं.२०७४ चैत २३ शुक्रवार १७:०५ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...